पोखरा/पोखरामा डिजिटल प्रविधिबाटै ट्याक्सी चढ्न मिल्ने भएको छ । पोखराका ट्याक्सीसमेत प्रविधिमैत्री बनाउनका लागि ‘मुभइन’ एप सुचारु भएको छ । सोमबार एक समारोहकाबीच ‘मुभइन’ को शुभारम्भ गरिएको छ । यो नितान्त भाडाका ट्याक्सीका लागि ल्याइएको प्रविधि हो ।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङका लागि कार्यविधि जारी गरेपछि विरोधमा उत्रिँदै आएका यातायात व्यवसायी र विशेष गरी ट्याक्सीले अहिले पठाओ, इनड्राइभको विकल्पमा ‘मुभइन’ ल्याएको हो । पोखराका ट्याक्सी व्यवसायीकै लगानीमा मोबाइल एप सुरु भएको हो ।
‘मुभइन नेपाल’का प्रमुख कार्यकारी अधिकृत प्रमेश पराजुलीले पहिलो चरणमा ट्याक्सीलाई प्रविधिमैत्री र सेवाग्राहीको ढोकासम्म पु¥याउन एप सञ्चालन गरिएको बताए । अब पोखराका चोकमा पुगेर ट्याक्सी चालकसँग बार्गेनिङ गर्नुपर्ने अवस्था अन्त्य गर्ने उनको भनाइ छ ।
‘हामीले एपलाई व्यवसाय मात्र नभइ सामाजिक उत्तरदायित्वका साथ अगाडि बढाएका छौँ । भविष्यमा पनि नाफाको ठूलो हिस्सा व्यवसायीहरूको हकहितका लागि नै खर्च गरिनेछ,’ उनले भने, ‘अहिले यात्रुहरु चोकमा पुगेर ट्याक्सी चढ्न बार्गेनिङ गर्नुपर्ने अवस्था छ अब त्यसको अन्त्य हुनेछ ।’
तत्काल एप प्रयोग गरेवापत् कुनै शुल्क नलाग्ने उनले सुनाए । पहिलो चरणमा रहेको र एपबारेमा यात्रुहरुलाई जानकारी गराउन आवश्यक रहेकाले एप बाट कम्पनीले कुनै रकम नलिएको उनको दाबी छ ।
बिस्तारै देशैभर यस्तो सेवा विस्तार हुने कम्पनीको दाबी छ । विभिन्न व्यवसायी र संस्थाहरूको संस्थागत लगानीमा कम्पनी सुरु गरिएको हो । पोखराका अन्य ट्याक्सी कम्पनीहरूलाई पनि जोड्ने तयारी भइरहेको र संवाद गरिरहेको उनले सुनाए ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले निजी सवारीलाई हटाएर राइड सेयरिङको नियम कार्यान्वयन गर्न माग गरे । उनले ट्याक्सी व्यवसायीको एपले चार पाङ्ग्रे सवारीलाईमात्र समेट्नुपर्नेमा जोड दिए ।
पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले एप सञ्चालनले सहरको ट्याक्सी सेवामा ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । उनका अनुसार ट्याक्सी व्यवसायीलाई राइड सेयरिङको विरोध गर्ने गरेको भन्ने भाष्य परिवर्तन हुने बताए । व्यवसायीहरु प्रविधिको विरोध नभइ विदेशी प्रविधिलाई बन्द गरी स्वदेशकै प्रविधि निर्माणमा जोड दिनुपर्ने माग रहेको समेत सुनाए ।
निवर्तमान अध्यक्ष प्रकाशमणि तिवारीले एप प्रयोगमा आएपछि चोकमा उभिएर ‘हाउ मच’ भन्दै भाडा बार्गेनिङ गर्ने प्रवृत्ति अन्त्य हुने बताए । उनले भने, ‘अब ट्याक्सी चढ्नुअघि कतिमा लैजान्छौ भनेर सोधिरहनु पर्दैन ।’
हाल एपमा १ हजारभन्दा बढी ट्याक्सी आबद्ध भइसकेका छन् भने पोखरामा करिब २ हजार ट्याक्सी सञ्चालनमा छन् । यसबाट यात्रुहरूले आफ्नै गेटबाट ट्याक्सी बोलाउने सुविधा पाउने विश्वास लिइएको छ ।
एपको प्राविधिक विकासमा पोखराका आइटी इन्जिनियर रविन तिवारीसहित ४५ जनाको टोलीले १ वर्ष लगाएर तयार गरेका हुन् । एपलाई सामान्य नागरिकले समेत प्रयोग गर्न मिल्ने गरी तयार गरिएको र केही समस्या देखिएको खण्डमा कम्पनीलाई तत्काल गुनासो गर्न समेत उनले अनुरोध गरे । ‘हामीले कसरी हुन्छ यसलाई सहज बनाउने प्रयास गरेका छौं । पहिलो चरण भएकाले यसमा धेरै कुराहरु समेटिएको छैन् । नेपाली र अंग्रेजी भाषामा यो एप प्रयोग गर्न सकिन्छ,’ उनले भने, ‘यो गुगल म्यापअनुसार हुन्छ । जहाँ सबैले आफू जाने बाटोको बारेमा समेत जानकारी लिन सक्छन् । यो एपमा निकट भविष्यमा एआइ (कृतिम बौद्धिकता) थप्ने छौँ ।’
एपमा आबद्ध हुने ट्याक्सीको विमा अनिवार्य गरिएको छ । गत साउनमा गण्डकीका यातायात व्यवसायीले राइड सेयरिङको विरोध गर्दै गण्डकी प्रदेश बन्द गरेका थिए । जसको प्रभाव देखभर हुँदा नेपाल भर सार्वजानिक यातायात बन्द समेत भएको थियो । तर, गण्डकी प्रदेश सरकारले राइडसेयरिङलाई कानूनी मान्यता दिएको छ ।





