पर्वत/भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले पशु विकास तथा दूध उत्पादनमा कृषकहरूलाई प्रोत्साहन गर्न ८० लाख रुपैयाँ अनुदान वितरण गर्ने भएको छ ।
निमित्त केन्द्र प्रमुख तथा पशु विकास अधिकृत रामकृष्ण सुवेदीका अनुसार विभिन्न छ प्रकारका कार्यक्रमहरूको लागि उक्त अनुदान रकम उपलब्ध गराउने तयारी कार्यालयले गरिरहेको छ । आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषक, फर्म, कम्पनी, समूह, समिति वा सहकारी संस्थाहरूलाई उक्त अनुदान रकम उपलब्ध गराइने छ ।
बृहत्तर पशु विकास प्रवद्र्धन कार्यक्रम अन्तर्गत गाई भैँसी, भेडा बाख्रा, बङ्गुर, माछा र कुखुरा पालिरहेका कृषक वा फर्म दुई वटालाई अधिकतम ९० प्रतिशत अनुदान दिने गरी २० लाख रुपैयाँ वितरण गरिने पशु विकास अधिकृत सुवेदीले बताए । कृषक समूह, समिति वा सहकारीमार्फत प्राप्त गर्न सकिने अनुदान प्राप्त गर्नको लागि कम्तीमा ५० ओटा माउ पालन गरिरहेको तथा कम्तीमा दैनिक दुई सय लिटर दूध उत्पादन गरिरहेको हुनुपर्ने छ । यदि भेडा बाख्रा पालेको भएमा दुई सय ५० ओटा, बङ्गुर पालेको भएमा ५० ओटा ब्रिडर माउ वा एक सय ओटा फ्याटनर बङ्गुर, ग्रामीण कुखुराको हकमा कम्तीमा पाँच सय ओटा, हाँस भए तीन सय ओटा तथा माछा पालन भएमा कम्तीमा २० रोपनी क्षेत्रफल र रेन्बोट्राउटको लागि कम्तीमा एक हजार वर्ग मिटर क्षेत्रफलको जलाशय हुनुपर्ने सर्त राखिएको छ ।
दूध उत्पादनका आधारमा प्रोत्साहन सहयोग अन्तर्गत चार पटकका लागि ३० लाख रुपैयाँ अनुदान उपलब्ध कार्यालयले गराउने छ। यो अनुदानअन्तर्गत प्रति लिटर अधिकतम पाँच रुपैयाँका दरले पाइने छ । आवेदक दुग्ध उत्पादनसँग सम्बन्धित सहकारी संस्था हुनुपर्ने, दैनिक कम्तीमा दुई सय लिटर र वार्षिक कम्तीमा दुई सय दिन दूधको कारोबार गरेको हुनुपर्ने भनिएको छ ।
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपक्षी तथा मत्स्य उत्पादन तथा प्रवद्र्धन कार्यक्रम अन्तर्गत दुई वटालाई अधिकतम ९० प्रतिशत अनुदान हुने गरी २० लाख रुपैयाँ दिने कार्यालयको तयारी छ । कृषक समूह, समिति वा सहकारीले पाउने यो अनुदान प्राप्त गर्नको लागि गाई भैँसीको हकमा कम्तीमा ५० ओटा माउ पालन गरेको र कम्तीमा दैनिक दुई सय लिटर दूध उत्पादन गर्ने गरेको, भेडा बाख्राको हकमा कम्तीमा दुई सय ५० ओटा पालन गरेको, बङ्गुरको हकमा कम्तीमा ५० ओटा ब्रिडर माउ वा एक सय ओटा फ्याटनर भएको हुनुपर्ने छ । ग्रामीण क्षेत्रमा कम्तीमा पाँच सय ओटा कुखुरा पालेको, तीन सय ओटा हाँस पालेको वा माछाको हकमा कम्तीमा २० रोपनी क्षेत्रफल र रेन्बोट्राउटको लागि कम्तीमा एक हजार वर्ग मिटर क्षेत्रफलको जलाशय हुने गरी पालन गरेको भएमा पनि यो अनुदान पाउन सकिने छ । तर यो अनुदान प्राप्त गर्नको लागि कालीगण्डकी कोरिडोरमा पर्ने स्थानीय तह हुनुपर्ने सर्त केन्द्रले राखेको छ ।
यस्तै फार्म तथा पशुजन्य व्यवसायमा यान्त्रीकरण सहयोग कार्यक्रम अन्तर्गत एक पटकका लागि कृषकको २५ प्रतिशत लागत साझेदारी रहने गरी सात लाख रुपैयाँ अनुदान उपलब्ध हुने छ । कृषि ऋणमा ब्याज अनुदान कार्यक्रमको निरन्तरता अन्तर्गत एक पटकको लागि ब्याजमा पाँच प्रतिशत अनुदान दिने गरी डेढ लाख रुपैयाँ दिइने छ ।
डेरी पसल, मासु पसल, बधस्थल निर्माण तथा सुधारको लागि छ ओटा पसलहरूलाई ५० प्रतिशत लागत साझेदारीमा तीन लाख रुपैयाँ लगानी केन्द्रले गर्ने छ । फर्म, समूह, समिति वा सहकारी संस्थाले यो अनुदान पाउनको लागि माछा मासु तथा डेरी पसल कम्तीमा ८० वर्ग फिट क्षेत्रफलमा सञ्चालन गरेको हुनुपर्ने, विगत एक वर्षदेखि माछा मासु वा डेरी पसल सञ्चालन गरिरहेको हुनुपर्ने भनिएको छ ।





