पोखरा/सुनगाभा बचत ऋण सहकारी संस्था, पोखरा–१८, सेदीबगरको शनिबार १६ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाका अनुसार सहकारीले आ.व ८१/८२ मा ७ करोड ९ लाख ३५ हजार ५ सय ७६ रुपैया निक्षेप संकलन गर्ने सफल भएको छ । १ करोड १५ लाख २६ हजार शेयर पुँजी रहेको सहकारीले ५ करोड ९१ लाख ८९ हजार २ सय ४६ रुपैया कर्जा लगानी गरेको छ ।
यस्तै, ६ लाख ३३ हजार ८ सय ५ रुपैया कर्जा जोखिम कोषमा राखिएको छ । वार्षिक साधारणसभा अवसरमा संस्थाका अध्यक्ष राम बहादुर थापाले सहकारीको आव २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उक्त कुरा जनाएका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं–१८ का वडाध्यक्ष शिव प्रसाद तिमिल्सिनाले कार्यक्रमको उद्घाटन गर्दै सहकारीले वित्तीय अनुशासनमा रहेर काम गर्दै आएकाले कुनै शंका नगरी आर्थिक कारोबार गर्न शेयर सदस्यलाई आग्रह गरे । सेयर सदस्यहरुको सहकार्य नै सहकारी भएको उनको भनाइ थियो ।
पोखरा महानगर पालिका वडा नं–१८का निवर्तमान वडा अध्यक्ष तथा सेयर सदस्य रण बहादुर थापाले संस्थाका गतिविधिमा शेयर सदस्यहरुले चनाखो भई आर्थिक पारदर्शितामा ध्यान दिनुपर्नेमा जोड दिए ।
संस्थाका सल्लाहकार तथा निवर्तमान अध्यक्ष कृष्ण बहादुर थापाले संस्थाले बचत कर्ताको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा जोड दिए । सहकारी संस्था र सेयर सदस्यको सम्बन्ध नङ र मासुको जस्तै गरि अगाडि बढेमा सहकारीमा समस्या नआउने बताए ।
शेयर सदस्य तथा पत्रकार गणेश पहारीले गण्डकी प्रदेशकै उत्कृष्ट सहकारीको रुपमा अगाडि बढाउने गरि गृहकार्यमा लाग्न आग्रह गरे ।
ममता कृषि सामुदायिक सहकारी संस्था सराङकोटका अध्यक्ष तथा सराङकोट सहकारी समन्वय समितिका संयोजक मिन बहादुर थापाले संस्थाका गतिविधिमा शेयर सदस्यहरुले चनाखो भई आर्थिक पारदर्शितामा ध्यान दिनुपर्ने कुरामा जोड दिए ।
सर्व हित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भरत प्रसाद तिमिल्सिनाले विषम परिस्थितिमा पनि संस्थाले आफ्ना शेयर सदस्यहरु प्रति गरेको सहयोगको प्रशंसा गरे ।
सभाले अध्यक्ष राम बहादुर थापाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरेको प्रतिवेदन, सचिव कृष्ण बहादुर थापाले पेस गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष राजु थापाले आर्थिक प्रतिवेदन र ऋण लगानी तथा असुली उपसमिति संयोजक सुरेन्द्र थापाले प्रस्तुत गरेको प्रतिवेदन र लेखा तथा सुपरिवेक्षण समितिका संयोजक निर्मल पहारीले प्रस्तुत गरेको प्रतिवेदन सभाले सुझावसहित पारित गरेको छ ।
सहकारी अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यसमिति सदस्य रमेश थापा(सुमन) र सात सिद्धान्त वाचन प्रवन्ध निर्देशक सरिता सिग्देलले गरिन् ।
सो अवसरमा नियमित बचत तर्फ झुकमाया पुन, ऐच्छिक बचत तर्फ मिना थपलिया,नारी बचत तर्फ शान्ति परियार तिमिल्सिना, धनजमानी तर्फ खडक बहादुर तामाङ, मुना नेपाल त्यसै गरि धितो जमानी तर्फ इन्द्र बहादुर थापा, जानुका खडका र बाल बचत तर्फ सदस्य संजोक परियार लगाएतका सेयर सदस्यहरुलाई सम्मान गरिएको थियो ।
उत्कृष्ट जेष्ठ सेयर सदस्य कारोबार दाता सन्त बहादुर थापा लाई पनि सो अवसरमा सम्मान गरिएको सहकारीका सचिब कृष्ण थापा जानकारी दिए ।





