पोखरा / गण्डकी प्रदेशको राजधानी पोखरा अब सयपत्री र मखमली फूलमा आत्मनिर्भर बन्दै गएको छ। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले सयपत्री फुलमा अनुदान दिनुका साथै फूलको खरिद–बिक्रीमा समेत व्यवस्थापन गरेपछि व्यवसायीहरु बढेका छन । व्यवसायी बढेसंगै पोखरा फुलमा आत्मनिर्भर बन्न थालेको छ ।
यसबर्ष महानगरले किसान बजारमार्फत फूल बिक्रीको व्यवस्था गर्दै २५ ठाउँ तोकेको छ, जसबाट किसानले आफ्नै उत्पादन सिधै उपभोक्तासम्म पुर्याउन सकेका छन्।
यस वर्ष पोखराका किसानहरूले करिब ३ लाख माला पुग्ने सयपत्री र मखमली फूल उत्पादन गरेका छन्। हाल ४० जना व्यावसायिक किसान फूल खेतीमा संलग्न छन्। फूल खेतीमा प्रोत्साहित गर्न थप ३ सय किसानलाई अनुदान प्रदान गरिएको छ।
पोखरा महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरियाका अनुसार बिउ, मल र मल्चिङ प्लास्टिकका लागि गरी ७ लाख ५० हजार रुपैयाँ बराबरको अनुदान वितरण गरिएको छ।
यस वर्ष पोखरामा ३ सय रोपनी जग्गामा सयपत्री फूल खेती गरिएको छ, जसमा १ सय ५० रोपनीमा महानगरको प्रत्यक्ष अनुदान छ। फूल खेतीका लागि वडा नम्बर १३, १४, २६ र ३३ प्रमुख उत्पादन क्षेत्रका रूपमा चिनिएका छन्।
फूलको कारोबार यस वर्ष ३ देखि ४ करोड रुपैयाँसम्म हुने अनुमान गरिएको छ। महानगरले तोकेको मूल्यअनुसार थुँगाको मूल्य २ देखि ५, मालाको १०० देखि १५० र प्रतिकिलो ३ सयदेखि ४ सय रुपैयाँसम्म निर्धारण गरिएको छ।
महानगरपालिकाले यस वर्ष प्लास्टिकका फूल र माला बिक्रीमा प्रतिबन्ध लगाएको छ। किसानको फूल बिक्री नभएमा महानगरले प्रति किलो ८० रुपैयाँ दरले फूल खरिद गर्ने व्यवस्था पनि गरेको छ।





