बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

डेढ महिनामा अन्नपूर्ण आधार शिविरमा १२ हजार बढी आन्तरिक पर्यटक पर्यटक पुगे

डेढ महिनामा अन्नपूर्ण आधार शिविरमा १२ हजार बढी आन्तरिक पर्यटक पर्यटक पुगे


  • ढोरपाटन संवाददाता
  • कार्तिक १३ २०८२, बिहिबार
अन्नपूर्ण आधार शिविर र पञ्चकुण्ड ताल । तस्बिर : ठाकुरप्रसाद आचार्य

म्याग्दी / म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा डेढ महिनाको अवधिमा १२ हजारभन्दा बढी आन्तरिक पर्यटक पुगेका छन्।

दसैँ-तिहार र छठ पर्व बिदाको अवसर पारेर मौरिस हर्जोग पदमार्ग हुँदै पञ्चकुण्ड ताल र आधार शिविरको पदयात्राका लागि पर्यटक पुगेका हुन् ।

असोज महिनाभर दैनिक रुपमा दुई सयदेखि तीनसय सम्म र कात्तिक महिनाको १० गतेसम्म दैनिक पाँचसय देखि ६ सयसम्म पर्यटक आधार शिविर पुगेको मौरिस हर्जोग पदमार्गका अभियन्ता तथा पर्यटनकर्मी तेज गुरुङले बताए ।

उनले भने, ‘‘यो ट्रेक खुलेको तीन वर्ष भयो । यो वर्ष अहिलेसम्मकै धेरै पर्यटकले आधार शिविरको भ्रमण गरेका छन् । असोज महिनामा कम्तीमा ६ हजार र कात्तिकको १० गतेसम्म ६ हजारदेखि ७ हजारसम्म आन्तरिक पर्यटक पदयात्रामा आउनुभएको अनुमान गरेका छौं ।’’

सामाजिक सञ्जालमा अन्नपूर्ण आधार शिविर, पञ्चकुण्ड ताल र पदमार्गमा पर्ने झरनाका दृश्यहरू भाइरल बनेपछि पदयात्राका लागि आन्तरिक पर्यटकको लहर चलेको हो । पर्यटकले अन्नपूर्ण पदयात्राका क्रममा लिएका सुन्दर दृश्यहरु सामाजिक सञ्जालमा भाइरल बनेका छन् । फेसबुक, टिकटक र इन्स्टाग्राममा पोस्ट भएका दृश्यले अन्नपूर्ण क्षेत्रलाई अहिलेको सबैभन्दा ट्रेन्डिङ पर्यटकीय गन्तव्य बनाएको पर्यटनकर्मी गुरुङले बताए ।

अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा तिलिचो पिकबाट झरेको हिमपहिरोको भिडियो बागलुङका योगेश मगरले टिकटकमा पोष्ट गरेको केही घण्टामा नै भाइरल बन्यो । तिहारको दिन झापा दमकका बजगाईबन्धुले पञ्चकुण्ड ताल छेउमा बसेर लगाएको भाइटीकाको दृश्य पनि मनमोहक छ ।

सामाजिक सञ्जालका सबैतिर अन्नपूर्णका आकर्षक भिडियोहरु मात्र देख्न पाइन्छ । तिनै भिडियोहरुले पूर्वदेखि पश्चिम सम्मका आन्तरिक पर्यटकहरुलाई आकर्षित गरिरहेका छन् ।

मौरिस हर्जोग पदमार्गमा पर्ने फुतफुते झरना,मिस्त्रीखोलाको दृश्य,अन्नपूर्ण हिमालसँगै पञ्चकुण्ड तालको दृश्य र तस्बिरहरु अहिले सामाजिक सञ्जाल फेसबुक,इन्स्टाग्राम र टिकटक लगाएतका एप्सहरुमा भाइरल बनेका छन् ।

अन्नपूर्ण पदयात्रामा आएका पर्यटकले सामाजिक सञ्जालमा पोष्ट गरेका भिडियो र जिल्लाका पत्रकारहरुले विभिन्न राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित गरेका समाचारहरु कारण अन्नपूर्ण क्षेत्रले चर्चा पाएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तथा पर्यटनकर्मी गुरुङ बताउछन् ।

पदयात्रीहरु चार हजार पचास मिटरको उचाइमा रहेको सुन्दर पञ्चकुण्ड ताल हुँदै चार हजार एकसय ९० मिटर उचाइमा रहेको आधार शिविरसम्म पुग्ने गरेका छन् । टिकटक र इस्टाग्राममा धेरै भिडियो हेर्दा हेर्दै मन परेर यो ठाउँ कस्तो रहेछ भनेर पदयात्रामा आएको बुटवलकी विनीता ज्ञवालीले भनिन्, ‘‘अहिले अन्नपूर्ण आधार शिविर,पञ्चकुण्ड ताल र मौरिस हर्जोग पदमार्गमा पर्ने विभिन्न झरनाहरु सामाजिक सञ्जालमा ट्रेन्डिङ भएको छ । हामीलाई पनि जाउँ जाउँ लाग्यो । त्यही भएर परिवारका ९ जना सदस्यसहित पदयात्राका लागि आएका छौं ।’’

सामाजिक सञ्जालमा धेरै चर्चा भएकाले नै झापाको दमकदेखि अन्नपूर्णको पदयात्रामा आएका सिसम बजगाईले बताए । अन्य ट्रेकभन्दा यो निकै रमाइलो रहेछ, उनले भने ,‘‘छोटो दूरीको यो ट्रेक निकै रमाइलो लाग्यो । दुईदिनमै आधार शिविर पुगेर फर्किन सकिने, झरना, हिमाल र सुन्दर प्राकृतिक दृश्यहरुले यात्रा रोमाञ्चक बन्यो ।’’

बेनीदेखि हुमखोला सम्म सवारीसाधन र हुमखोलादेखि पदयात्रा गर्दै पर्यटकहरु आधार शिविरसम्म पुग्ने गरेका छन् । अन्नपूर्णमा पर्यटक आगमन वृद्धि भएसँगै बेनी, गलेश्वर, पोखरेबगर, भुरुङ तातोपानी, नारच्याङ र पदमार्गमा रहेका साना तथा ठूला होटलहरु अहिले पनि भरिभराउ भएका छन् ।

एकजना पर्यटकको बेनीदेखि आधार शिविर पुगेर फर्किदासम्म करिब दश हजार रुपियाँ खर्च हुन्छ । प्रति पर्यटकले गरेको खर्चलाई आधार मान्दा करिब १२ करोड रुपियाँ बराबरको आर्थिक कारोबार भएको अनुमान गरिएको पर्यटनकर्मी गुरुङले बताए ।

उनका अनुसार हुमखोलादेखि पदमार्ग र पञ्चकुण्ड ताल छेउमा पर्यटकका लागि खान खाने र बास बस्ने होटल तथा रेष्टुरेण्टहरु सञ्चालन गरिएको छ । पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै व्यवस्थापनमा समेत कठिन भएको गुरुङले बताए ।

अन्नपूर्ण पदयात्रामा पर्यटक बढेसँगै बेनीमा समेत होटलहरु भरिभराउ भए । तिहारको भोलिपल्ट दुईदिनसम्म बेनी आसपास र भुरुङ तातोपानीका होटलहरु भरिए । अन्नपूर्ण पदयात्राका कारण नै होटलहरु भरिभराउ भएको तातोपानीस्थित होटल नेचुरल स्प्रिङका सञ्चालक राजु हमालले बताए ।

उनले भने, ‘‘केही वर्ष अघिसम्म गुमनाम बनेको यो क्षेत्र अहिले निकै चर्चित बन्यो । देशभरबाट आन्तरिक पर्यटकहरु अन्नपूर्णमा आएका छन् । पर्यटकको आगमनलाई आगामी दिनमा पनि कायम राख्न आधार शिविरमा सञ्चार सुविधा,होटलको सङ्ख्यामा वृद्धि,सुरक्षाको भरपर्दो व्यवस्था,पदमार्ग मर्मतसम्भार र सरसफाइमा सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।’’ पदयात्राीको सुरक्षाका लागि मौरिस हर्जोग पदमार्गमा प्रहरी चौकीको आवश्यकता भएको छ ।

अन्नपूर्ण पदयात्रामा पर्यटक आगमन बढेसँगै समग्र जिल्लाको आर्थिक क्षेत्रलाई चलायमान गराएको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए । नारच्याङको हुमखोलाबाट सुरु हुने मौरीस हर्जोग पदमार्ग (अन्नपूर्ण आरोहण ट्रेक) हुँदै दुईदिनको यात्रापछि अन्नपूर्णको आधार शिविर पुग्न सकिन्छ । मिस्त्रीखोलाको किनारै किनार निर्माण गरिएको पदमार्गको यात्रामा मनोरम प्राकृतिक सुन्दरताको अवलोकन गर्न सकिन्छ ।

प्राकृतिक सुन्दरता,हिमनदी र झरनाले पर्यटकहरुलाई आकर्षित गरेको छ । भर्जिन पर्यटकीय गन्तव्यका रुपमा विकास भएको अन्नपूर्ण आधार शिविर बेनीबाट छोटो दूरीमा पर्ने आकर्षक पर्यटकीय गन्तव्य हो ।

नेपालमा ‘जेठो हिमाल’ भनेर समेत चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रसम्म पुग्ने ‘मौरिस हर्जोग पदमार्ग’ अन्तर्गत नारच्याङको दोभान–छोटेपा हुँदै हुमखोलासम्म सवारी साधनमा पुगेर त्यहाँबाट पदमार्ग हुँदै दुई दिनमा सहजै अन्नपूर्ण आधार शिविरसम्म पुग्न सकिन्छ ।

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पैदलयात्राबाट आधार क्षेत्र पुगिन्छ । पदमार्गमा रहेको फुतफते झरना,आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले पर्यटकको यात्रालाई थप रोमाञ्चक बनाउँछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->