पर्वत/जिल्लाको कुश्मा नगरपालिका–४ छमर्केमा शुक्रवार दिउसो भएको दुर्घटनामा तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक सुमित श्रेष्ठका अनुसार कुश्मा–बागलुङ सडक खण्ड अन्तर्गत कुश्माको छमर्केमा शुक्रवार दिउसो करिब दुई बजेको समयमा विद्युतीय भ्यान र मोटरसाइकल आपसमा ठोक्किएका हुन् । बागलुङबाट कुश्माका लागि छुटेको ग १ ज ९०२३ नं.को विद्युतीय भ्यान र विपरीत दिशातर्फ जाँदै गरेको बा.प्र.०२–०५३ प ९८३४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा परी मोटरसाइकल चालक धादिङ सिद्दलेख गाउँपालिका–१ नलाङ बस्ने वर्ष २९ वर्षीय सुजन तिमिल्सिना, भ्यानमा सवार बागलुङको बागलुङ नगरपालिका–१० भकुन्डे बस्ने ७० बर्षिया दुरपती थापा र कास्कीको मादी गाउँपालिका–२ की ७२ बर्षिया पवि थापा घाइते भएका हुन् ।
तिमिल्सिनाको कम्मर र दुवै खुट्टाको घुँडामा चोट लागेको छ भने अवस्था मध्यम रहेको छ । दुरपतीको दाहिने हातमा चोट लागेको छ भने पविलाई शरीरको बाहिरी भागमा सामान्य चोट लागेको छ ।
उनीहरू सबैको प्रदेश अस्पताल पर्वतमा उपचार चलिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले बताएको छ ।





