पर्वत/जिल्लाको जलजला गाउँपालिकाले एक सय वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरूलाई अभिनन्दन गर्न सुरु गरेको छ ।
शताब्दी उमेरका पुरुष र महिलाका अनुभवलाई सामाजिक रूपमा प्रसारण गर्न, उनीहरूका अनुभव, सीप र कौशलहहरु पछिल्ला पुस्तामा स्थानान्तरण गर्न, ज्येष्ठ नागरिकप्रति अरूले निर्वाह गर्ने भूमिकालाई बलियो बनाउन यो अभियान थालिएको गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले बताए ।
सोही सिलसिलामा जलजला गाउँपालिका–२ ओखरबोटमा जन्मिएर एक सय वर्ष पूरा गरेका लालबहादुर जि.सी.लाई सम्मान गरिएको छ । उनलाई गाउँपालिका, बराह टोल विकास संस्था, घर्ती क्षेत्री लामिछाने बन्धु समाजले प्रशंसा पत्र प्रदान गरेर सम्मान गरेका हुन् । गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्य र उपाध्यक्ष दीपक आचार्यले ज्येष्ठ नागरिक जि.सी.गाउँपालिकाको तर्फबाट दोसल्ला र सम्मान पत्रले अभिनन्दन गरे ।
वि.स. १९८३ कात्तिक ६ गते जन्मिएका जि.सी अझै पनि स्वस्थ छन् । ९९ वर्षको उमेरले गालामा चाउरी परेको भए पनि उनी अझै जोसिला छन् । त्यसमा पनि आफ्नै घरमा पुगेका जनप्रतिनिधि, छिमेकी र परिवारका सदस्यहरूले आफ्नो जन्मदिनलाई उत्सवको रूपमा मनाइदिँदा उनी भावुक पनि थिए । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षद्धयले आफ्नो जीवनभोगाईका बारेमा जि.सी सँग भलाकुसारी पनि गरे ।
खेतीपातीमा काम गरेर जीवन बिताउँदै आफूले अहिलेसम्म एक चक्की औषधि नै सेवन नगरेको खुसीको कुरा जि.सी.ले सुनाए । दैनिक जसो काममा व्यस्त हुनु, कसैको कुभलो नचिताउनु, गाउँघरमै पाइने जडीबुटी र अन्नपात खानु, विषादी तथा रासायनिक मलको प्रयोग भएका उत्पादन नखानु लगायतका कारण आफू अझै पनि जोसिलो भएको जि.सी.ले बताए । नयाँ कपडा लगाउन र मिठो खान चाडबाडले मौका जुराउने गरेको, कहीँ जाँदा पैदल यात्रा नै गर्नुपरेको, राणाकालीन शासन व्यवस्थाका भोगाई लगायतका बारेमा पनि उनले भेला भएकाहरूसँग अनुभव साटे ।





