पर्वत/ जिल्लाको कुश्मा नगरपालिका–१३ खौलालाँकुरीस्थित ज्ञादी खौला भूमेकोतमा सोमबार वडादसैंको सप्तमीका दिन फूलपाती भित्राइयो ।
तत्कालिन भूरे टाकुरे राजाको शस्त्र, अस्त्र (हातहतियार) भण्डारण गर्ने थलो भूमेकोतमा परम्परागत रुपमा फुलपाती भित्राउने गरिन्छ ।
अघिल्लो राती (षष्टीको दिन) प्रसिद्ध धार्मिकस्थल मोदीवेनी गएका २ जना फुलपातीलाई सराय (सरुन) नाँच र बाजागाजाका साथ भित्राइएको कोत व्यवस्थापन समितिका अध्यक्ष खड्गबहादुर केसीले बताए । मोदीवेनीमा नुहाएर शुद्ध भएका फुलपातीले डोलीमा बेलपत्र, ३ वटा बेलका गेडा, गंगाजल, अदुवा, आँक, पलाँस, डुम्री, उसीर, कुश, उखु बोकेर ल्याउँछन ।
कोतमा घटस्थापनाको दिनदेखि पुजारी बसेर पूजापाठ गर्छन । सप्तमीमा फुलपाती भित्राइन्छ । अष्टमीको मध्यरातमा बली दिइन्छ । नवमीमा भूमे देवताले मनोकांक्षा पुरा गर्ने विश्वासमा भाकल गर्नेले पंचावली लिएर आउँछन । महाअष्टमीको मध्यरातमा बली दिइएको बोकाको प्रसाद हनुमानढोका पुराउने चलन भएपनि अहिले बन्द छ । कोतमा वडा दसैंको टीकाको दिन साइत छोपेर सामुहीक टीका ग्रहणपछि आसपासका गाउँमा टीका लगाउने चलन छ ।
बुढापाकाहरुको भनाइ अनुसार जुम्लीथानमा भुरे राजाले अश्वमेघ यज्ञ गर्दा अग्नीहोत्र उठेनछ । उक्त अग्नीहोत्र कसले उठाउँछ भन्दा म्याग्दीको घतानबाट आएका सद्धर उपाध्याय सुवेदीले उठाएछन । राजाका गुरुसमेत रहेका सुवेदीलाई राजाले सोही स्थानमा जग्गा दिएर राखेछन् । उनै सुवेदीको संझनामा फुलपातीका दिन फुलपाती चौतारीमा बोका बली दिने चलन थियो । तर अहिले कुसमान्ड (फुर्से कुभिन्डो) को बली दिइन्छ । महाकाली, महालक्ष्मी, महासरस्वतीको पूजा गरिन्छ ।
जिल्लाका पैंयूलगायत अन्य कोतहरुमा पनि फूलपाती भित्राइएको छ ।





