मुस्ताङ / मुस्ताङको लोघेकर दामोदरकुण्ड-४ याराबाट दामोदरकुण्ड हुँदै सरेबुपास क्षेत्रका लागि निस्किएका १४ जना पर्यटक तथा पदयात्री केहीबेर अघि जिल्ला प्रशासन कार्यालयको सम्पर्कमा आएका छन् ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले सरेबुङपास प्रस्थान गरेका ३ अष्ट्रियन नागरिकसहित १४ जना पदयात्री केहीबेर अघि सम्पर्कमा आएको बताए । उनीहरु सवै सुरक्षित छन ।
सबै पदयात्री सम्पर्कमा आएसँगै आज साँझ दामोदरकुण्डबाट अगाडि बढ्न नसकेपछि पैदल यात्रामार्फत सुरक्षित रूपमा यारा गाउँमा आइपुगेका उनले जानकारी दिए ।
प्रजिअ भुसालले उच्च स्थानमा अवस्थित दामोदरकुण्डमा रहेको धर्मशालामा खाने, बस्नेलगायत अत्यावश्यक सुविधा भएकाले सम्पर्कविहीन पदयात्रीलाई सुरक्षित रहन सहज भएको बताए ।
दुई साताअघि हिमालयन एडभेन्चर ट्राभल्समार्फत काठमाडौँबाट सरेबुङ हुँदै मनाङको फु गाउँको पदयात्राका लागि निस्किएका थिए । उनीहरू अक्टोबर २६ तारिखमा लोघेकर-४ याराबाट सरेबुङ यात्राका लागि दामोदरकुण्डतर्फ प्रस्थान गरेका थिए ।
त्यसपछि तीनदिनदेखि सम्पर्कविहीन भएका हिमालयन एडभेन्चरले जनाएको थियो । जिल्ला प्रशासन कार्यालयलाई बिहीबार साँझ उनीहरू सम्पर्कविहीन भएकाबारे जानकारी गराइएको हिमालयन एडभेन्चरका व्यवस्थापक दीपक मैनालीले बताए । आज बिहान पथप्रर्दशकमध्ये एक जनाले टेलिफोन सम्पर्क गरे पनि स्पष्ट कुराकानी हुन नसकेको उनले बताएका थिए ।
समुन्द्री सतहदेखि ६ हजार मिटर उचाइमा पर्ने सरेबुङपास छिचोल्दै मनाङको फु गाउँ निस्किने योजनासहित लोघेकर दामोदरकुण्ड-४ याराबाट दामोदरकुण्ड प्रस्थान गरेको उक्त टोली मङ्गलबारदेखि सम्पर्कविहीन भएको थियो । मङ्गलबारदेखि परेको भारी हिमपात र प्रतिकूल मौसमका कारण पदयात्री सम्पर्कविहीन भएका व्यवस्थापक मैनालीले बताए ।





