बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

एकैदिन ४ सय ६८ किलो सयपत्री बिक्री भएपछि किसान खुसी

एकैदिन ४ सय ६८ किलो सयपत्री बिक्री भएपछि किसान खुसी

‘पहिलो वर्षमै उत्पादन भएका सबै फूल बिक्री हुँदा खुसी छौँ। बजार पाउँदैन कि भन्ने चिन्ता हट्यो।’


  • ढोरपाटन संवाददाता
  • कार्तिक ४ २०८२, मंगलबार

दमौली / तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लेश्वराबाट एकैदिन चार सय ६८ किलो सयपत्री फूल बिक्री भएको छ। यहाँका चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक कृषक समूहले सोमबार एकैदिन चार सय ६८ किलो सयपत्री फूल बिक्री गरेका हुन्।

पोखराको व्यापारीलाई रु तीन सयका दरले फूल बिक्री गरिएको समूहका सचिव महेन्द्रराज रानाले जानकारी दिए। उनले भने, ‘दुई ठाउँमा गरी छ रोपनी क्षेत्रफलमा पहिलो वर्ष सयपत्री फूल लगाएका थियौँ। एक ठाउँबाट एक सय ६८ र अर्को ठाउँबाट तीन सय ६८ किलो फूल बिक्री भएको छ।’

पहिलो वर्ष फूलखेती गरेका किसान बजार पाएपछि खुसी छन्। अझै पनि फूलको माग आइरहेको तर आफूहरूसँग फूल नरहेको उनले बताए। उनले भने, ‘पहिलो वर्षमै उत्पादन भएका सबै फूल बिक्री हुँदा खुसी छौँ। बजार पाउँदैन कि भन्ने चिन्ता हट्यो।’ फुटकर रूपमा फूलको माग आए पनि फूल दिन सक्ने अवस्था नरहेको उनले बताए।

समूह अध्यक्ष जितमाया रानाले बजार नपाएर श्रम खेर जाने हो कि भन्ने चिन्ताका बीच फूल लगाउन सुरु गरे पनि बजार पाएपछि आफूहरूमा हौँसला प्राप्त भएको बताइन्। पहिलो वर्षमै बजारको सुनिश्चितता भएपछि आगामी वर्ष झनै क्षेत्रफल विस्तार गर्ने सोच बनाएको उनको भनाइ छ।

फूल फुलेपछि कहाँ लैजाने भन्ने चिन्ता भए पनि बजारको समस्या नभएपछि अहिले मन पनि खुसीले फुलेको उनले सुनाइन्। उनका अनुसार छ रोपनी जग्गा भाडामा लिएर छ हजारभन्दा बढी बेर्ना रोपिएको थियो। यसअघि काक्रा, घिरौला, बोडी, मास, करेला, खुर्सानीखेती गरिरहेका किसानले यस वर्ष भने सयपत्री फूलखेती गरेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->