बागलुङ/चाडपर्व सकिएपछि सयौं यात्रीहरु घर फर्कने, कार्यस्थलमा जाने र यात्रामा निस्कने क्रम चलेको छ । दर्शमा झरी परेकोले कात्तिक लागेपछि खुला वातावरणमा मुस्ताङ सहितका क्षेत्रमा घुम्ने पर्यटक पनि बढेका छन् । तिहार सकिएर यात्रीहरु घर फर्कने क्रमले सवारी साधनमा ठेलमठेल यात्री देखिन्छन् । कतिपयले त सिट नपाएर हैरान छन् । बालबालिका र झोला बोकेका महिला समेत गाडीको प्रतिक्षामा देखिन्छन् । कतिपयले गाडि नपाएर अर्को दिनकोलागि समयमै टिकट काटेर बसेका छ् ।
बिशेषगरी बागलुङ देखि चितवन, काठमाण्डौ र भैरहवा जाने गाडिमा निकै भीड देखिन्छ । धेरै भीड भएपछि कतिपयले गाडि रिर्जभ गरेर हिडेका छन् भने कतिपयलाई गन्तव्यमा पुग्न सास्ती परेको छ । गाउँबाट सहर झरेका जिप, पिकअप तथा बस भरिभराउ छन् । सिट नपाएर कतिपयले उभिएर यात्रा गरेको बताए । ‘सिट पाउनै मुस्किल भएर बल्लबल्ल घरबाट बजार झरिया,े’ बागलुङ नगरपालिका वडा नं. २ बस्ने लक्ष्मी क्षेत्रीले भनिन्, ‘सामान किचिएर हेर्न नहुने भयो ।’ गाउँमा धेरै मानिस नबसेपनि चाडपर्व सकेर फर्कनेहरुको भीड एकैपटकमा परेको उनले बताइन् ।
धौलागिरि गण्डकी यातायात प्रालिले आवस्यकता परेको स्थानमा थप बस र अन्य गाडिको व्यवस्थापन गराएको बताएको छ । ‘अधिकांस भीड त रिर्जभ गाडि ल्याएकाबाट भएको हो, तर नियमित रुटमा हिड्दा पनि भीडभाड भयो, यात्रीलाई असहज भयो भने गाडि थप हुन्छ,’ प्रालिका अध्यक्ष उमेश केसीले भने,‘यात्रीलाई अप्ठ्यारो पार्न दिंदैनौं ।’ विशेषगरी चितवन जाने आउने गाडिमा यतिबेला बढी भीड भएकोले धेरै गाडि चलेको उनले बताए ।
चितवनको नारयणगढ, मेघौली,रत्ननगर, रामपुर र गितानगर समेतबाट गाडी चल्ने गरेका छ्न् । अधिकांश सवारी साधनले यात्रीलाई घरछेवैमा छाडिदिने गरेपछि यात्रीको भीड पनि सार्वजनिक यातायातमै लाग्ने गरेको हो । निजी सवारी साधन हुनेले आफ्नैमा यात्रा गरेपनि अधिकांश यात्रीले सार्वजनिक यातायातमा यात्रा गरिरहेका छन् ।
मुक्तिनाथ र बागलुङ कालीकाको दर्शन तथा भ्रमणमा निस्केका पर्यटकले पनि बागलुङ बजारमा भीड बढेको छ । शनिबार बागलुङ कालीका मन्दिरको पार्किङ क्षेत्र बाहेक, वन क्षेत्र, सडक र बाँङगेचउर सम्म पनि दर्जनौं सवारी रोक्दा सडक नै जाम भएको थियो । पर्यटक आगमन बढी हुँदा जिल्लाका सबै होटल भरिभराउ समेत भएका छन् । तिहारदेखि छड सम्म सार्वजनिक बिदासमेत भएकोले यात्रीहरुको घुमफिर र बजार क्षेत्रमा बाक्लो उपस्थिति बढेको हो ।
सवारी साधनको चाप सँगै सवारी दुर्घटना न्युनिकरणका लागि पनि जिल्ला ट्राफिक कार्यालय, प्रहरी र प्रशासनले पनि व्यवसायीयक कंपनीसँग सहकार्य गरेको छ । बागलुङमा क्रियशिल धौलागिरि गण्डकी यातायात प्रालि, बागलुङ कालीका भगवती यातायात प्रालिसहित देशका विभिनन स्थानमा जाने पृथ्वी राजमार्ग बस संचालक कम्पनी, जगदम्बा, म्याग्दी कोरला, लगायतका कम्पनीले मुस्ताङ, ग्याग्दी, बागलुङ र पर्वतका यात्रीलाई सेवा दिइरहेका छन् ।
ती सबै कम्पनीले चारवटै जिल्लामा टिकट काउण्टर राखेर यात्रीलाई पठाउने काम गरेका छन् । चाडपर्वमा हुने भीड कम गर्न रुटमा नपरेका तथा पालो नपरेका गाडीलाई पनि संचालन गर्न पठाएको कम्पनीका प्रतिनिधिले बताए । चाडपर्वको समयमा महंगो भाडा असुल गर्ने, यात्रीलाई ठग्ने, एक ठाउँमा लैजाने निहुँमा अर्कै स्थानको गाडी चढाइदिने समस्यासमेत छिटफुट भैरहेका छन् । उनीहरुले ती समस्या समाधानमा पहल गरेको केसी बताउँछन् ।
शुक्रबार मात्रै चितवनबाट आएका दुइ दर्जन पर्यटकलाई सवारी साधनले पर्वतको कुश्मामा अलपत्र छाडेपछि आक्रोसितले काउन्टरमा गुनासो सुनाएका थिए । उनीहरुको लगातारको आक्रोसपछि गाडीले म्याग्दी लैजान सहयोग गरेका थिए । अलपत्र पार्ने बस तथा अन्य गाडीबारे सूचना दिएमा आवस्यक कारवाही गरी यात्रीलाई सेवा दिने कंपनीहरुले जानकारी दिए ।





