पोखरा/ रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराको विहिबार वसेको कार्यसमिति बैठकले २७ औं पोखरा सडक महोत्सव संयोजकमा प्रथम उपाध्यक्ष बसन्त गौतमलाई चयन गरेको छ । महोत्सव आगामी पुस १३ देखि १७ गतेसम्म हुनेछ ।
महोत्सवको सहसंयोजकमा कार्यसमिति सदस्य सुनिलवहादुर भट्टराई र सुमन भट्टराई, स्टेरिङ कमिटीमा अध्यक्ष विश्वराज पौडेल, निवर्तमान अध्यक्ष नरेश भट्टराई, संयोजक वसन्त गौतम, द्वितिय उपाध्यक्ष विकास भट्टराई, महासचिव विरेन्द्र शेरचन र कोषाध्यक्ष रोशनजंग कार्की तोकिएको छ । २६ वर्षदेखि पर्यटनको राजधानी पोखराको लेकसाइड क्षेत्रमा अङ्ग्रेजी नयाँ वर्षको स्वागतार्थ आन्तरिक तथा बाह्य पर्यटकलाई ‘अङ्ग्रेजी नयाँ वर्षको गन्तव्य स्थल’ को रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले पोखराको लेकसाइड क्षेत्रको करिव ३ कि.मि. क्षेत्रमा महोत्सव आयोजना हुँदै आएको छ ।
‘सडक मै खाउ, सडक मै रमाउँ’ भन्ने नाराकासाथ आयोजना हुँदै आएको महोत्सवले एउटा गर्विलो इतिहास बोकेको छ । परिवर्तित समयसँगै महोत्सवलाई पृथक र थप आर्कषक कसरी बनाउन सकिन्छ भनेर सरोकारवालाहरुको सल्लाह सुझावहरु पनि लिने आयोजकले जनाएको छ । कला संस्कृति प्रवद्र्धन गर्न, स्थानीय स्तरमा उत्पादित सामग्रीलाई वजार, प्रचार प्रसार, व्यापार वढाउन होस वा ब्राण्डिङ गर्न तथा अवलोकन गराउने एउटै थलो पोखरा सडक महोत्सव रहदै आएको छ । साथै पर्यटक आकर्षण गर्न होस् वा लोपोन्मुख सामग्रीलाई संरक्षण गर्न प्लेटफर्म पनि दिदै आएको छ । समग्रमा सडक महोत्सव स्थानिय स्तरमा आर्थिक गतिविधि चलायमान, विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना गर्न गतिलो माध्यम वनेको छ । २६ वर्ष देखिको निरन्तरताले अब नेपालीलाई मात्र नभएर विदेशीलाई पनि नयाँवर्ष पोखरामा मनाउने वातावरण सृजना गराएको छ । यहि महोत्सवका कारण पोखरामा आन्तरिक र बाह्य पर्यटकको आगमन निकै बढेको छ ।





