आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

लोकमार्ग र बागलुङको बाटो पर्यटकको रोजाइमा पर्दै

लोकमार्ग र बागलुङको बाटो पर्यटकको रोजाइमा पर्दै

पछिल्लो चार बर्षमा जिल्लाभित्र आधा दर्जन ठूला होटल थपिएका छन् भने दर्जनौं मझौला होटल पनि बनेका छन् । ती होटल पनि स्तरीय बन्दै गएपछि पर्यटक भरिन थालेका छन् ।


  • ढोरपाटन संवाददाता
  • असोज २८ २०८२, मंगलबार

बागलुङ/दशैंमा समेत नभरिएको बागलुङ कालीका मन्दिरको मोटर पार्कीङ क्षेत्र आइतवार र सोमबार भरिभराउ छ । स्कारपियो गाडि देखि मोटरसाइकलले मुख्य सडक पनि भरिएको थियो । बागलुङ बजारका होटलमा पनि भरिभराउ पाहुना देखिएका छन् ।

यो अबस्था देखिन थालेको धेरै दिन भएको छैन । तर मौषम खुलेकोले कात्तिक महिनाभर पर्यटक आउने क्रम बढ्ने अनुमान लगाउन भने सकिने व्यवसायी बताउँछन् । ‘सोचे जस्तो पाहुना त आएका होइनन्, तर पाहुना आउने क्रम बढेको छ’ होटल व्यवसायी महासंघ गण्डकीका अध्यक्ष अर्जुन चोखालले भने, ‘असोजबाटै पर्यटकले भरिनुपर्ने होटल राजनीतिक घटनाक्रमले सुनसान थियो ।’ एकदुइ दिन भित्रको अबस्थाले केही आसा जगाएको उनले बताए ।

मध्यपहाडी लोकमार्गको बाटो भएर डोल्पाको शे फोक्सुण्डो ताल जान हिडेका युवाले बागलुङलाई बासस्थान बनाएपछि भने व्यवसायीमा उत्साह थपेको छ । छिटफुट रुपमा आएका पाहुनाहरु डोल्पा जान हिडेका छन्, बागलुङमा पनि बसेर गए’ एक होटल व्यवसायीले भने, ‘यो क्रम बढ्यो भने बागलुङकालागि सुखद पक्ष हो ।’ भदौ २३ र २४ को घटनाले आम पर्यटकले भ्रमण नगरेकोले सन्तुष्ट भैहालने अबस्था भने नआएको उनले बताए । ‘केही पर्यटक आए भनेर मख्ख पर्न त भएन, तर मध्यपहाडीबाट यात्रा गर्दा डोल्पाको शेफोक्शुण्डो र रारा ताल जान सहज भएको छ भन्ने सन्देश दिन सकियो भने त्यो राम्रो हुन्छ’ उनले भने, ‘पर्यटक बढेसँगै हामीले पुर्वाधार र सेवा पनि थप्नुपर्छ ।’ बागलुङ कालीकाले पनि बजार क्षेत्रमा पर्यटक बढाएको उनको भनाइ छ ।

गत साता नुवाकोटबाट आएका प्रकाश श्रेष्ठ र र साबित्री श्रेष्ठसहितको टोलीले बागलुङको बाटो लोकमार्ग हुँदै शेफोक्सुण्डो जाँदा फर्केर साथीलाइ पनि छोटो बाटोको जानकारी गराउने बताए । उनले तीनचार दिनको यात्रामा पुगिने आस गरेको डोल्पा दुइ दिनमा पुग्न सकेकोमा आश्चर्य समेत जनाए । अघिल्लो बर्ष पनि श्रेष्ठको टोली बागलुङ र मध्यपहाडीकै बाटो रारा ताल पुगेका थिए । मध्यपहाडी लोकमार्गले कर्णालीका जिल्ला छोएर सुदुरपश्चिम पुगेपछि रारा ताल सम्म पुग्नेले पनि यो मार्ग रोज्न थालेका छन् । राजधानी देखि चितवन, हेटौडा सहित पुर्वका पर्यटकहरुले पश्चिम यात्रा गर्दा मध्यपहाडी लोकमार्गलाई रोज्न थालेका छन् । सार्वजनिक बसको यात्रा गर्नेले समेत बागलुङ हुदै मध्यपहाडीको बाटो रुकुम र जाजरकोट जाने गरेका हुन् । मुक्तिनाथ जाने तथा उपल्लो मुस्ताङ हिडेका यात्रीले समेत बागलुङलाई एक रातको बसँइमा जोड्न थालेका छन् ।

बागलुङ पर्यटन बिकास समितिले पनि ‘मुस्ताङको गेट’ भन्दै बागलुङबाट जिप र बसको सवारी सहजै पाउने व्यवस्थापन गराएपछि पर्यटकहरु आउने गरेका हुन् । बागलुङ बजार सम्म सार्वजनिक यातायातमा आइपुगेकाहरुले पनि ढोरपाटन, मुस्ताङ र कर्णालीका धेरै स्थानको भ्रमणमा बागलुङलाई प्रस्थान बिन्दुको रुपमा लिन थालेको बताए । कतिपय होटलले ती स्थान सम्मको नक्सा समेत लेखेर राखिदिएका छन् ।

पर्यटक आउने क्रम बढ्दा बागलुङ बजार, गलकोट र बुर्तिवाङसम्म दर्जनौ होटल समेत थपिइरहेका छन् । पछिल्लो चार बर्षमा जिल्लाभित्र आधा दर्जन ठूला होटल थपिएका छन् भने दर्जनौं मझौला होटल पनि बनेका छन् । ती होटल पनि स्तरीय बन्दै गएपछि पर्यटक भरिन थालेका छन् । समूहमा आएका देखि छिटफुट आउने झण्डै ३ हजार पर्यटक बागलुङ बजारमै सहजै राख्न सकिने होटल संघ बागलुङका अध्यक्ष निलेस राजभण्डारी बताउँछन् । व्यवसायी चोखालले आम नागरिकमा घुम्ने संस्कृतिको बिकास भएकोले बागलुङ पर्यटकहरुको ट्रान्जिट बन्दै गएको बताए ।

ढोरपाटन र बुकी घुम्ने पनि बढेका छन् । उनीहरुले पनि बागलुङ बजारलाई पहिलो गन्तव्य बनाउन थालेका हुन् । ढोरपाटन सदरमुकाम बागलुङ बजारदेखि १ सय २६ किमी पश्चिममा पर्छ । ढोरपाटन सिकार आरक्षको तथ्यांक अनुसार गतबर्ष १८ हजार पर्यटक गएकोमा यो बर्ष गत असार साउनमै ३० हजारले घुमेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->