रुपन्देही / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले माग गरेकामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले लामिछाने र सहअभियुक्त छविलाल जोशी दुवैको फाइल एकैसाथ पेस गर्न आदेश दिएको छ । सुप्रिम सहकारी ठगी मुद्दामा बिगो बमोजिमको रकम बुझाएर थुनामुक्त रहँदै पुर्पक्षका लागि मुद्दा लड्न लामिछानेले निवदेन दिएका थिए ।
यसअघि उच्च अदालत बुटवलले लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेश दिएको थियो । बिहीबार न्यायाधीश मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासमा परेको लामिछानेको मुद्दामा सुनुवाइपछि अदालतले जोशीको मुद्दासमेत एउटै प्रकृतिको भएकाले दुवै फाइल एकसाथ राख्न आदेश गरेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले बताए ।
जोशीले पनि बिगोअनुसारको रकम बुझाएर कारागारबाहिरै रहेर पुर्पक्षका लागि माग गरेकोमा जिल्ला अदालतले अस्वीकार गरेपछि उच्च अदालतमा निवेदन दिएका थिए । यसअघि लामिछानेको माग पनि जिल्ला अदालत रुपन्देहीले अस्वीकार गरेको थियो ।
सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेले सहकारीमा देखिएको अपचलनमा आफूको भागबराबरको बिगो रकम दाखिला गरी रिहा गर्न माग गरेका थिए । उनले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानतसहित निवेदन पेस गरेका थिए । तर जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उक्त माग अस्वीकार गरेको थियो ।
लामिछानेले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ ।
लामिछाने र जोशी दुवैले समान रकमको जमानत पेस गरे पनि उनीहरूको व्यक्तिगत हिस्सामा कति बिगो पर्ने भन्ने स्पष्ट नभएकाले अदालतले रिहा गर्न नमिल्ने आदेश गरेको थियो ।
जेनजी आन्दोलनका क्रममा उच्च अदालत बुटवल परिसरमा आगजनी र तोडफोड हुँदा पनि लामिछाने र जोशी दुवैको मुद्दा समावेश फाइल सुरक्षित रहेका थिए । सूचना अधिकारी कुँवरका अनुसार अदालतले दुवै फाइल एकै इजलासमा पेस गर्न आदेश दिएपछि अब एउटै इजलासमा सुनुवाइ हुनेछ ।
बुटवलकै आदेशमा लामिछाने थुनामा गएका हुन् । उनलाई सुरुमा भैरहवा कारागारमा राखिएपनि केही समयअघि ललितपुरको नख्खु कारागारमा सारिएको छ भने जोशी भैरहवा कारागारमै छन् ।
जेनजी आन्दोलनमा उच्च अदालत बुटवलमा पनि आगलागी भएको थियो तर यी दुवैका फाइल सुरक्षित रहेको कुँवरले जनाएका छन् । ‘अन्यत्रको थाहा भएन, यहाँ उहाँहरुको फाइल सुरक्षित छ, आगलागीबाट अरु त धेरै फाइल जलेका छन्’, उनले भने । आज यो आदेश आएपछि अब केही दिनमा पेशी चढ्ने छ तर लगत्तै तिहार बिदा भएकाले त्यसपछि नै हुनसक्ने आंकलन गरिएको छ ।





