सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

पोखरामा च्यांग्रा संस्कृति

पोखरामा च्यांग्रा संस्कृति

च्यांग्रा हुलेपछी बल्ल आउँछ दसैं


  • लालप्रसाद शर्मा
  • असोज १३ २०८२, सोमबार

पोखरा /सफा मौसममा छ्यांग आँखा अगाडिनै देखिने हिमालले मात्र पोखरामा दसैं आएजस्तो हुदैँन । पोखरामा दसैंको मुख्य आकर्षण हिमाली बाख्रा अर्थात् च्यांग्राको बथान हो । पर्र्यटकीय शहरमा अन्य किनमेलभन्दा पनि च्यांग्रा बजारले दसैं आएको महशुष हुन्छ । ‘घरमा च्यांग्रा हुलेपछी परिवारमा बल्ल दसैं आयो भन्ने लाग्छ,’ पोखरा–९ नागढुंगाका रुविन क्षेत्री भन्छन्, ‘च्यांग्रा र दसैं पोखराको पर्याय नै बनेका छन् ।’

खसीबोकाको मासु जहिल्यै खाइने तर वर्षको एकपटक आउने अवसर भन्दै च्यांग्राको मासु खाने संस्कृति पछिल्लो समय पोखरा र आसपासका जिल्लामा बढेको छ । परिवारजन, आफन्तजन, ईष्टमित्र भेला हुने, दुःख बिर्सने, मिठो खाने, रमाइलोसमेत गरिने दसैंमा मासु मुख्य खानेकुरामा पर्छ । त्यसमा पनि गण्डकी प्रदेशमा च्याङ्ग्रा खाने संस्कृतिको बिकास भइसकेको छ । संस्कृतिकर्मी तीर्थ श्रेष्ठ पनि खसिबोका र कुखुराको मासु सधैं खाइने तर दसैंमा नौलो र स्वादिलो खानेकुरा च्याङ्ग्रा नै रहेको बताउँछन् । च्याङ्ग्रा डो¥याएको, गाडी र मोटरसाइकलमा पनि च्याङ्ग्रा लिएर हिंडेको देख्दा अरुलाई पनि च्याङ्ग्रा लैजानप¥यो दसैं मान्नैप¥यो भन्ने हुने उनको भनाई छ । ।

पोखरामा दसैंंका लागि मुस्ताङ, डोल्पा, बझाङ, बाजुरा तथा तिब्बतबाटसमेत च्यांग्रा र भेंडा आउछन । मुस्ताङ, डोल्पा र बझाङलगायत हिमाली जिल्लाबाट हजारौं च्याङ्ग्रा आउने गर्छन् । तिनको करोडौं रुपैयाँको कारोबार हुुन्छ । यसपटक एउटा च्याग्रां ३० हजारदेखि ४५ हजारसमममा विक्री भइरहेको छ । हिमाली भेंडा पनि यसपाली प्रशस्त मात्रामा आएका छन् । ती भेंडाहरु औसतमा ३० हजार रुपैयाँ आसपासमा विक्री भइरहेको व्यवसायी बताउँछन् । हिमाली क्षेत्रबाट तल झारेर बिक्रि गर्ने उपयुक्त मौसम यहि बेला रहेको र दसैं मासु खपत हुने पर्व पनि भएकोले च्याङ्ग्रा व्यापार प्रशस्तै हुने गरेको हो । यतिबेला पोखराको सिमपानीदेखि जौबारीहुदै याम्दीसम्मको मध्यपहाडी राजमार्ग (पोखरा–बागलुङ राजमार्ग) को करीव २ किलोमिटर सडक खण्ड च्यांग्रा र भेंडामय छ । च्यांग्राका बथान, किन्ने ग्राहक, किनेर डो¥याउने र सवारी साधनमा राखेर हिड्ने ग्राहकका कारण एकप्रकारको मेला नै लागेको छ । ‘सधै खाईरहेकाले यसपटक पनि छुटाउन भएन,’ पोखरा बिरौटाका अम्बरबहादुर कार्कीले भने, ‘त्यही भएर किन्न आएको ।’ उनले ४२ हजार रुपैयाँमा च्यांग्रा किने । जडिबुटी, चिसोपानी खाएको च्यांग्राको मासु स्वास्थ्यका लागि पनि राम्रो मानिने भन्दै उपभोक्ताको रोजाईमा परेको हो ।

पसलमा किलोको दरमा पाएपनि च्याङ्ग्रा बजारमा भने हचुवा मोलमोलाईमा किनबेच हुन्छ । लामो रौं, लामै सिंग हुने हिमाली बाख्रालाई च्याङ्ग्रा भनिन्छ । २५ सय मीटरमाथी हुने च्याङ्ग्रा जडिबुटी खाएर हुर्कने भएकोले यसको मासु स्वस्थकर मानिन्छ । चरेर पालिने हुनाले बोसो कम हुन्छ च्याङ्ग्रामा । ‘युरिक एसिड’ नै भएपनि जडिबुटी खाएको, चिल्लो कम हुने मासुले केहि हुँदैन’ श्रेष्ठले भने ।

फुलपाती अघि पोखरा आसपास र बाहिर जानेले च्याङ्ग्रा किनेर लैजान्छन् । यसअघि स्थानीयले फुलपातीदेखि नवमिसम्म घरको लागि किन्ने गरेकोमा अहिले सोह्रश्राद्ध सकिनसाथ (घटस्थापनाको दिन देखि) च्यांग्रा किनेर मासु खाने गरेका छन । यसपाली सोह्र श्राद्ध चलिरहँदा नै च्यांग्रा पोखरा झरिसकेका थिए । ‘दसैं लागेपछी यहाँ च्यांग्राकै मासु खोज्नेहरु हुन्छन् । पोखरामा उपभोक्ताको रुची च्यांग्रामै छ’, बिरौटा खाजा घरका सञ्चालकसमेत रहेका कार्कीले भने, ‘घरमा सिंगै काट्ने मात्र हैन, पसलबाट लानेले पनि च्यांग्राकै मासु खोज्छन् ।’

७ वर्षदेखि च्यांग्राको व्यापार गर्दै आएका मुस्ताङका पेम्बा गुरुङले यसपटक पनि ८५ च्यांग्रा ल्याएका छन् । दशैका बेला पोखरा र आसपासका क्षेत्रमा च्यांग्राको व्यापार राम्रै हुने भएकाले यो व्यवसायमा लागेको उनले बताए । ‘हिमाली क्षेत्रबाट बेंशी झरेर बिक्री गर्ने उपयुक्त मौसम र र ठूलो पर्वसमेत पर्ने भएकाले च्यांग्राको व्यापार राम्रो हुने भएकाले यसमा लागेको हु’ उनले भने ।

यसैगरी बझाङका धनबहादुर धामी पहिलोपटक भेंडाच्यांग्रा लिएर पोखरा आए । ३ दिन हिंडेर र ३ दिन ट्रकमा राखेर भेंडाच्यांग्रा ल्याएको उनले बताए । ‘पोखरामा लगेपछि सहजै विक्री हुन्छन् भनेर आएका हौ’, उनले भने, ‘फाट्टफुट्ट विक्री भइरहेको छ । दसैंको दिनसम्म सबै बिक्री होलान भन्ने आशमा छौ ।’ उनले अर्को एकजना साथीसंग मिलेर १ सय ५ वटा भेंडाच्यांग्रा ल्याएका छन् । बझाङबाट मात्रै २५ ट्रक ल्याइएको उनको भनाई छ ।

यसपाली कति भेंडाच्यांग्रा भित्रिए भन्ने यकिन छैन । जेन जी को आन्दोलनपछि सरोकारवाला निकायहरु निष्क्रिय रहनु पर्दा च्यांग्राको संख्या यकिन गर्न नसकिएको हो । यसअघि प्रहरी, पोखरा महानगर, स्थानीय तहलगायतले कुनै न कुनै हिसावले यसको तथ्यांक राख्थे । ‘महानगरले भेंडाच्यांग्रा व्यवसायीसंग कुनै पनि शुल्क नलिने र अरुलाई पनि लिन नपाइने भनेका छौ’, पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले भने, ‘नगर प्रहरीले अनुगमन गरिरहेको छ । कति संख्यामा भित्रिए भन्ने तथ्यांक छैन् ।’ महानगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले विगतमा भन्दा यसपटक भेंडाच्यांग्रा अलि बढी आएको देखिएको बताए । पिच गर्न ठिक्क पारिएको राजमार्गमा भेंडाच्यांग्रा राख्न नदिनेलगायतमा अनुगमन गरिरहेको उनको भनाई छ । ‘अनुगमनका क्रममा अघिल्ला वर्षको तुलनामा अलि बढी आएको देखिन्छ’, उनले भने । पोखरामा मात्रै वार्षीक ५० करोड रुपैयाँ भन्दा बढीको कारोवार हुने अनुमान छ । यसपटक भने यो कारोवारको रकम बढ्ने आकलन गरिएको छ ।

पहिलेपहिले स्थानीय किसान तथा ब्यापारीबाट सिधै किनेर ल्याउँदा च्याग्राको मुल्य केही कमी हुन्थ्यो । तर केही बर्षयता भने ‘बिचौलिया’ हावी भएकाले मुल्य बढी तिर्नुपरेको एक ब्यापारीले बताए । सबै ब्यापारी बाहिरबाट जाने र भनेजति मुल्य दिदा उपभोक्ता महंगोमा परेका छन । पछिल्लो समय काठमाण्डौ, चितवन र बुटवललगायत क्षेत्रमा पनि च्यांग्रा जाने गरेका छन् । कतिपयले विदेशमा रहेका आफन्तलाई दशैंको कोसेलीका रुपमा सुकुटी बनाएर पठाउने पनि गर्छन ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->