तस्बिर सौजन्य : सुशील बाबु थकाली
पर्वत/दसैँ र तिहारको बेलामा सरकारी बिदा, चाडपर्वको रमाइलो माहौल र हिमालपारिको जिल्ला मुस्ताङको सुन्दर र अनुकूल मौसमले यो बेला मुस्ताङमा पर्यटकहरूको निकै आकर्षण हुने गरेको छ । अघि पछिको तुलनामा दसैँ र तिहारको आसपासमा आन्तरिक पर्यटकहरूको भीड थेगी नसक्नुको हुने गरेको छ ।
पोखराबाट पुष्पलाल मध्यपहाडी लोकमार्ग हुँदै पर्वतको कुश्मा पुगेपछि म्याग्दीको बेनी हुँदै स्थल मार्गबाट मुस्ताङ जाने बाटो सहज भएकाले पनि पछिल्ला वर्षहरूमा बिदाको सदुपयोग गर्दै मुस्ताङ जानेहरूको सङ्ख्या बढ्दै गइरहेको छ । सहज सडकका कारण ‘मोटरसाइकल’ मा यात्रा गर्नेहरूका कारण पनि पोखरा–मुस्ताङ सडक जति बेलै भरिभराउ देखिइरहेको छ । पारिवारिक रूपमा जाने, समूहमा घुम्ने तथा कार्यालय वा संस्थागत रूपमा जानेहरूले चार पाङ्ग्रे सवारी रोज्ने गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङकी प्रमुख प्रहरी नायव उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार कात्तिक एक गतेदेखि सात गतेसम्मको एक हप्ताको अवधिमा नै १९ हजार चार सय ४४ जना पर्यटकहरु मुस्ताङ भित्रिएका छन् । कात्तिक एक गतेदेखि सात गतेसम्म आन्तरिक तथा बाह्य पर्यटकहरु गरेर क्रमशः तीन हजार तीन सय ३४ जना, दुई हजार चार जना, दुई हजार छ सय आठ जना, एक हजार सात सय ७५ जना, एक हजार छ सय ६५ जना, एक हजार दुई सय ९९ जना र छ हजार आठ सय ५९ जना मुस्ताङ छिरेका प्रहरी चौकी घासाको तथ्याङ्क छ ।
कात्तिक एक गतेदेखि सात गतेसम्म क्रमशः एक हजार दुई सय २८, सात सय ४९, आठ सय ७०, छ सय ३६, पाँच सय ९४, चार सय ९१ र दुई हजार एक सय ६८ ओटा सवारीहरूमार्फत ती पर्यटकहरु मुस्ताङ पुगेका हुन् ।
प्रहरीको तथ्याङ्क अनुसार सात दिनमा १७ हजार एक सय २९ जना स्वदेशी पर्यटकहरु मुस्ताङ पुग्दा दुई हजार तीन सय १५ जना विदेशी पर्यटकहरु भित्रिएका छन् । जुन विदेशी पर्यटकहरूको तुलनामा छ सय ४० प्रतिशत बढी स्वदेशी पर्यटकहरूले मुस्ताङको भ्रमण गरेका छन् ।
तथ्याङ्कले देखाए अनुसार मुस्ताङ घुम्न जाने स्वदेशी पर्यटकहरूमध्ये पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी देखिएको छ । विगतमा पुरुषहरू घर बाहिरको काम, भ्रमण र रमाइला कार्यक्रमहरूमा सहभागी हुने गरेकोमा पछिल्लो समयमा महिलाको सहभागिता पुरुषकै बराबर पुगेको यो तथ्याङ्कले देखाउँछ । काम गर्न सक्ने उमेरका तथा नेपालमा रोजगारीको अवसर नपाएकाहरू वैदेशिक रोजगारीमा जाँदा पनि मुस्ताङ घुम्न जाने पुरुषको सङ्ख्या भन्दा महिलाको सङ्ख्या बढी देखिएको हो । एक हप्तामा आठ हजार चार सय दुई जना पुरुष मुस्ताङ पुग्दा आठ हजार सात सय २७ जना महिला मुस्ताङ पुगेका छन् । पुरुषको तुलनामा महिलाको सङ्ख्या ३.८७ प्रतिशतले बढी हो ।
विदेशी पर्यटकहरूमा भने मुस्ताङ आउनेमा पुरुषहरूको सङ्ख्या नै बढी देखिएको छ । सोही अवधिमा एक हजार तीन सय ३३ जना विदेशी पुरुष मुस्ताङ छिर्दा नौ सय ८२ जना महिला त्यहाँ पुगेका छन् । महिलाको सङ्ख्याको तुलनामा पुरुषको सङ्ख्या झन्डै ३५ प्रतिशतले बढी हो ।
चालु आर्थिक वर्ष २०८२/०८३ मा मुस्ताङ पुग्ने पर्यटकहरूको सङ्ख्या एक लाख ३८ हजार ३३ जना पुगिसकेको छ । प्रहरी नायव उपरीक्षक लामाका अनुसार साउनमा १९ हजार सात सय ८१, भदौमा २३ हजार दुई सय नौ, असोजमा ७५ हजार पाँच सय ९९ र कात्तिकको पहिलो सातामा १९ हजार चार सय ४४ जना रहेका छन् ।





