बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हिडन भ्यालीमा अलपत्र १५ पर्यटकको उद्धारका लागि सुरक्षा टोली खटियो

हिडन भ्यालीमा अलपत्र १५ पर्यटकको उद्धारका लागि सुरक्षा टोली खटियो

नेपाली सेनाको उच्च शिखर शिक्षालय, इन्द्रबक्स गण, नेपाल प्रहरी र सशस्त्र प्रहरीको १० जनाको टोली ‘हिडन भ्याली’ तर्फ प्रस्थान गरेको छ ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक १२ २०८२, बुधबार

जोमसोम / मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे हिमालको ‘हिडन भ्याली’ मा हिउँमा फसेका ३ जना विदेशी महिलासहित १५ जनालाई उद्धार गर्न सुरु गरिएको छ । उनीहरुको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ । नेपाली सेनाको उच्च शिखर शिक्षालय, इन्द्रबक्स गण, नेपाल प्रहरी र सशस्त्र प्रहरीको १० जनाको टोली ‘हिडन भ्याली’ तर्फ प्रस्थान गरेको छ ।

म्याग्दीकोे मुदीहुँदै राउन्ड धौलागिरी फन्को मारेर मुस्ताङ मार्फा फर्किदै गरेका ३ जना ब्रिटिस महिला पर्यटकसहित १५ जना ‘हिडन भ्याली’मा अलपत्र परेका हुन । पर्यटक अलपत्र परेको समाचार आएलगतै जिल्ला सुरक्षा समितिको बैठक बसेर टोली परिचालन गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विष्णुप्रसाद भुषालले बताए । बाक्लो हिमपातले पदमार्ग पुरिएको अवस्थामा पर्यटकलाई यात्रा गर्न समस्या हुने भएकाले हिउँ पन्छाउने उपकरणसहित टोली खटाइएको छ ।

काठमाडौंको सेक्रेट हिमालय ट्रेड एण्ड एक्स्पिडिसन ट्राभल एजेन्सीबाट ट्रेकिंगमा गएका तीन बेलायती महिला पर्यटकसहितको यो टोली सोमबारदेखि हिउँमा फसेको थियो । १५ जनाको टोलीमा ब्रिटिस नागरिकहरु Ms Mary Reape, Ms Catherine Wilson र Ms Emily Coats  सहित उनीहरुको सहयोगका लागि गएका १२ जना नेपाली रहेका छन् ।

संसारको सातौँ अग्लो धौलागिरि हिमालको आधार क्षेत्र हुँदै मुस्ताङ प्रवेश गरेका उनीहरु हिमपातका कारण बिच बाटोमा नै अलपत्र परेका थिए । प्रजिअ भुषालले बुधबार मौसम केही अनुकूल भएकाले माथिल्लो क्षेत्रबाट पर्यटकहरू झर्दै गरेको र तलबाट थप सहयोगका लागि उद्धार टोली पठाएको बताए ।

प्रजिअ भुषालका अनुसार, पर्यटकहरूसँग पर्याप्त खानेकुरा छ । भुषालले उद्धार टोलीलाई पैदलमा त्यहाँ पुग्न दुई दिन लाग्ने जानकारी दिए । सडकबाट उद्धारको टोली प्रस्थान गरेको र हेलिकप्टरबाट समेत सम्भव भएसम्म उद्धार गरिने प्रजिअ भुषालले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->