पोखरा / म्याग्दीकोे मुदीहुँदै राउन्ड धौलागिरी फन्को मारेर मुस्ताङ मार्फा फर्किदै गरेका ३ जना ब्रिटिस महिला पर्यटकसहित १५ जना सोमवारदेखि परेको हिउँले ‘हिडन भ्याली’मा अलपत्र परेका छन । मुस्ताङका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद भुसालका अनुसार सोमवार सांझदेखि परेको हिउमा परेर उनीहरु अलपत्र परेका हुन ।
उनीहरु म्याग्दीको बेनीवाट म्याग्दीखोला पछ्याउदै इटाली क्याम्प-धौलागिरी वेस क्याम्प हुँदै धौलागिरीको हिमालको उत्तर पश्चिम फेदीमा पर्ने हिडन भ्यालीबाट मुस्ताङको मार्फातर्फ पैदल यात्रा आँउदै गर्दा सोमवार दिउसो ५ बजे ‘हिडन भ्याली’ मा परेको बाक्लो हिउमा फसेका हुन । सो स्थान समुन्द्र सतहदेखि ५ हजार १ सय मिटर उचाइमा पर्दछ ।
उनीहरु रहेको स्थानमा ५ फिट बाक्लो हिउ परेको छ । त्यहाँ पर्यटक हिडने बाटो (ट्रेकिंग रुट) हिउले पुरीएका कारण अलपत्र परेका हुन । उनीहरुको उद्धारमा कठिनाई भएको छ ।
पैदल हिडने रुट समेत हिउले ढाकिएका कारण त्यहा फसेका हुन । ट्रेकिंग रुटमा पैदल हिडदैगर्दा अचानक हिमपात भएपछि हिडने बाटो समेत हराएर (नदेखिने भएपछि) उनीहरु गत सोमवारदेखि टेन्ट टांगेर बाटामै बस्न बाध्य भएका छन । उनीहरु अडकिएको स्थानमा होटल वा घर छैन । पर्यटकहरुको सरसामान र बन्दोवस्तीका सामान बोक्ने, वाटो देखाउने १२ जना नेपालीहरु रहेका छन ।
ब्रिटिस ३ महिला पर्यटकको सहयोगमा हिडेका १२ नेपालीहरु पनि त्यहि फसेका छन । उनीहरुलाई ट्रेकिंग पठाउने काठमाण्डौको सेक्रेट हिमालय ट्रेड एण्ड एक्पिडिसन ट्राभल एजेन्सीका ब्यबस्थापक बिनय लामाका अनुसार हिमपातका कारण त्यहाँ अडकिएका ब्रिटिस नागरिकहरु Ms Mary Reape, Ms Catherine Wilson र Ms Emily Coats छन् ।
त्यहाँ हिमपातमा फसेका नेपाली गाइडले आफुहरु आपतमा परेको भन्दै मंगलवार राती साढे ८ बजे तत्काल आफुहरुको उद्धार गर्न भनेको लामाले सुनाए । ‘बुधवार बिहान सेटलाइट फोनमा सम्पर्क भएको छ, उनीहरु आत्तिएका छन,’ लामाले भने । चाडो उद्धार गर्न परो भन्ने उनीहरुको माग छ । ‘हाम्रो कुनै उपाय छैन’ लामाले भने- ‘चाडो उद्धार गर्न परयो भनेर आत्तिइरहनु भएको छ, हामीसंग त्यसरी उद्धार गर्न सक्ने कुनै यन्त्र छैन ।’ लामाले भने- ‘सुरक्षा निकाय गुहारेका छौ ।’
हेलिकप्टर वा सुरक्षाकर्मी जाने अबस्था छैन
मुस्ताङका प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार उनीहरु रोकिएको स्थानमा यहिलेकै अबस्थामा पैदल वा हेलिकप्टरवाट उद्धार सम्भव छैन । फिसफीस हिउ परिरहेका कारण हेलिकप्टर उडाउन समस्या भएको भुसालले जानकारी दिए । न हेलिकप्टर पठाएर उद्धार गर्न सकिन्छ न सुरक्षाकर्मी नै जाने बाटो छ, भुसालले भने, हिउ पर्न छोडयो भने मात्र उद्धारको प्रयास काम लाग्छ ।
बुधवार बिहान पनि त्यहा फिसफिस हिउ परिरहेको जानकारी पाएको लामाले सुनाए । ‘मंगलवार भन्दा केही कम छ भनेर अहिले बिहान जानकारी गराएका छन । हिमपात रोकिएपछि हिडने रुटको हिउ पग्लिएर बाटो (पैदल हिडने रुट) पत्ता लगाउन सके मात्र सुरक्षित स्थलतर्फ हिडन सक्छन । त्यतिन्जेल त्यही रहनुपर्ने बाध्यता छ’, प्रमुख जिल्ला अधिकारी भुसालले भने ।
हिडन भ्याली मुस्ताङको मार्फा बजारदेखि पश्चिम उत्तर एक दिनको पैदल यात्रामा पर्दछ । अहिले बिहानसम्म सेटलाइट फोनमार्फत सम्पर्क हुन सकेको छ । ब्याट्रि सकियो भने सम्पर्क हुन नसक्ने अबस्था छ । त्यहा मोवाइल वा नेट टिप्दैन ।
मुस्ताङमा सोमवार सांझवाट वर्षाद र हिमपात सुरु भएको थियो । प्रमुख जिल्ला अधिकारी भुसालले सोमवार सांझ ४ बजे एक सूचना जारी गर्दै मुस्ताङ क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाउँदै मौसम बुझेर मात्र यात्रा गर्न सार्वजनिक अपिल गरेका थिए ।





