
पोखरा / म्याग्दी, मुस्ताङ, मनाङलगायतका हिमाली जिल्लामा गएरातीदेखि परेको हिउँको कारण आउन सक्ने चुनौतीलाई मध्यनजर राख्दै पदयात्रा तथा भ्रमणमा जाने यात्रुहरूलाई सचेत गरानुको साथै सावधानी अपनाउन अनुरोध गरिएको छ ।
मुस्ताङ जिल्लाको लोमाङथाङ गाउँपालिका-५, नेचुङस्थित उपल्लो मुस्ताङमा गएराति देखि परेको हिउँ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट नेचुङले पन्छाउनुको साथै सो बाटो हुँदै पदयात्रा तथा भ्रमणमा जाने पर्यटकहरूलाई सुरक्षित यात्रा र सावधानी अपनाउन अनुरोध गरेको छ ।
सशस्त्रका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार, सो टोलीले यात्रुहरूको सहजताका लागि कोरोला नाका जाने बाटोमा परेको हिउँ पन्छाउने कार्यसमेत गरेको छ । कोरला नाकासम्म जाने बाटोमा हिउँ जमेर असहजता भएपछि हिउँ पन्छाएको हो भने थप हिमपात भएमा सो क्षेत्रमा भ्रमणमा नआउन सशस्त्र प्रहरीले अनुरोध गरेको छ ।

हिउँ पन्छाउँदै सशस्त्र प्रहरी । तस्बिर : सशस्त्र प्रहरी
त्यसैगरी, मनाङ जिल्लाको डिस्याङ गाउँपालिका-४, हुम्डेस्थित चामेदेखि खाङ्सार जाने बाटोमा गएरातिदेखि परेको हिउँसमेत सशस्त्र प्रहरीले हटाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३२ गुल्म मनाङबाट खटिएको सुरक्षा फौजले यात्रुहरूलाई सावधानी अपनाउन र मौसम प्रतिकुलताबारे सचेत रहन अनुरोध गरेको छ ।
यसैगरी, म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका-४, अन्नपूर्ण पदमार्गमा गएका पदयात्रीहरूको सहजीकरणका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेस नारच्याङ् म्याग्दीको टोली खटिएको छ । सो टोली पदयात्रीहरूको सहजता र सुरक्षाका लागि अन्नपूर्ण गाउँपालिका-४, हुमखोला भन्दा माथिसम्म पुगेको छ ।






