पोखरा/ गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएसन पोखराले भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका क्रममा पोखरामा तोडफोड र आगजनीमा परेका सरकारी तथा निजी सवारी साधनको पुनः निर्माणमा चासो देखाएको छ । एशोसिएसनले ती साधनलाई सहुलियत मूल्यमा मर्मत गरी नयाँजस्तै बनाउन सकिने बताउँदै कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी अधिकारीलाई बिहीबार ध्यानाकर्षण गराएको छ ।
एशोसिएसनका अध्यक्ष विष्णुप्रसाद अधिकारीले पोखराभित्रका जलेका ३ सय देखि ४५० सवारीसाधनहरू पुनः निर्माण गर्न सकिने अवस्थामा रहेको बताएका छन्। उनका अनुसार जिम्मेवारी पाएमा यी गाडीहरू पहिलेकै अवस्थामा ल्याउन सक्ने र यसका लागि इन्जिनियर हायर गरेर, आफ्नै सीप र दक्षता प्रयोग गरेर गाडीलाई नयाँ बनाइने छ । तोडफोड भएका र जलेका गाडी नयाँ गाडीको मूल्यको १० देखि ३० प्रतिशत खर्चमा पुनः निर्माण गर्न सकिने उनको भनाइ छ ।
जलेका सवारी साधन कवाडीलाई बेच्न भन्दा पुन निर्माणमा सरकारको ध्यान जानुपर्ने एशोसिएसनको माग छ । ‘फलाम नडढ्ने, ग्यारेन्टीसहित गाडी मर्मत गर्न तयार भएको, यसले रोजगारीका अवसर पनि सिर्जना हुने र ठूलो मात्रामा पैसा नेपाल बाहिर जानबाट जोगिनेभन्दै उनले यस्तो अवस्थामा सबैले आ–आफ्नो तर्फबाट सहयोग गरी देशको स्रोत र सीपको उपयोग गर्नुपर्नेमा जोड दिए । प्रजिअ शर्माले एशोसिएसनको पहललाई सकारात्मक रुपमा लिएको बताउँदै सम्बन्धित निकायसँग छलफल गरी आवश्यक प्रक्रिया अघि बढाउने बताइन् ।





