बागलुङ बजारमा देउसीभैलो कार्यक्रममा नृत्यु प्रस्तुत गर्दे कलाकारहरु । तस्बिर : ढोरपाटन
पर्वत/जिल्ला प्रहरी कार्यालय पर्वतले तिहारको समयमा हुन सक्ने अपराधलाई ध्यानमा राखेर राती नौ बजेपछि देउसीभैलो लगायतका मनोरञ्जनात्मक कार्यक्रमहरू नगर्न अनुरोध गरेको छ ।
चाडपर्वको समयमा हुन सक्ने चोरी, डकैती लगायत अन्य आपराधिक गतिविधि नियन्त्रण गरी सुरक्षित, मर्यादित र अनुशासित भई रमाइलोका साथ चाडपर्व मनाउनका लागि प्रहरीले १० बुँदे अनुरोध जारी गरेको छ । जसमा जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी देउसी, भैलो, नाचगान लगायतका सांस्कृतिक क्रियाकलापहरू राति नौ बजेभित्रमा नै शान्तिपूर्वक रूपमा सञ्चालन गरिसक्नुपर्ने लगायत रहेका छन् ।
चाडबाडको बेलामा हुन सक्ने सुरक्षा चुनौतीलाई व्यवस्थापन गर्न सर्वसाधारणले पनि विभिन्न सावधानीहरू अपनाउनुपर्ने प्रहरीले बताएको छ । जसमा चाडबाडलाई अपराधरहित बनाई हर्षोल्लासपूर्वक मनाउन आफ्नो घर र समुदायमा कुनै अवाञ्छित गतिविधि देखिएमा तत्कालै १०० मा प्रहरीलाई खबर गर्ने, रातको समयमा घरको ढोका खुला छाडी नसुत्ने र घरमा ताल्चा तथा छेस्किनी बलियो तथा सुरक्षित बनाउने, जुवातास, कौडा, लङ्गुर बुर्जा लगायतका जुवाजन्य खेल नखेल्ने भनिएको छ ।
यस्तै, यात्रा गर्ने क्रममा कुनै पनि अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, अखाद्य रङ्ग मिलाइएका मिठाई, झिलिङ्गा रोटी जस्ता अस्वस्थ र गुणस्तरहीन खाद्यपदार्थहरूको विक्री वितरण र उपभोग नगर्न, मादक पदार्थ सेवन गरी हो–हल्ला, झै–झगडा, उश्रृङ्खल तथा अवाञ्छित क्रियाकलाप नगर्न प्रहरीले अनुरोध गरेको छ ।
पसल, बैक वित्तीय संस्थाहरू चोरको निशानामा रहने हुँदा प्राइभेट सुरक्षा गार्ड, सिसिटिभी वा अलारामको व्यवस्था मिलाउन, पटाका, भुईचम्पा, आतसबाजी लगायतका विस्फोटक पदार्थले मानवीय, भौतिक एवं वातावरणीय क्षति पुग्ने भएकोले त्यसको प्रयोग नगर्न तथा आफ्नो टोल छिमेकमा रहेका खराब आचरण भएका व्यक्ति तथा शङ्कास्पद व्यक्ति र उनीहरूको गतिविधि बारे तुरुन्त नजिकको प्रहरीलाई सूचना दिन प्रहरीले जिल्लावासीमा आह्वान गरेको छ ।
आफ्नो समुदायमा कोही पनि शङ्कास्पद देखिएमा उनीहरूबारे प्रहरीलाई खबर गरेको व्यक्तिका सबै विवरणहरू गोप्य राखिने भएकोले आफ्नो समुदायलाई सुरक्षित राख्नको लागि हरेक व्यक्तिको भूमिका महत्त्वपूर्ण हुने बताएको छ ।





