बागलुङ/बागलुङ उद्योग वाणिज्य संघको अगुवाईमा जिल्लाभित्र एक सय युवा उद्यमी उत्पादन गरी व्यवसाय प्रवद्र्दनमा लगाइने भएको छ ।
साबिकको धौलागिरि क्षेत्रका सबै उद्योग बाणिज्य संघका प्रतिनिधि र स्किल अपग्रेड ईन्स्योर परियोजनामार्फत बागलुङ उद्योग वाणिज्य संघ, गलकोट उद्योग वाणिज्य सघ र ढोरपाटन उद्योग वाणिज्य संघमार्फत ती युवालाई उद्यममा लगाउने तयारी गरेको हो ।
अन्य जिल्लामा पनि आवस्यकताको आधारमा उद्यमी उत्पादनको काम गरिने बैठकले निर्णय गरेको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले बताए ।
गण्डकी प्रदेश सरकार र स्विस सरकारको सहयोगमा उद्योग वाणिज्य संघमार्फत विभिन्न तालिम र प्रत्यक्ष रुपमा उद्योगमै पुगेर काम गर्ने अवसरसहित १० युवा उद्यमी उत्पादन गरिने भएको हो । त्यसका लागि बागलुङको हकमा होमस्टे, होटल म्यानेजमेन्ट, इलेक्ट्रीसियन लगायतका ५ प्रकारका तालिममा कम्तिमा २०÷२० जना युवालाई सहभागि गराइने छ ।
उद्योग व्यवसाय प्रति युवाको आर्कषण बढाउने र पछिल्लो घटनाक्रमबाट व्यवसायमा देखिएको निराशा चिर्ने लक्ष्य यो परियोजनाले राखेको छ । साथै, व्यवसायलाई कसरी सफल बनाउने, उद्यम विकासमा आर्कषण थप्ने विषयमा सहभागिले चासो राखेका थिए । लगानीको सुरक्षा अहिलेको पहिलो प्राथमिकता र आवस्यकता भएको भन्दै व्यवसायीले त्यसका लागि राज्यको प्रतिवद्दता पनि चाहिने बताए ।
कार्यक्रममा उद्योग बाणिज्य संघ गण्डकीका अध्यक्ष तथा व्यवसायी संजिव बहादुर कोइरालाले उद्यमी युवालाई प्रोत्साहन गर्दै लगानी भित्राउने र सुरक्षाको ग्यारेन्टीको अभियान चाल्नुपर्ने बताए । उनले यो काममा सबै व्यवसायीको एकता पनि चाहिने धारणा राखे ।
कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले पलायन बढीरहेको, लगानीको सुरक्षामा चुनौती देखिएको बेला यो परियोजना आवस्यक भएको बताए । त्यसका लागि गण्डकी प्रदेश सरकारले युवालाई व्यवसायमा उत्प्रेरणा थप्नुपर्ने समेत बताएका थिए ।
उक्त अवसरमा स्किल अपग्रेड इन्स्योर परियोजनाकी कार्यक्रम अधिकृत प्रतिमा गुरुङले परियोजनाको उद्देश्य र युवालाई लक्षित गर्नुको कारणबारे बताइन् । साथै राज्यलाई लगानीमैत्री वातावरण बनाउन पनि यो अभियानले साथ दिने धारणा राखिन् ।
संघका निवर्तमान अध्यक्ष नरेश कंडेलले यो अभियानले व्यवसाय प्रवद्र्दन गर्दै बागलुङमा व्यवसायिक क्षेत्रका नयाँ आयाम थप गर्न सहयोग पुग्ने बताए । उनले यस्ता अभियानलाई राज्यको सुरक्षा व्यवस्था, लगानीमैत्री वातावरण लगायतको विषयमा जोडेर हेर्न सकेमा सफलता मिल्ने बताए ।
पछिल्लो समय बागलुङमा व्यवसाय घटेको गुनासो आइरहेको बेला यो प्रकारको अभियानले नयाँ उद्यम शुरु गर्न पहल पुग्नेछ । साथै लगानी जुटाउने अवसर पनि मिल्ने कंडेलको भनाइ छ । कार्यक्रममा बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ, गलकोट र ढोरपाटन उद्योग वाणिज्य संघका पदाधिकारी सहभागि थिए ।





