मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

ज्ञादी खौला भूमेकोतमा सामुहिक टीका

ज्ञादी खौला भूमेकोतमा सामुहिक टीका


  • लालप्रसाद शर्मा
  • असोज १६ २०८२, बिहिबार

खौलालाँकुरी (पर्वत)/ विहीबार वडादसैंको दशमीको दिन । टीकाको साइत थियो विहान ११ बजेर ५३ मिनेटको समय । विहान ११ बज्दा नबज्दै सर्वसाधारण भूमेकोतमा जम्मा भइसकेका थिए । मौसम खुलेको थिएन । फूल, अक्षता, जमरा र दहीसाथ बाक्लो उपस्थितिले भुमेकोतको रौनक बेग्लै थियो । ५/७ वर्षका बालबालिकासहित ९० वसन्त पार गरेका बुढापाकाको जमघटले यो कोतमा पारिवारिक माहौलको झल्को दिन्थ्यो ।

टीकाको साइत अगाडि ४ जना पुजारी कोत अगाडिको मौलोमा टपरीमा फूल लिएर बेद र चण्डीसहित मन्त्र पढ्न थाले । मन्त्र पढीसकेपछि मौलो र कोतको चारकुनामा रहेका थानमा दही र फुलअक्षता खन्याइयो । उता नगरा घन्किरहेका थिए । लगत्तै एकापसमा टीका लगाउन शुरु भयो ।

पर्वतको कुश्मा नगरपालिका–१३ खौलालाँकुरीस्थित ज्ञादी भूमेकोतमा दशैमा सामुहिक टीका लगाइन्छ । नेपाल एकिकरण पूर्वका भूरेटाकुरे राजारजौटाको पालादेखिको संस्कृतिलाई स्थानीयले निरन्तरता दिदै आएका हुन् । ‘यो गाउँको संस्कृति हो । सामुहिक टीका ग्रहणले गाउँलेबीच एकता गराउँछ,’ कोत ब्यवस्थापन समितिका अध्यक्ष खड्गबहादुर केसी भन्छन्, ‘सामुहिक टीका लगाउँदा कसैको निधार खाली हुदैन ।’ कोतमा टीका लगाएर घर पुगेपछि कोतबाट लगेका अक्षता दैलो, बाकस र दलानमा लगाइन्छ । त्यसपछी बल्ल घरमा लगाउने चलन छ ।

दसैमा आफुभन्दा जेठोबाट टीका थापेर आशिष लिइन्छ । तर कोतमा भने बाबुछोरा र हजुरबा नातीबीच पनि टीका लगाउने चलन छ । धेरै ब्यक्तिको हातबाट टिका लगाएमा मोक्ष प्राप्त हुने विश्वास गर्छन, पुजारी नारायण सुवेदी । ‘सामुहिक टीका लगाउने यो पुरानो चलनलाई हामीले निरन्तरता दिएका हौं । यसले बुढापाकाको निधार खाली राख्नु परेन,’ उनी भन्छन, ‘कोतमा आउने सबैले टीका लगाउने र लगाइदिने अधिकार हुन्छ ।’ टीकाका लागि खौलालाँकुरी, ठूलीपोखरी, आर्थरडाँडाखर्क, पकुवालगायत स्याङजाको बिचारीचौताराबासी आउने गर्छन । कोतमा दलित समुदायको पनि छुट्टै सामुहिक टीका हुन्छ । पटकपटक प्रयास भए पनि अहिलेसम्म दलित र गैरदलितबीच सामुहिक टीका भने भएको छैन । सामुहिक टीकामा पुरुषमात्रै सहभभागी हुने गरेका छन् । अक्कलझुक्कल महिला पनि पुग्छन ।

कोतमा घटस्थापनाको दिनदेखि पुजारी बसेर पूजापाठ गर्छन । सप्तमीको दिन फुलपाती भित्राइन्छ । अष्टमीको मध्यरातमा बली दिइन्छ । नवमीमा भूमे देवताले मनोकांक्षा पुरा गर्ने विश्वासमा भाकल गर्नेले पंचावली लिएर आउछन । अहिलेसम्म कोतको ऐतिहासिक पक्षबारे खासै खोजबिन भएको छैन । यसको गुठीसमेत रहेकोमा विभिन्न ब्यक्तिले हडपे पनि त्यो खोज्ने पहल भएको छैन । जुम्लाबाट आएका राजा र त्यसपछि थुप्रै भुरेटाकुरेले शासन गरेको बुढापाका बताउँछन । महाअष्टमीको मध्यरातमा बली दिइएको बोकाको प्रसाद हनुमानढोका पुराउने चलन भएपनि अहिले बन्द छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->