म्याग्दी / जिल्लाको रघुगङ्गा गाउँपालिका-२ सिरुवारीको पहिरोले कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडकमा यातायात सेवा प्रभावित भएको छ। म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै हिमालपारिको पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम चीन र भारत जोड्ने सडक पनि हो।
कालीगण्डकी नदीको तिरदेखि भगवतीको माझखर्कसम्मको जमिन धाँजा फाटेर पहिरो चलेपछि बिचमा रहेको सडकमा यातायात सञ्चालनमा समस्या भएको छ। यातायात व्यवसायी भोजबहादुर थापाले सिरुवारी र खामभित्ताको पहिरोले बेनी-जोमसोम सडकमा यातायात सञ्चालनमा समस्या भएको बताए।
‘सामान्य वर्षा हुने बित्तिकै पहिरो खसेर सडक अवरुद्ध हुनुका साथै साँघुरो र हिलाम्मे सडकमा जोखिम मोलेर सवारी साधन वारपार गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘सवारी साधन गुडिरहेको र यात्रु हिँडिरहेको अवस्थामा माथिबाट ढुङ्गा खस्ने चोटपटक लाग्ने, क्षति पुग्ने गरेकाले सावधानी अपनाएर यातायात सञ्चालन गरेका छौँ।’
सडकमुनि कालीगण्डकी नदी छ भने करिब आठ सयमाथि र दुई सय मिटर चौडाइको पहिरो छ। पाखो पहिरोमा परिणत भएको छ। माझखर्कको बस्तीमा पनि जोखिम बनाएको छ। कोरला नाकामा सामान लिन जाने र आउने ठूला कन्टेनरहरूले पनि यही सडक प्रयोग गर्छन्।
मुस्ताङ जाने आउने यात्रुबाहक बस र गाडीहरूको सिरुबारी पहिरोमा जाम हुने गरेको छ। गाडी फस्ने र साँघुरो भएकाले जाम हुने गरेको रघुगङ्गा गाउँपालिका-१ का वडा सदस्य बलमान गौचनले बताए। साँघुरो भएकाले पहिरो क्षेत्रमा दुईतर्फी यातायातका साधन सञ्चालन गर्न सकिँदैन।
बेनी-जोमसोम सडकमा यो बर्खामा सबैभन्दा धेरै अवरुद्ध सिरुवारी र खामभित्तामा भएको छ। बेनी-जोमसोम-कोरला सडक योजनाले पहिरो नजिकै डोजर र लोडर तयारी अवस्थामा राखेको छ। बर्खायामभरि पहिरो पन्छाउँदै यातायात सञ्चालन गर्दै आएको योजनाका इञ्जिनियर बिष्णु चापागाईले बताए।
वर्षा रोकिएपछि पहिरोलाई पन्छाएर सरसफाइ गरिने र दुईतर्फी गाडी चल्ने बनाइने उनले बताए। ‘सिरुवारीमा ठूलो पहिरो भएकाले यसको रोकथामका लागि अध्ययन भइरहेको छ,’ उनले भने, ‘तत्काललाई मर्मत गर्दै यातायात सञ्चालन गरिएको छ।’
बेनी-जोमसोम सडकमा पर्ने चमेरे, बैसरी, गुइठेभिर, लाटाखोलाको पहिरो रोकथाम तथा रुप्से क्षेत्रको पहिरो प्रभावित क्षेत्रमा सडक ढलान गर्ने योजनाको ठेक्का सम्झौताको तयारी भएको पनि इञ्जिनियर चापागाईले जानकारी दिए। रासस





