बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गण्डकीका थप तीनवटा सहकारीको दर्ता खारेजी

गण्डकीका थप तीनवटा सहकारीको दर्ता खारेजी


  • ढाेरपाटन संवाददाता
  • असोज ८ २०८२, बुधबार
पोखरार/ सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखराले थप ३ सहकारीको दर्ता खारेजी गरेको छ । कार्यालयको यही असोज ६ गतेको निर्णय अनुसार सिम्जुङ ग्रामिण विद्युत सहकारी संस्था लि, अजिरकोट गाउँपालिका–४ गोरखा, बैदीशक्ति बचत तथा ऋण सहकारी संस्था लि., देवघाट गाउँपालिका–२,तनहुँ र मुदी बहुउद्देश्यीय सहकारी संस्था लि., धौलागिरी गाउँपालिका–४ म्याग्दी खारेजीमा परेका हुन् ।
गत वर्ष गोरखाका ५, कास्की र तनहुँका ३÷३, लमजुङ र बागलुङका १÷१ गरी १३ वटा सहकारी संस्थाको दर्ता खारेजी गरिएको थियो । हालसम्म सहकारी रजिष्ट्रारको कार्यालयको नियमन क्षेत्राधिकारभित्रका १६ वटा सहकारी संस्थाको दर्ता खारेज भइसकेको छ । यी सहकारी दर्ता खारेजी भइसकेपछि गण्डकी प्रदेश सरकार अन्तर्गत ९ सय एक सहकारी संघ संस्था कायम हुन आएका छन् । जसमध्ये ५ सय ८१ वटा सहकारी संघ संस्था कार्यालयमा अद्यावधिक रहेका छन् भने ३ सय २० वटा सहकारी संस्था निष्क्रिय रहेका छन् । १३ वटा सहकारी संस्था र २ वटा सहकारी संस्थाका सेवा केन्द्रमा आर्थिक अपचलन हिनामिना भई सम्बन्धित निकायमा अनुसन्धान र कारबाहीका लागि लेखिपठाइएको कार्यालयले जनाएको छ ।
गण्डकी प्रदेशको आर्थिक वर्ष २०८२/ ०८३ को नीति तथा कार्यक्रममा सहकारी संघ संस्थामा आर्थिक अपचलन नियन्त्रण गर्न प्रभावकारी नियमन प्रणाली बनाउने, मिल्दा सहकारी संघ संस्थालाई एकीकरणमा प्रोत्साहित गर्ने तथा निष्क्रिय सहकारी संघ संस्था खारेज गर्ने नीति लिइएको छ । सोही बमोजिम सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराले आफ्ना क्रियाकलापहरू सञ्चालन गर्दै आइरहेको छ ।
कार्यालयले यसअघि दर्ता खारेजी गरेका सहकारीमा ग्लोबल बहुउद्देश्यीय पोखरा–१ कास्की पद्म नर्सिङ बचत तथा ऋण सहकारी पोखरा– ९,मर्दी हिमाल कृषि सहकारी माछापुच्छ्रे गाउँपालिका–८ कोलेली, कास्की, अजम्बरी कृषि सहकारी ऋषिङ गाउँपालिका–८ तनहुँ, रहेका छन् । यसैगरी उपभोक्ता सहकारी व्यास नगरपालिका–११ तनहुँ,माझकोट उपभोक्ता सहकारी भिमाद नगरपालिका–४ तनहुँ, लघुउद्यम कोशेली घर सहकारी बेेंशीशहर नगरपालिका–१ लमजुङ, गोरखा सूचना तथा सञ्चार सहकारी गोरखा नगरपालिका–३, गोरखा, जनता सूचना तथा सञ्चार सहकारी गोरखा–४ गोरखा र नागरिक बचत तथा ऋण सहकारी संस्था–भीमसेन थापा गाउँपालिका–१ गोरखा पनि खारेजीमा परेका छन । खारेजी परेका अन्यमा सत्यनारायण बचत तथा ऋण सहकारी गोरखा नगरपालिका–५ गोरखा, सहयोगी कृषि सहकारी–आरुघाट  गाउँपालिका–७ गोरखा, सारथी सूचना तथा सञ्चार सहकारीबडिगाड गाउँपालिका–२ बागलुङ रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->