पोखरा/पोखरामा पर्यटकीय सिजन सुरु भएको छ । दशैँ तिहारको समय पर्यटकका लागि समेत मुख्य सिजन हो । मौसम खुला हुने यो समयमा पोखरा निकै मनमोहक देखिन्छ । पर्यटक समेत खचाखच हुने यो समयमा अहिले भने पर्यटक छैनन् । भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका कारण पर्यटन क्षेत्रमा ठूलो असर गरेको छ । जसका कारण अहिले सिजनमा समेत पर्यटक शुन्य सरह भएको छ ।
होटल संघ पोखरा नेपालले देशविदेशका पाहुनालाई पोखरा भ्रमणका लागि आग्रह गरेको छ । आन्दोलनका बाबजूद पोखरा सुरक्षित पर्यटकीय गन्तव्य रहेको भन्दै संघले पाहुनाको स्वागतका लागि व्यवसायी तमतयार रहेको सन्देश प्रवाह गरेको हो ।
दशैं पर्वको शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष लक्ष्मण सुवेदीले जेन–जी आन्दोलनका क्रममा पोखराका आधा दर्जन पर्यटकीय प्रतिष्ठानमा क्षति पुगे पनि अरु सबै पर्यटकीय संरचना यथावत र सेवा दिने अवस्थामा रहेको जानकारी गराए । ‘हामीसँग एक हजार दुई सय होटलमा ४० हजार विस्तारा छन्’, उनले भने– सयौं रेष्टुराँ पनि सेवाका लागि तत्पर छन्, पोखरा आउने पाहुनालाई कुनै समस्या हुने छैन ।’
अहिले चाडवाडको मौसम सुरु भएको र यो मौसममा नेपालका विभिन्न ठाउँबाट पाहुनाहरु पोखरा घुम्न आउनेमा आफूहरु आसावादी रहेको सुवेदीले सुनाए । आन्दोलनसँगै उत्पन्न विषम परिस्थितिको क्रममा पोखराको पर्यटन शुन्यमा पुगे पनि आफूहरु पुनः उठ्नेमा विश्वस्त रहेको उनले बताए । ‘विभिन्न विपत्ती र अफ्ठ्याराहरु सामना गर्दै, पुनः उठ्दै हामी आएका छौं,’ सुवेदीले भने, ‘यो पटक पनि हामी पुनः उठ्ने छौं । अहिले पोखराका होटलमा पर्यटकको अकुपेन्सी दर २५ प्रतिशत हाराहारीमा रहेको जानकारी पनि संघका तर्फबाट दिइएको छ ।’
मुख्य पर्यटकीय मौसमको मुखैमा आएर जेन–जी आन्दोलन हुँदा पर्यटन उद्योग नकारात्मक रुपमा प्रभावित भए पनि यो विस्तारै पुरानै लयमा फर्कने आसा व्यवसायीहरुले व्यक्त गरेका छन् । होटल क्षेत्रमा मात्र नभई अन्य पर्यटकीय प्रतिष्ठान र सेवाहरुमा समेत व्यवसायीहरु भारि छुट दिएर पाहुनालाई स्वागत गर्न तयार रहेको अध्यक्ष सुवेदीले बताए ।
अहिले पोखराका हिमालहरु पनि खुल्न थालेको, पर्यटकहरु पदयात्रामा जानेआउने क्रम नरोकिएको र शान्तिसुरक्षा पनि पूर्ववत् अवस्थामा रहेकाले पोखरा भ्रमणका लागि संघले पाहुनालाई आग्रह गरेको हो । यसैगरी होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले पोखरा जिवित र चलायमान शहर भएको बताउँदै होटल, रेष्टुराँ र अन्य पर्यटकीय प्रतिष्ठानहरु सेवाका लागि आतुर रहेको सन्देश जारी गरेका छन् । पोखरा निकै सुन्दर शहर रहेको भन्दै उनले एक भिडियो सन्देशमार्फत् यहाँको हरियाली र खुलेका हिमाल मुनी घुम्न र रमाउन आउनका लागि पाहुनालाई आग्रह गरे ।
काठमाडौ, चितवन र वुटवल लगायतका शहरबाट पोखरा जोडिने सडकहरु सुरक्षित र चुस्त रहेको स्मरण गराउँदै सुवेदीले काठमाडौंबाट अहिले पाँचै घण्टामा सडकमार्गबाट पोखरा आउन सकिने बताए । राति अवेर हवाई सेवा मार्फत् पोखरा पुग्ने चाहना राख्ने पर्यटकले समेत त्यस्तो सुविधा पाउने अवस्था रहेको छ ।





