बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले यतिबेला देश बिषम परिस्थितिबाट गुर्जिएको र देशीविदेशी शक्तीले बिभिन्न बहानामा देशलाई अस्थिरतामा धकल्ने र देश नै कब्जा गर्ने मनसायले लागि परेकोले आम नागरिकलाई सचेत रहन आव्हान गरेका छन् ।
सोमबार पर्वतको कुश्मा नगरपालिका वडा नं. १० वडा कार्यालय र पिपलटारी स्वास्थ्य चौकीको समन्वयमा आयोजित राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवाला बीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पाठकले देशमा लामो समयको संघर्ष र बलिदानबाट संविधान जारी गरी व्यवस्था स्थापित संगसंगै विकास र समृद्विको खाका कोरिरहेको अवस्थामा मुलकलाई फेरी अस्थिरतामा लैजाने खोजिएको बताए ।
पाठकले गत भदौ २३ गते जेन्जीहरुले भ्रष्ट्राचारविरुद्द र सुशासनको माग राखी गर्न खोजिएको आन्दोलन समय परिस्थिति अनुसार जायज भएपनि उक्त आन्दोलनलाई विभिन्न स्वार्थ समुहले घुसपैठ गरि कलिला विद्यार्थीहरुको हत्या संगसंगै देशका सबै सरकारी भौतिक संरचनाहरुमा तोडफोड आगजनी गरी व्यवस्था माथि नै प्रहार गर्न खोजिएको बिषय अत्यन्तै खतरनाक रहेकोले सबै राजनीतिक दल, आम नागरिक र सरोकारवाला सचेत बनि यो बिषम परिस्थितिबाट देशलाई जोगाइ सुनौलो र समृद्व नेपाल निर्माणमा लाग्नु पर्ने बताए ।

अन्तरक्रिया कार्यक्रममा सबै राजनीतिक दलका प्रतिनिधिहरुले वडाको विकासको लागि सबै दलहरु मिलेर नै काम गरेको र देशको हरेक बिषम परिस्थितिलाई सहि दिशा निर्देश गर्न एकजुट भएर अघि बढने साझा धारणा राखेका थिए । कार्यक्रमको अवसरमा मन्त्री पाठकले वडाको समग्र विकास निर्माण, वडाका समस्या र चुनौतीसंगै समाधानका उपायबारे सर्वपक्षिय छलफल पनि गरेका थिए ।
साथै, उनले पिपलटारी स्वास्थ्य चौकीको अनुगमन तथा निरीक्षण गर्दै स्वास्थ्य चौकीको वस्तुगत स्थिती, औषधि उपकरण र जनशक्तीको अवस्थासंगै सेवा प्रबाहको जानकारी लिदै आवश्यक स्वास्थ्य सामाग्री समेत हस्तान्तरण गरेका छन् ।
कार्यक्रम वडा अध्यक्ष रामचन्द्र सुवेदीको अध्यक्षता, पिपलटारी स्वास्थ्य चौकी इन्चार्ज रामबहादुर खडकाको सञ्चालन र वडा सचिव नारायण लामिछानेको स्वागतमा सम्पन्न भएको थियो ।





