बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

घमीमा अस्थायी ‘डाइभर्सन’ बनेपछि कोरला नाकाबाट मालवाहक ट्रक आउन सहज

घमीमा अस्थायी ‘डाइभर्सन’ बनेपछि कोरला नाकाबाट मालवाहक ट्रक आउन सहज


  • स‌जय रेग्मी
  • असोज १९ २०८२, आइतबार

पर्वत/ मुस्ताङको लो–घेकेर दामोदर कुण्ड गाउँपालिका–२ स्थित घमी खोलामा अस्थायी ‘डाइभर्सन’ बनेपछि मालवाहक कन्टेनरहरू आवतजावत गर्न सहज हुने भएको छ ।

जोमसोम–कोरला सडकअन्तर्गत घमी खोलामा पुल नहुँदा मालवाहक ट्रकहरू आवागमन हुन नसकेको अवस्थामा आइतबार लो–घेकर दामोदर कुण्ड गाउँपालिका, सडक विभाग र स्थानीय व्यापारीहरूको समन्वयमा घमी खोलाबाट मालवाहक ठुला ट्रकहरू आवतजावत गर्न सक्नेगरी अस्थायी बाटो निर्माण भएको हो । गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल विष्टका अनुसार ठेकेदारले निर्माण गरिरहेको स्थायी पुलको काम पूरा नहुँदा धेरै सामानहरू बोकेका मालवाहक ‘ट्रक’ तथा ‘कन्टेनर’हरू मुस्ताङबाट बाहिरिन समस्या भएको थियो ।

पछिल्लो समयमा नेपाल र चीनबिच मुस्ताङबाट जोडिएको सिमाना कोरला नाकाबाट सामग्रीहरू भित्रिने क्रम बढेपछि धेरै टन सामान बोकेका ‘ट्रक’ तथा ‘कन्टेनर’हरू घमी खोला पार गरेर मुस्ताङबाट बाहिरिन समस्या भइरहेको थियो । यात्रुवाहक र अन्य साना सवारीहरू सञ्चालन गर्नको लागि खोलामा काठ, रड र सिमेन्ट प्रयोग गरेर बनाइएको पुरानै पुलले काम गरिरहेको भए पनि मालवाहक ‘ट्रक’हरू गह्रौँ सामग्रीहरू बोकेर खोल पार गर्न नसक्ने अवस्था रहेको थियो ।
‘खोलामा रहेको पुलबाट हलुका सवारीहरू बाहेक आउजाउ गर्न मिल्ने अवस्था थिएन । त्यो सामान्य खालको पुल पनि गाउँपालिकाले बनाएको थियो। अहिले २०, ३० टन सामान बोकेका गाडीहरू आउन थालेका छन् । यति धेरै लोड भएको गाडीहरू पुरानो पुलले थेग्ने अवस्था थिएन’, गाउँपालिकाका अध्यक्ष विष्टले भने, ‘अहिले हामीले सडक विभागसँग कुरा गरेर माथिबाट आउने मालवाहक गाडीहरू पनि जान सक्ने बनाएका छौँ । अब माथि नाकाबाट धेरै टन सामान बोकेका गाडीहरू आउन सक्छन् ।’

आफैमा धेरै तौल भएका ‘ट्रली’ हरू सामग्रीहरू सहित आइरहेका बताउँदै उनले धेरै ‘ट्रक’ तथा ‘ट्रली’ हरूमा विद्युत् आयोजनाका उपकरण तथा सामग्रीहरू आयात भइरहेको जानकारी दिए । घमी खोलामा ठेकेदारले निर्माण गरिरहेको पुलको काम आउँदो असारसम्ममा पूरा हुन सक्ने र त्यो बेलासम्मको लागि अस्थायी ‘डाइभर्सन’बाट नै मालवाहक सवारीहरू आउजाउ गर्न सक्ने उनको भनाइ छ । घमी खोला पुल निर्माणमा ढिलाइ हुँदा मालवाहक ‘ट्रक’हरू भन्सारमा नै रोकिएर बस्नुपरेको थियो । खोलामा सडक ‘डाइभर्सन’ नहुँदा चीनबाट आयात गरिएका उपकरण तथा निर्माण सामग्रीसहितका १० पाङ्ग्रे ‘ट्रली’ तथा ‘ट्रक’हरू भन्सार कार्यालय न्हेचुङमै थन्किएका थिए । मुस्ताङ भन्सार कार्यालयमा जाँच पास भएर पनि ‘डाइभर्सन’को अभावमा रोकिएका मालवाहक सवारीहरू अब सहजै मुस्ताङबाट बाहिरिन पाएका छन् ।

चीनबाट आयातित सामग्राीहरु कोरला नाकाबाट ढुवानी गर्ने गएका ठुला मालवाहक ठुला सवारीहरू रोकिएको भए पनि मध्यम तथा साना र हलुका खालका सवारीहरू पनि घमी खोलाको अस्थायी पुल तर्न सक्ने अवस्थामा मात्रै तल झर्ने गरेका थिए । कोरला नाका पूर्ण रूपमा सञ्चालनमा आए पनि जोमसोम–कोरला सडकअन्तर्गत घमी खोलामा ‘डाइभर्सन’ नहुँदा समस्या हुँदै आएको गाउँपालिकाका अध्यक्ष विष्टको भनाइ छ । घमी खोलामा २०७५ सालदेखि पुल निर्माणको काम चलिरहेको छ । करिब सात करोड रुपैयाँ लागतमा निर्माण भइरहेको पुल लामो समयसम्म पनि पुरा नहुँदा समस्या भइरहेको छ । तर अब असारसम्ममा पुल निर्माणको काम सकिने र कोरला नाकाबाट आयात झनै सहज बन्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->