पोखरा/पोखरा महानगरपालिका वडा नम्बर १३ स्थित कालिका पशुपालन फार्ममा सूर्यराजलाई यतिबेला भ्याइ नभ्याइ छ । चाडपर्वको चटारो त्यसमा पनि पशुपालनले उनकै दैनिकी निकै व्यस्त बनाएको छ । पोखरा १३ उदगमटोलका ३७ वर्षीय सूर्यराज तिमिल्सिना पछिल्ला वर्षहरूमा कृषिक्षेत्रमा सफल उद्यमीका रूपमा चिनिदै आएका छन् । तरकारी र गाईपालन व्यवसायसंगै उनले केही बर्ष देखि तिहार लक्षित सयपत्री फूल खेती समेत गर्दै आइरहेका छन् ।
कालिका पशुपालन फार्ममार्फत उनले यस वर्ष फूल बिक्रीबाट मात्र दुई लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएका छन् । पोखरा महानगरपालिकाले तिहारको फूल उत्पादनमा अनुदान दिएपछि उनले तरकारी खेतीसँगै फूल खेती पनि गर्न थालेका हुन् । बिषेश गरी तरकारी लगाई बाँकी रहेको जग्गामा तथा खोलाको डिल भागमा जमिनको सदुपयोग गर्दै सयपत्री फुल खेती गरेको तिमिल्सिना सुनाउछन् ।
पछिल्ला आठ वर्षदेखि तरकारी खेती र १५ वर्षदेखि गाईपालन गर्दै आएका तिमिल्सिनाले यो सिजनमा करिब २२ रोपनी जग्गा भाडामा लिएर व्यवसायिक रूपमा खेती गरेका छन् । अहिले उनको फार्ममा काउली, बन्दा, टमाटर, साग, सिमी, ब्रोकोली र सयपत्री फूल फुलेका छन् ।
तिमिल्सिनाको फार्ममा १८ वटा गाई छन्, जस मध्ये १४ वटाले दैनिक १०० लिटर भन्दा बढी दूध उत्पादन हुन्छ । दूधका साथै आफ्नै उत्पादनका फलफूल र तरकारीहरू शान्ति वन वाटिकास्थित व्यवसायिक स्टलबाट बिक्री गर्दै आएका छन् ।
साउदी अरब र मलेसियामा सात वर्ष काम गरी तिमिल्सिना स्वदेश फर्किएपछि आफ्नी श्रीमती, दुई छोरी, आमा–बुबा र दाजु–भाउजु सहितको १० जनाको परिवारलाई स्थानीय स्तरमै रोजगारमूलक बनाएका छन् । अन्य चार जनालाई प्रत्यक्ष रोजगार दिदैँ आएका तिमिल्सिनाले स्थायी संरचना बनाउन नपाउँदा अस्थायी बाँसका टनेल प्रयोग गर्दा बारम्बार हावा र हुरीले क्षति पु¥याउने समस्या भोग्नु परेको गुनासो गर्छन् ।
‘यदि हामीजस्ता किसानलाई १० वर्षसम्मको स्थायी जग्गा भाडामा दिने व्यवस्था मिलाइयो भने अझ आत्मविश्वासका साथ लगानी गर्न सकिन्छ,’ तिमिल्सिनाले भने । फूल खेतीतर्फको नयाँ प्रयासले तिमिल्सिना मात्र होइन, स्थानीय किसानहरूलाई समेत प्रेरित बनाएको छ । महानगरको अनुदानका कारण किसानहरू तिहारका लागि घरेलु फूल उत्पादनमा उत्साहित भएका हुन् ।
सयपत्री फूल पोखरामै उत्पादन हुने र यहाँको बजार थाम्न सकिने भएपनि भारतबाट आयात हुँदै आइरहेकाले आफुले सयपत्री खेती गरेको उनले सुनाए । ‘हरेक कुरा भारतबाटै आउने गर्दछ । हाम्रै गाउँ ठाउँमा उत्पादन हुने सयपत्री पनि भारतबाटै आउने गरेको छ त्यसलाई निरुत्साहित गर्दै हामीले नै उत्पादन गर्नुपर्छ भन्ने लागेर पनि सयपत्री खेती गरे’ उनले थपे, ‘यसले मुनाफा पनि दिएको छ । सिजनको बेला भएकाले यसपाली राम्रै आम्दानी हुन्छ की भन्ने विश्वास पनि लिएका छौं ।’
उता पोखरा महानगरपालिकाकाले विगत केही बर्षदेखि फुल उत्पादनमा अनुदान दिएसंगै स्थानिय रुपमा फुल उत्पादन हुन थालेको महानगरका आर्थिक बिकास महाशाखा प्रमुख मनोहर कडरियाले बताउछन् । यस बर्ष पोखरा महानगरले फुल बिक्रि गर्न विभिन्न ठाँउमा बिक्रि केन्द्र समेत तोक्ने भएको बताउदै उनले फुलको समेत मुल्य निर्धारण गरिएको सुनाए । स्थानिय फुललाई प्रथामिकता दिन आग्रह गर्दै कडरियाले पछिल्लो बर्ष देखि स्वदेशी फुलले पोखराको बजार धान्न थालेको दाबी गरे ।





