पोखरा/पोखरामा कवाडीजन्य सामाग्री संकलन गर्ने र बिक्री गर्ने पक्षबीच विवाद भएको छ । विवाद जेनजी आन्दोलनको क्रममा भएको ठूलो भौतिक क्षति र त्यहाँबाट धेरै कवाडीजन्य सामग्री निस्कने बेला सतहमा आएको हो । विवाद प्रहरीसम्म पुगेको छ ।
मंगलबार कवाडी संकलन गर्ने कम्पनी÷फर्मका सञ्चालकहरुले पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै ठेकेदार कम्पनीले गुण्डागर्दी शैलीमा गुण्डाको बिल्ला भिराउँदै र अपमान गर्दै मनलाग्दी रकम असुल्ने गरेको जिकिर गरे । कवाडी संकलन गर्दै आइरहेको एड्रियन मल्टीप्रपोज कन्स्ट्रक्सन प्रालि, जिपिएस सप्लायर्स, एलजी सेक्युरिटी सर्भिसेज प्रालिलगायतले पत्रकार सम्मेलनको आयोजना गर्दै सम्झौताभन्दा बढी रकम नदिने बताए । उनीहरुको नेतृत्व गर्दै एड्रियनका सञ्चालक रविन गुरुङले आफूहरुको विगत जे जस्तो भएपनि अहिले व्यवसाय गरेर अघि बढिरहँदा अनेक दुःख –कष्ट दिने काम भइराखेको बताए । उनले पिएल कन्स्ट्रक्सन फर्मका प्रतिनिधिले पोखरा महानगरपालिकाले लगाएको ठेक्का सम्झौताविपरीत रकम असुल्ने गरेको आरोप लगाए ।
‘पोखरा महानगरपालिकाअन्तर्गतका विभिन्न वडाहरुमा फर्म दर्ता गरी पुनः प्रयोग हुने तथा नहुने कवाडीजन्य सामानको खरिद विक्री तथा निकासिका कार्य गरी आएका छौं । महानगरले हाल ठेक्का बन्दोबस्त गरी सम्झौता गरेका ठेकेदार कम्पनी पिएल कन्ष्ट्रक्शन फर्मका प्रतिनिधिले हामीलाई व्यवसायीको दर्जा नदिइ गुण्डा, भरौटेजस्ता अपमानजनक शब्द प्रयोग गर्दै हाम्रो इज्जत प्रतिष्ठामा आँच आउने शब्दहरु प्रयोग गरी दुव्र्यवहार गर्दै आएका छन्,’उनले भने, ‘हामी प्रहरीदेखि महानगरसम्म पुग्याँै तर प्रमाण माग्नुहुन्छ । हामी महानगरपालिकाले तोकेको भन्दा एक रुपैयाँ बढी रकम दिने छैनौं ।’
ठेकेदार कम्पनीका सुजन गुरुङलगायतको टिमले बढी रकम असुल्ने गरेको उनीहरुको दाबी छ । पोखरामा पुनः प्रयोग हुने तथा नहुने सामानको वर्गीकरण गरी पुनः प्रयोग हुने सामानलाई प्रसोधनका लागि सम्बन्धित कम्पनीलाई बिक्री गर्न पोखराबाट निकासी गरी सम्बन्धित उद्योगमा पठाउँदा पोखरा महानगरपालिका कार्यालयले आव्हान गरेको निकासी कर उठाउने ठेक्काप्राप्त कम्पनीले तोकिएको दररेट बमोजिमको निकासि कर दस्तुर बुझाएर मात्र निकासी गर्न पाउने प्रावधान रहेको छ ।
त्यसको विपरीत रकम उठाउँदै आउँदा महानगरपालिकासँग गरेको ठेक्का सम्झौता एवम् कायदिशा भन्दा बाहिर गइ तोकिएको दर रेटभन्दा बढी दस्तुर उठाउन दबाब दिएपनि आफूहरु त्यसो गर्न तयार नरहेको गुरुङले सुनाए । ‘जबरजस्ती सम्झौताभन्दा बढी दस्तुर लिन मिल्दैन भनि प्रतिवाद गर्दा हामीमाथि अनर्गल आरोप लगाइएको छ । ठेकेदार कम्पनीले अनुचित बन्देज लगाउने कार्य गरेको हुँदा उक्त गैरकानूनी कार्यको घोर निन्दा र भत्र्सना गर्दर्छौँ,’ उनले भने ।
पोखराबाट दैनिक एक करोड रुपैयाँ भन्दा बढि कवाडीको कारोबार हुने गरेको छ । महानगरपालिकासँग भएको सम्झाता अनुरुप प्रति किलो कवाडीमा ३ रुपैयाँ भ्याटसहितको शुल्क महानगरपालिकालाई बुझाउनुपर्ने हुन्छ ।
विजयपुरस्थित मेगा टेकमा कवाडी लोड गरेको सवारीको तौल नापचाज हुने गर्दछ । पोखराबाट फलाम, कार्टुन, प्लाष्टिक लगायतका पुनः प्रयोग गर्न मिल्ने कवाडीजन्य सामान दैनिक २० ट्रकसम्म बाहिरिने गर्दछ । प्रतिकिलो १५ देखि १७ रुपैयाँसम्म हुने र तीसामानहरु वीरगञ्ज, विराटनगर, भैरहवा, सिमरालगायतको स्थानमा पुग्ने गर्दछ । पोखरामा १६५ को हारहारीमा कवाडी संकलन केन्द्र रहेका छन् । एक ट्रक सामान पठाउँदा करिब १७ लाख सम्म खर्च हुने गुरुङले बताए ।





