बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

व्यावसायिक वातावरण निर्माण र सुशासनका निम्ति सहकार्यको सहमति

व्यावसायिक वातावरण निर्माण र सुशासनका निम्ति सहकार्यको सहमति


  • ढाेरपाटन संवाददाता
  • कार्तिक १७ २०८२, सोमबार

पोखरा/ पोखराको निजी क्षेत्रले जेन–जी आन्दोलनपछि खल्बलिएको व्यावसायिक वातावरण सङ्लो बनाउन तथा सुरक्षाको प्रत्याभूतिसहित व्यवसायीहरुको मनोवल उकास्नका निम्ति जेन–जी पुस्तासँग सहकार्यको हात अगाडि बढाएको छ ।

जेन–जी पुस्ताका पोखरामा रहेका तथा सम्पर्कमा आएका प्रतिनिधिहरुसँगको पटक–पटकको छलफलपछि जेन–जी र उद्योगी÷व्यवसायीबीच सहकार्यको वातावरण निर्माण भएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए । छलफलको क्रममा जेन–जी प्रतिनिधिहरुले निजी क्षेत्रलाई थप लगानीको लागि प्रोत्साहित गर्न तथा भयरहित वातावरणमा आफ्नो उद्योग÷व्यवसाय संचालनका लागि सघाउने प्रतिवद्धता जनाएका पनि अध्यक्ष कार्कीको भनाइ छ ।

यसअघि पोखराको विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने निजी क्षेत्रका प्रतिनिधिहरुको भेलाले पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीको संयोजकत्वमा ‘व्यावसायिक वातावरण निर्माण एवं सुरक्षा समिति’ गठन गरिएको थियो । सो समितिमा व्यापक छलफलपछि व्यावसायिक वातावरण निर्माण, शान्ति सुरक्षाको प्रबन्ध र व्यवसायीलाई आश्वस्त पार्ने कार्यमा जेन–जी पुस्ताले पनि सहभागी गराउने निर्णय भएको थियो । सोही निर्णय अनुसार आह्वान गरिएको संवादमा जेन–जी पुस्ताको प्रतिनिधित्व गर्दै पोखरामा उपलब्ध तथा सम्पर्कमा आएका आर्यनकुमार जैयसवाल, सरोज पराजुली, अनुप घिमिरे, सन्देश पराजुली, रोशनी गुरुङ र पूजा फगामीले सहभागिता जनाएका थिए ।

जेन–जी प्रतिनिधिहरुसँगको बैठकपछि पोखराको निजी क्षेत्रको तर्फबाट पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीको संयोजकत्वमा गठित व्यावसायिक वातावरण निर्माण एवं सुरक्षा समिति तथा जेन–जी (दुबै पक्ष) बीच जेन–जी आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भ्रष्टाचारको अन्त्य र सुशासनको पक्षमा आवाज बुलन्द पार्ने, जेन–जी आन्दोलनको क्रममा भदौ २३ गते भएको दमनको निश्पक्ष छानबिन गर्दै दोषीलाई कानूनी कारवाही माग गर्ने, भदौ २४ गते जेन–जीको आन्दोलनमा भएको घुसपैठबाट सिर्जित परिस्थितिलाई मनन गर्दै तोडफोड, लुटपाट र आगजनीजस्ता आपराधिक कार्यमा संलग्नमाथि कारवाही तथा क्षतिपूर्तिको लागि सरकारसँग माग गर्ने निर्णय भएको छ ।

यस्तै, व्यावसायिक वातावरण निर्माण, नवप्रवर्तन, लगानी प्रोत्साहन, उद्योगी÷व्यवसायीहरुलाई सुरक्षाको प्रत्याभूति गराउन एवं खल्बलिएको व्यावसायिक वातावरणलाई लयमा ल्याउनका निम्ति दुबै पक्ष एकजुट भइ अगाडि बढ्ने सहमति भएको पनि संयोजक कार्कीले जानकारी दिए । ‘सहमति कार्यान्वयन एवं भावि कार्यदिशा तय गर्नका निम्ति आवश्यकता अनुसार छलफल र बैठकको आयोजना गर्ने निर्णय भएको छ,’ कार्कीले भने, ‘व्यवसायीमाथि पुनः आक्रमण नहोस्, दोषीमाथि कारवाही होस्, व्यवसायीले क्षतिपूर्ति पाउन् भन्नेमा जेन–जी पुस्ता स्पष्ट छ । परिवर्तनको लागि सो पुस्ताले निभाएको भूमिकाको हामीले सह्राना गरेका छौँ र सुशासनको मुद्दामा सँगै काम गर्ने प्रतिवद्धता जनाएका छौँ ।’

जेन–जी आन्दोलनको क्रममा पोखराको निजी क्षेत्रले साढे २ अर्बभन्दा बढी क्षति ब्यहोरेको प्रारम्भिक अनुमान छ । ‘व्यावसायिक वातावरण निर्माण एवं सुरक्षा समिति’ उद्योगी÷व्यवसायीको गिरेको मनोबल उकास्नका निम्ति प्रशासन तथा सुरक्षा निकाय, राजनीतिक दल र नागरिक समाजसँगसमेत हातेमालो गरिने पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->