बागलुङ/दशै तिहारमा नयाँ नोट खोज्ने चलन पुरानै हो । तर पछिल्लो दुइ बर्षदेखि उपभोक्ताले नयाँ नोट पाएका छैनन् ।
त्यसो त पाएको समयमा पनि पहुँचवालाको नियन्त्रणमा अधिकांस नोट सटही हुने गरेको थियो । तर गतबर्षदेखि भने दशैलाई भनेर नयाँ नोट नआएपछि सटिङ गरेका पुरानै नोटबाट काम चलाउन थालिएको छ । ती नोट समेत पहुचमा राख्न बैंकका म्यानेजर र सिईओलाई कतिपयले फोन गरेर हैरान पार्छन् ।
चडपर्वमा टिकाटालो गर्नका लागि नयाँ नोट खोज्नेहरुले दुइ बर्षदेखि भने सटिङ नोट नै लैजाने गरेका छन् । नेपाल राष्ट्रबैंकले दशैं प्रयोजनका लागि भनेर नोट छाप्न छाडेपछि नयाँ नोटको बितरण कम भएको हो । यो प्रचलनले नयाँ नोटको सुरक्षा भएको बैंकर्स एसोसिएसन बागलुङका एक सदस्यले बताए । ‘नयाँ नोट साटेर लैजानेले १०/१५ दिनमै पुरानो बनाउने, पानी छर्कने, टिकाले रातो बनाउने गरिन्छ’ उनले भने, ‘नयाँ नोट नआएपछि त्यो समस्या हटेको छ ।’ नोटको सुरक्षा र खर्च घटाउनकालागि पनि नोट नआएको राम्रो भएको उनले बताए ।
बिशेषगरी नेपालीहरुले नोटको सुरक्षा गर्दैनन् । भारत लगायतका स्थानमा नोटलाई जस्ताको त्यस्तैराख्ने चलन छ । जसले गर्दा बर्षौ सम्म नोटको चलनचल्ती रहन्छ । नेपालमा भने साना नोटहरु त एकबर्षमै बिग्रिन्छन् । त्यसपछि राष्ट्रबैंकले पुन नोट छाप्नुपर्ने भएको छ । हरेक बर्ष नोट छाप्दा करोडौं रकम खर्च भैरहेको हो ।
दशैका केही दिनकालागि मात्र नोट लैजानेहरुले पुन बैंकमा फिर्ता ल्याउने गर्छन् । ‘आएका नोटहरु सबै बिग्रेका हुनाले संकलन गरेपनि उपयोग विहिन जस्तै बन्छन्’ प्रभु बैंकका अधिकृत अर्जुन शर्माले भने, ‘दशै अघि बितरणमा समस्या, दशैं पछि संकलनमा समस्या भैरहेको छ ।’
सटिङ नोट समेत धेरै धेरै लैजान खोज्नेहरु बैंकमा आउने उनले बताए । नयाँ नोट लिएर गाउँ पुग्नेले रवाफ देखाउने समेत गर्छन् । पछिल्लो दुइ बर्षदेखि भने नयाँ नोट नआएकोले त्यो अबस्था कम भएको छ । आगामी दिनमा नोट सटहीलाई नै रोक्ने सरकारी नीति बन्नुपर्ने शर्माको भनाई छ ।
नोट साट्ने चलनले अनावस्यक खर्च पनि बढाउने गरेको छ । कतिपयले देखाउनकालागि धेरै पैसाको खुद्रा साट्ने, जथाभावी खर्चने पनि गरेका छन् । त्यो खर्च कम गर्नपनि नोटलाई जथाभावी सटहीबाट रोक्नुपर्ने बैंकर्सका अर्का सदस्यले सुझाए । हरेक बैंकबाट माथिल्लो निकाए सम्म यस्तै सुझाव समेत गएको उनको भनाइ छ ।





