पर्वत/ जल तथा मौसम विज्ञान विभागले मौसमको जोखिमपूर्ण अवस्थाका बारेमा जानकारी गराएपछि जिल्ला प्रशासन कार्यालय पर्वतले जिल्लासावीहरुलाई सात बुँदे अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेद्वारा जारी सूचनामा नेपालभर हुन सक्ने बर्षातको समयमा गण्डकी प्रदेशमा समेत मध्यमदेखि भारी वर्षाको प्रक्षेपण गरिएकोले पूर्वानुमानका आधारमा उत्पन्न हुन सक्ने बाढी, पहिरो, डुबान, भूक्षय लगायतका जोखिम रहेको उल्लेख छ। वर्षा भएको अवस्थामा सडक यातायात प्रभावित हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रशासनले दिएका अनुरोधहरू मान्न भनिएको छ ।
प्रशासनले अत्यन्त जरुरी काम नभई घरदेखि टाढा र रातको समयमा यात्रा नगर्न, यात्रा गर्नुपर्दा जल तथा मौसम विज्ञान विभागबाट जारी हुने आधिकारिक सूचनाहरूलाई पालना गर्न, बाढी पहिरोको उच्च जोखिम रहेका स्थानहरूमा उच्च सतर्कता अपनाउन, पहिरोको उच्च जोखिम रहेका स्थान र नदी किनारका बासिन्दाहरू बाढीको उच्च बहाव हुन लागेमा जोखिमयुक्त स्थानमा नबसी अन्य उपयुक्त र सुरक्षित स्थानमा बस्न आम नागरिकलाई अनुरोध गरेको छ ।
यस्तै, उपयुक्त र सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाउन सम्बन्धित स्थानीय तहबाट आवश्यक समन्वय गर्न, जोखिमयुक्त क्षेत्रका बासिन्दाहरूले आपतकालिन अवस्थामा उपयोग गर्नका लागि आवश्यक पर्ने सामाग्री, औषधी, महत्त्वपूर्ण कागजात तथा धनमाल सहितको झोला तयार गरिराख्न, वर्षातको समयमा राष्ट्रिय राजमार्ग तथा ग्रामीण सडकमा चल्ने सवारी साधनलाई सावधानी पूर्वक कानुन बमोजिम सञ्चालन गर्न, मध्य पहाडी लोक मार्ग, कालिगण्डकी कोरिडोर र अन्य जोखिमयुक्त सडकखण्डहरुमा तुरुन्त परिचालन हुने गरी डोजर, एक्स्काभेटर लगायतका हेवी इक्युपमेन्टहरु सम्बन्धित कार्यालय/ डिभिजन/आयोजना र निजी क्षेत्रले समेत तयारी अवस्थामा राख्न प्रशासनले अनुरोध गरेको छ ।
यसै गरी, सबै स्थानीय तह, नेपाल रेडक्रस सोसाइटी, साझेदार संस्था, निजी क्षेत्र, नागरिक समाज तथा सरोकारवाला निकायहरू विपद् पूर्व तयारीमा जुट्न र आवश्यक प्रतिकार्यका लागि तयारी अवस्थामा रहन तथा कुनै विपद्जन्य घटना भएमा सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि, नजिकको प्रहरी इकाई वा सुरक्षा निकाय, स्थानीय प्रशासनमा तुरुन्त जानकारी गराउन पनि आम नागरिकमा अनुरोध गरिएको छ ।





