पोखरा/पर्यटकीय राजधानी पोखराको लेकसाइडले मात्रै अब पर्यटन क्षेत्र धान्न नसक्ने देखिएको छ । पोखरा पर्यटन परिषदको २५ औं वार्षिक साधारण सभाको उद्घाटन सत्रमा बोल्दै वक्ताहरुले लेकसाइड केन्द्रित मात्रै भएर अबको पर्यटन प्रबद्र्धन नहुने बताएका छन् ।
पर्यटनविद् सुवास मल्लले पोखराले खाली प्रचार मात्रै गर्दै आइरहेको तर, उत्पादनमा जोड नदिएकाले प्रर्बद्धन हुन नसक्ने बताए । उनले हेर्दा सामान्य लागेपनि पोखरामा पर्यटकका लागि सार्वजानिक शौचालय समेत नहुनु लज्जास्पद विषय रहेको सुनाए । एक कार्यपत्र प्रस्तुत गर्दै उनले भावी योजना र रणनीति बारेमा स्पष्ट पारेका थिए ।
पोखरा भनेकै लेकसाइड मात्रै भन्ने मानसिकतालाई चिर्दै पोखरामात्र नभइ यसका आसपासका क्षेत्रलाई समेटेर अघि बढ्न सकेमा पर्यटन आगमनमा वृद्धिसंगै पर्यटकको बसाई लम्बिने उनको भनाइ थियो । ‘पोखराले उत्पादन तयार गरेको छैन तर प्रोमोसन मात्रै गरिरहन्छ यसले कसरी हुन्छ ? सार्वजनिक शौचालय सामान्य लाग्ला तर, के पर्यटकका लागि छ त? हामी आफैले मनन गरौं’ उनले भने, ‘यहाँ त ट्याक्सीको पनि समस्या छ । अब भनेको आन्तरिक क्षमता अभिवृद्दी गर्न तर्फ लाग्नुपर्छ । लेकसाइडले मात्र अबको टुरिजम धान्न सक्दैन ।
लेकसाइड बाहिर गई थिमवेस होमस्टे, रिसोर्ट बनाउनु पर्छ ।’ परिषदका संस्थापक अध्यक्ष अशोक पालिखेले पोखराको पर्यटनलाई फेवाताल र हिमाल बेच्ने सीमित दृष्टिकोणबाट बाहिर निकाल्नुपर्ने बताए । उनले भने ‘अब हामीले लेखनाथदेखि घान्द्रुक, सिक्लेस र खुमाई डाँडा, मर्दी हिमाल लगायत क्षेत्रलाई समेत जोडेर नयाँ प्रोडक्ट विकास गर्नुपर्छ, यही बाटोबाट दिगो पर्यटन सम्भव हुन्छ ।’
जेनजी आन्दोलनका कारण पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रभावबारे चिन्ता व्यक्त गर्दै आन्दोलनको नाममा नाजायज फाइदा उठाउनेहरूलाई कारबाही गर्न माग गरे । पालिखेले व्यवसायिक कर तिर्न चाहने व्यवसायीहरूलाई अनावश्यक कागजी झन्झटमा पार्ने प्रवृत्ति तत्काल अन्त्य गर्न आग्रह गरे ।
पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपीबहादुर भट्टराईले अब आफ्नो दुई महिना समय रहेकोले यस समयमा देशको अबस्थाले गर्दा पर्यटन प्रबद्र्धनमा केही कठिनाई भएको बताए । सरकारसँगको समन्वयमा केही कामहरु गर्न कठिनाइ रहेको उल्लेख गर्दै उनले विनियोजित बजेट समयमा खर्च गर्न नसक्दा योजना प्रभावित भएको गुनासो पोखे । उनले लेकसाइड क्षेत्रमा करिब ८ देखि १० लाख रुपैयाँ लागतमा सिसी क्यामरा जडान गरिएको जानकारी दिँदै, पर्यटक सुरक्षाका लागि सबै व्यवसायीहरू सचेत रहन आग्रह गरे ।
पूर्व अध्यक्ष डम्बरबहादुर केसीले माउन्टेन टुरिजमलाई विश्व बजारमा संरक्षण सहित प्रचार गर्नुपर्नेमा जोड दिएका थिए । गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयकी महाशाखा प्रमुख हेमा पोखरेलले सबै पक्ष एक भएर कार्ययोजना अगाडि बढाउनुपर्ने सुनाइन् । नेपाल पर्यटन बोर्ड गण्डकीका वरिष्ठ अधिकृत सागर श्रेष्ठले सामाजिक सञ्जाललाई सकारात्मक ढंगले प्रयोग गरी पोखराको पर्यटन सुरक्षित रहेको सन्देश विश्व बजारमा व्यापक बनाउन सुझाव दिए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, पर्यटन विज्ञ सुवास मल्ल, परिषदका प्रथम उपाध्यक्ष हरिबहादुर भुजेल र महासचिव जीवनराज सापकोटाले वेलनेस टुरिजम र आन्तरिक पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए ।





