बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

१५ महिनामा सक्ने गरी कालीगण्डकी नदीमाथि ४ सय १५ मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु

१५ महिनामा सक्ने गरी कालीगण्डकी नदीमाथि ४ सय १५ मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु

लामा र अग्ला झोलुङ्गे पुलहरूको जिल्लाको लोकप्रियता पाएको पर्वतलाई नयाँ निर्माण हुन लागेको पुलले पर्यटन प्रवद्र्धन, कुश्मा र नारायणस्थान तथा आसपासको क्षेत्रसँगको व्यापार, दुई जिल्लाका बासिन्दाहरूलाई यात्रामा सहज बनाउने लगायतका फाइदा पुग्नेछन् ।


  • संजय रेग्मी
  • कार्तिक ६ २०८२, बिहिबार

पर्वत/जिल्लाको कुश्मा नगरपालिका–५ गुम्बाको डिल र बागलुङको बागलुङ नगरपालिका–१४ नारायणस्थान जोड्ने गरी चार सय १५ मिटर लामो झोलुङ्गे पुल निर्माण कार्य सुरु भएको छ ।

यसअगाडि कुश्मा आसपासको क्षेत्रमा कालीगण्डकी नदीमाथि तीन वटा लामा र अग्ला, एउटा बन्जी जम्पको पुल निर्माण भइसकेको कालीगण्डकीको खोँचमा पाँचौँ अग्लो र लामो झोलुङ्गे निर्माण सुरु भएको हो । कुश्मा नै जोड्ने गरी यसअघि नै मोदी खोलामा दुई वटा उस्तै लामा र अग्ला झोलुङ्गे पुल निर्माण भइसकेका छन् । अहिले पुल निर्माण हुन लागेको सबैभन्दा नजिकमा केबलकार शैलीको दुई वटा डिब्बा रहेको यान्त्रिक पुल समेत सञ्चालनमा रहेको छ । त्यसैको केही मिटरको दूरीमा नेपालकै साहसिक पर्यटनको क्षेत्रमा विकास भएको ‘द क्लिफ’ रिसोर्ट र त्यसैबाट सञ्चालित ‘बन्जी जम्प’ पुलले पनि कुश्मा र बलेवा क्षेत्रलाई जोडेको छ ।

झोलुङ्गे पुलको जिल्लाको रूपमा बागलुङ जिल्ला चिनिए पनि लामा र नदीको सतहबाट अग्ला दूरीमा रहेका झोलुङ्गे पुल हेर्नको लागि पर्वतमा भित्रिने पर्यटकहरूको सङ्ख्या बढ्दै गइरहेको छ । ती झोलुङ्गे पुलहरूमा ‘मोटरसाइकल’ चलाएर वारपार गर्दै साहसिक यात्रा संस्मरणका लागि पनि पर्यटकहरु आउने गरेका छन् । लामा र अग्ला झोलुङ्गे पुलहरूको जिल्लाको लोकप्रियता पाएको पर्वतलाई नयाँ निर्माण हुन लागेको पुलले पर्यटन प्रवद्र्धन, कुश्मा र नारायणस्थान तथा आसपासको क्षेत्रसँगको व्यापार, दुई जिल्लाका बासिन्दाहरूलाई यात्रामा सहज बनाउने लगायतका फाइदा पुग्नेछन् ।

पर्वत सदरमुकाम कुश्मा बजारको एक छेउबाट बहने कालीगण्डकी नदीमाथि यसअघि नै कैया–शिर्सुवा झोलुङ्गे पुल, कुश्मा–कैया झोलुङ्गे पुल, कुश्मा–बलेवा यान्त्रिक पुल, कुश्मा–बलेवा बन्जी पुल र पाङ–अदुवाबारी झोलुङ्गे पुल सञ्चालनमा छन् । अर्को छेउ भएर बहने मोदी खोलामाथि कुश्मा–ज्ञादी, खरेहा–ज्ञादी र कुश्मा–शिर्सुवा झोलुङ्गे पुलले पर्यटन र यात्रामा सहज बनाइरहेका छन् । कुश्मा–बलेवा जोड्ने गरी यसअगाडि निर्माण भएका झोलुङ्गे पुलहरू वन र गाउँ क्षेत्रमा रहेका भए पनि अहिले निर्माण भइरहेको पुल भने कुश्माको मध्य भागमा जोडिँदै छ ।

पुल निर्माणका लागि निर्माण कम्पनीले गत भदौमा प्रारम्भिक अध्ययनको काम पूरा गरेर पछिल्ला केही दिन यता पुलका लागि आधारभूत संरचना निर्माण लागि जमिन खन्ने काम गरिरहेको छ । नारायणस्थानका वडाध्यक्ष चक्रबहादुर खत्रीका अनुसार आगामी २०८३ पुस मसान्तसम्ममा पुलको निर्माण सक्ने गरी स्याङ्जाको जय नेपाल ईश्वर निर्माण सेवा प्रा.लि.ले गत असारमा नै ठेक्का सम्झौता गरिसकेको छ ।

सङ्घीय सरकारबाट विनियोजन भएको पाँच करोड २६ लाख ८० हजार रुपैयाँको लागतमा उक्त पुल निर्माण हुने छ । बागलुङको बलेवा, कैया, पैयुँपाटा तथा पर्वतको कुश्मातर्फको क्षेत्रफल ठुलो क्षेत्रफलमा रहेको र यस अगाडि निर्माण भइसकेका पुलहरूबाट सबैले लाभ उठाउन नसकिरहेको बेलामा स्थानीय आवश्यकताको आधारमा जनप्रतिनिधिहरूको पहलमा पुल निर्माण हुन लागेको वडाध्यक्ष खत्रीले बताए । पुलको नजिकमा ठुलो बस्तीको सम्भावना पनि रहेको तथा कालीगण्डकी कोरिडोरको तल्लो भूमिमा राम्रो समथर जमिन समेत रहेकोले पनि पुलले स्थानीयको आयस्रोत बढाउन पनि सहयोग गर्ने उनको भनाई छ ।

अहिलेसम्म बलेवाबाट कुश्मा गन्तव्य बनाएर यान्त्रिक पुल तर्दा एकतर्फीको ८५ रुपैयाँ तिर्ने गरेका छन् । यस्तै कुश्माबाट बलेवालाई गन्तव्य बनाएर तर्नेले एकतर्फीको एक सय १२ रुपैयाँ तिर्ने गरेका छन् । तर यो पुल निर्माण भएपछि यान्त्रिक पुलमा उक्त तिरेर आउजाउ गर्नुपर्ने बाध्यता हट्ने छ ।

कैया र माथिको पैयुँपाटाका नागरिकलाई अन्य पुलहरू भएको भए पनि मध्य क्षेत्रमा रहेकाहरूको लागि हाल निर्माणाधीन गुम्बा–कुकुरगाढे पुल उपयोगी हुने नारायणमस्थानका वडा सदस्य राजु क्षेत्री बताउँछन् । नजिकमा रहेको यान्त्रिक पुलमा मान्छे भरिएपछि मात्रै चल्ने, चाडबाडमा भीड लाग्दा पालो कुरेर बस्नुपर्ने बाध्यताको पनि अन्त्य हुने तथा कैयाको पुल टाढा भएकोले समस्या भोगेकाहरूलाई यो पुलले सहज बनाउने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->