फाइल तस्बिर
बागलुङ/देवकुमार नेपालीलाई सहकारी ठगीसँगै सम्पत्ति शुद्दिकरण मुद्दा पनि लागेको छ । उनी जेलमा छन् । राज्यले यो मुद्दामा कसरी नेपालीलाई कारवाही गर्छ त्यो हेर्न बाँकी छ ।
तर सहकारीका बचतकर्तालाई भने चिन्ता बढेको छ । उनीहरुले बचत कहिले फिर्ता पाउने भन्ने अन्यौल छ । नेपालीको तर्फबाट मुद्दा हेरेका अधिवक्ता राम शर्माले पीडितको बचत पाउने समय ढीला भएपछि कुनै न कुनै दिन फिर्ता हुने बताउँछन् ।
आर्कषक व्याज पाइन्छ भन्दै गैर शेयरहरुले पनि इमेजमा बचत गरेका थिए । कतिपय सामान्य व्यवसाय गर्ने, मजदुरी गर्ने र आर्थिक रुपमा बिपन्नले पनि ऋण समेत खोजेर बचत गरेकोमा फिर्ता पाएका छैनन् । नेपालीलाई सम्पत्ति शुद्दिकरण मुद्दा परेपछि त झन् राज्यले बिगो जफत गर्ने माग दावीबाट बचतकर्तामा त्रास फैलिएको हो ।
सरकारी वकिलको कार्यालय बागलुङले नेपालीबिरुद्व १ अर्ब ५८ करोड बिगो मागदावीसहित सम्पत्ति शुद्दिकरण (मनी लाउण्डरिङ) मुद्दा लगाएको छ । बचतकर्ताको १ अर्ब ३३ करोड ९२ लाख ५० हजार रुपैयाँ अपचलन गरेको जाहेरीमा उल्लेख छ । त्यस बाहेक विभिन्न सहकारी संस्थाबाट ऋण लिएर नतिरेपछि उनको घरजग्गा लिलाम भएको छ । राष्ट्रिय सहकारी बैंकले सदरमुकामस्थित दुइवटा घर २२ करोड रुपैयाँमा लिलाम गरिसकेको छ भने बुर्तिवाङस्थित केही घरजग्गा अन्य बैंकले लिलामीको प्रक्रियामा लगेका थिए ।
५ सय ४५ जना बचतकर्ताले सहमति गरेपछि मुद्दा फिर्ता प्रक्रिया थालेर एक÷एक लाख रुपैयाँ सम्मका बचत फिर्ताको क्रम पनि चलेको थियो । उनीहरुले घरसारमा रकम पाएको सहमति गराएका छन् । ‘हर्नेस कम्पनी’बाट ऋण ल्याएर इमेज सहकारी पीडित संघर्ष समितिले १ लाख रुपैयाँभन्दा कम रकम बचत गरेकाहरुलाई फिर्ता गराएको समितिका पदाधिकारीले बताए । उक्त ऋण समेत तिर्ने बिषयमा पीडितहरु अन्यौलमा परेका छन् ।
शुद्विकरण मुद्दामा सहकारीका संचालकहरु लालमती रोका, चित्रबहादुर भण्डारी, डोरबहादुर परियार, फरार रहेका सुनिल नेपाली, कारागारमै रहेकी लक्ष्मी सेन, फरार रुपा बिक, फरार रहेका झगबहादुर शाही, फरार रहेका अनिल नेपालीसहित १८ जनालाई बिपक्षी बनाइएको छ । सम्पत्ति शुद्विकरण निवारण ऐन २०६४ को दफा १३ मा भएको व्यवस्था बमोजिम मुद्दा दर्ता गरिएको उल्लेख छ । मुद्दामा कसुरको मात्रा हेरेर २ वर्षदेखि १५ वर्ष कैद सजाए, र नेपालीको नामको ३३ कित्ता जग्गा समेत जफत गर्न मागदावी गरिएको छ ।





