बागलुङ / जिल्लाको दक्षिणमा रहेको जैमिनी नगरपालिकाको केन्द्र कुश्मीसेरादेखि पर्वतको फलेबास, कार्कीनेटा, जुग्ले हुँदै पोखरासम्म बस सेवा संचालनमा आएको छ । नगर उपप्रमुख हरिहर शर्मा, यातायात प्रालिका पदाधिकारी, व्यवसायी लगायतको उपस्थितिमा बिहीबार बिहानबाट बस सेवा सञ्चालनको शुभारम्भ गरिएको छ ।
जैमिनी नगरपालिकाको पहल र पृथ्वी राजमार्ग बस संचालन प्रालि पोखरा र स्याङ्जा गण्डकी बस संचालन प्रालिसँगको समन्वयमा बस सेवा संचालनमा ल्याइएको नगर उपप्रमुख शर्माले बताए ।
कुश्मीसेरादेखि पोखराका लागि हरेक बिहान ७ बजे र पोखरा, नागढुंगाबाट कुश्मीसेराका लागि दिउँसो ११ बजे बस छुट्नेछ । बसको एकतर्फी भाडा रू. ५ सय ५० तोकिएको छ । वस सेवा सञ्चालनको शुभारम्भ गर्दै उपप्रमुख शर्माले कुश्मीसेरा पोखरा बस सेवा संचालनमा आएसँगै दक्षिण बागलुङका नागरिकलाई प्रदेश राजधानी पोखरा आउजाउ गर्न सहज हुने बताए ।
‘अब यो सेवालाई निरन्तर रूपमा संचालन गर्नपर्छ, सडकको स्तर सुधारका लागि नगरपालिकाले पनि सक्दो पहल गर्छ’, शर्माले भने, ‘यो हाम्रा पुर्खाले हिंडेरै नुनतेल बोकेको ऐतिहासिक मार्ग हो, अहिले मोटर गुड्ने भयो, यो खुसीको कुरा हो ।’
यसअघि जैमिनी र बरेङ क्षेत्रका सर्वसाधारण पोखरा जान मालढुंगा हुँदै पोखरा-बागलुङ राजमार्ग प्रयोग गर्दै आएका थिए । कुश्मीसेरा पोखरा जोड्ने वैकल्पिक सडक संचालनमा आएपछि स्थानीयलाई यातायात सेवा र सामान ढुवानीमा सहजता हुनेछ ।





