बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मनाङ र मुस्ताङमा भारी वर्षासँगै हिमपात

मनाङ र मुस्ताङमा भारी वर्षासँगै हिमपात

पछिल्लो २४ घण्टामा मनाङको चामेमा ६४.४ मिलिमिटर र मुस्ताङको जोमसोममा ५१.२ मिलिमिटर वर्षा भएको छ ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक ११ २०८२, मंगलबार
वर्षापछि भारी हिमपात भएको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१, खिङ्गा । तस्बिरः सुशीलबाबु थकाली

पोखरा / पश्चिमी वायुका साथै अरब सागरबाट उत्पन्न न्यून चापीय प्रणालीका कारण मौसम बदली हुँदा मुस्ताङ र मनाङमा मंगलबार भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार मुस्ताङ र मनाङमा भारी वर्षा अभिलेख भएको छ ।

पछिल्लो २४ घण्टामा मनाङको चामेमा ६४.४ मिलिमिटर र मुस्ताङको जोमसोममा ५१.२ मिलिमिटर वर्षा भएको छ । पचास मिलिमिटरदेखि १०० मिलिमिटरसम्मको वर्षालाई भारी वर्षामा मापन गर्ने गरिन्छ ।

अन्य धेरै जिल्लामा मध्यमसम्म वर्षा भएको विभागले जनाएको छ । दिउसो ३ः४० बजेसम्मको अभिलेख अनुसार डोल्पाको दुनैमा ३६, जुम्लामा १३ मिलिमिटर वर्षा भएको छ ।

पछिल्लो १२ घण्टामै बागलुङ, पर्वतमा २४ मिलिमिटर, प्यूठानमा २१.८ मिलिमिटर, सिन्धुपाल्चोकमा २९.६ मिलिमिटर वर्षा भएको छ । चितवनमा २३ र लमजुङमा २७ मिलिमिटर वर्षा भएको छ । हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छभने तल्लो भेगमा वर्षा भइरहेको विभागले जनाएको छ ।

काठमाडौँ उपत्यकामा चिसो बढे पनि वर्षा भने हल्का भएको छ। आज राति बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भारी हिमपात र वर्षाको सम्भावना रहेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले वर्षा र हिमपात जारी रहेकाले आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेकी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->