सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

पोखराको निजी क्षेत्रमा २ अर्व ३१ करोडभन्दा बढीको क्षति

पोखराको निजी क्षेत्रमा २ अर्व ३१ करोडभन्दा बढीको क्षति

भाटभटेनी र सामाजिक विकासमन्त्रीलाई सवैभन्दा ठूलो चोट


  • ढोरपाटन संवाददाता
  • असोज ८ २०८२, बुधबार

पोखरा/जेनजी आन्दोलनको क्रममा पोखराका विभिन्न निजी संरचनामा २ अर्व ३१ करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अध्ययनले देखाएको छ ।

पोखरा महानगरले गठन गरेको अध्ययन समितिको प्रतिवेदन अनुसार विभिन्न व्यावसायिक प्रतिष्ठान र व्यक्तिका गरी ४० वटा संरचनामा आगजनी, लुटपाट र तोडफोड हुँदा त्यो क्षति भएको हो । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते अराजक र आपराधिक जत्थाले यहाँका सरकारी कार्यालयदेखि व्यक्तिका घरमा आगजनी,तोडफोड र लुटपाट गरेको थियो । सो क्रममा आगोमा जलेर दुईजनाको निधनसमेत भएको थियो ।

इन्जिनियर लक्ष्मीप्रसाद गौतम संयोजक तथा इन्जिनियरद्वय अमिर भण्डारी र सुमन पराजुली सम्मिलित मूल्याङ्कन समितिको प्रतिवेदन अनुसार न्यूरोडमा रहेको भाटभटेनी सुपरमार्केटमा मात्र १ अर्ब ३० करोडको क्षति भएको छ । भाटभटेनीमा आगजनी तथा लुटपाट गरिएको थियो । यस्तै होटल सरोवरमा ३० करोडको क्षति पुगेको छ । त्यहाँ पनि आगजनी गरिएको थियो । गण्डकीका सामाजिक विकासमन्त्री विन्दुकुमार थापाको नयाँबजारस्थित व्यावसायिक कम्प्लेक्समा ३ करोड, घरमा २ करोड, उनका भाइ ध्रुव थापाको स्वामित्वमा रहेको व्यावसायिक कम्प्लेक्सहित गाडी सो रुममा ६ करोड क्षति पुगेको छ भने मन्त्री थापाकै पुत्र सौगात थापाले संचालन गर्ने लेकसाइडमा रहेको बगैंचा वेलनेस सेण्टरमा १५ करोड र सौगातले नै संचालन गर्ने अंशुभरा ग्रुपको लेकसाइडस्थित कार्यालयमा पनि ३ करोडको क्षति पुगेको छ । त्यहाँ आगजनी, तोडफोड र लुटपाट भएको थियो । पोखरा इभेण्ट सेण्टरमा भएको आगजनीबाट १८ करोड ५० लाख, लेकसाइडकै गुडविल होटलमा ५ करोड, सिर्जनाचोक सुपरमार्केटमा आगजनी र लुटपाट हुँदा २ करोड ४५ लाख, बरपिपल रिसोर्टमा आगजनी र तोडफोडबाट ३ करोड, पूर्वसांसद राजीव पहारीको घरमा आगजी हुँदा २ करोड ५० लाख रुपैयाँको क्षति भएको छ । यस्तै माकुसे पोखरा, मण्डला कलेक्टिभ, पोखरा क्वालिटी सप्लायर्स र पोखरा क्वालिटी टे«ड कन्र्सन एउटै घरमा रहेको र त्यहाँ आगजनी र तोडफोड हुँदा १ करोड ४० लाख रुपैयाँको क्षति पुगेको छ ।

मन्त्र थकाली किचनमा २० लाख,होटल एडममा ५० लाख,केटीएम सिटी लेकसाइडमा लुटपाट र तोडफोड हुँदा ५० लाख, फेवा फार्मेसी आगलागी हुँदा १० लाख, विनित मेटल उद्योगको क्रेटा गाडी जलाइँदा ६० लाख,झपिन्द्र रेग्मीको घर र गाडी जल्दा ४० लाख, गण्डकीका भौतिक योजनामन्त्री प्रकाशबहादुर केसीको घर जलाइँदा ३० लाख, ट्रान्क्विलिटी स्पामा आगलागी हुँदा १५ लाख, हिमालयन जाभामा आगलागी हुँदा ८ लाख,वडा नम्बर १४ का अध्यक्ष बोधराज कार्कीको घरमा भएको आगजनीबाट ४० लाख, एमाले नेता खगराज अधिकारीको घरमा आगजनी हुँदा १० लाख, सांसद मनबहादुर गुरुङको घरमा तोडफोड हुँदा २ लाख, एमाले नेता तेजनारायण अधिकारीको घर तोडफोडबाट २ लाख, कांग्रेस नेता यज्ञबहादुर थापाको घर तोडफोड हुँदा २ लाख, पोखरा उद्योग वाणिज्य संघको कार्यालय तथा अमृत कक्ष र कर कार्यालय पोखरामा रहेको कर सहायत कक्ष तोडफोड एवं आगजनी हुँदा ३५ लाख, कांग्रेस नेता कृष्ण केसीको घर तोडफोडबाट २ लाख, युआएल पोखराको ल्याब आगलागी हुँदा ४५ लाख, छोरेपाटनमा रहेको बिएल आयल स्टोर्स आगजनी र तोडफोड हुँदा ३ करोड ५२ लाख,साम्बला क्याफे लेकसाइडमा आगलागी र लुटपाट हुँदा ३० लाख, गगन टोइटा इन लेकसाइडमा आगजनी हुँदा ३० लाख, बतास अर्गनाइजेसन तोडफोड र आगजनीबाट ३० लाख, पोखराका मेयर धनराज आचार्यको घरमा ३० लाख क्षति भएको प्रारम्भिक आँकडा छ । अझै पनि कतिपय तोडफोड र आगजनीमा परेका घर तथा व्यावसायिक प्रतिष्ठानको क्षति विवरण आएको छैन ।

‘हामीले क्षति भएको ठाउँमा गएर, उहाँहरु (पीडित) को कुरा सुन्दै र क्षतिको अवस्था हेरेर अनुमानित विवरण निकालेका हौँ,’ इन्जिनियर गौतमले भने, ‘कतिपय ठाउँमा जाँदा क्षति नभएको पनि देखियो, मिहिन हिसाब निकाल्दा क्षति बढी पनि भएको हुनसक्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->