सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

पोखरा सहकारीका अध्यक्ष र प्रवन्धकसहित ७ जना पक्राउ,  ८८ करोड ७० लाख हिनामिना

पोखरा सहकारीका अध्यक्ष र प्रवन्धकसहित ७ जना पक्राउ,  ८८ करोड ७० लाख हिनामिना


  • ढाेरपाटन संवाददाता
  • कार्तिक १९ २०८२, बुधबार

पोखरा/  बचत तथा ऋण सहकारी संस्थाको ८८ करोड ७० लाख रुपैयाँ हिनामिना भएको खुलेपछि सहकारी अध्यक्ष प्रवन्धकसहित ७ जना पक्राउ परेका छन् । सहकारीको रकम संस्थाका व्यवस्थापकसहित कर्मचारी र पदाधिकारीको मिलेमतोमा हिनामिना भएको पाइएको हो ।

पोखरा नयाँबजारमा मुख्य कार्यालय रहेको सहकारीको रकम अध्यक्ष सुरेन्द्रबहादुर गोदार, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, उपाध्यक्ष शम्भुराज बास्तोला, सचिव दिलबहादुर केसी खत्री, ऋण संयोजकसमेत रहेका कोषाध्यक्ष हिरामणि दाहालसहितको कार्यसमिति, पूर्वपदाधिकारी तथा सञ्चालकले व्यक्तिगत स्वार्थअनुसार रकम हिनामिना गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको हो । सञ्चालक समितिका पूर्वसचिव ईन्द्रप्रसाद द्वा र सञ्चालक समिति सदस्य दोर्जे तामाङ पनि पक्राउ परेका छन् ।

प्रहरीले जरुरी पक्राउ पुर्जीका आधारमा उनीहरूलाई बुधबार बिहान पक्राउ गरी अनुसन्धान थालेको हो । पक्राउ परेकालाई जिल्ला अदालत कास्कीबाट म्याद थप गरेर अनुसन्धान थालिएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले बताए । सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशबाट छानबिन प्रतिवेदनसहित पत्राचार भएपछि उनीहरुलाई पक्राउ गरिएको उनको भनाई छ । बचत रकमलाई पूर्वयोजना बमोजिम अपचलन भएको निश्कर्ष सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशको अध्ययन प्रतिवेदनले औल्याएको थियो । विभिन्न काल्पलिक खाताहरू खोली सहकारी संस्था तथा विभिन्न व्यक्तिहरूको रकम अपचलन गरेको, ऋणका नाउँमा रकम निकासी गराई गरेको हिनामिना, सहकारी ऐन कानुन विपरीत सहकारीका कोषहरु हिनामिना, सञ्चालक समितिका पदाधिकारीहरुका नाउँमा ऋणीका तर्फबाट सम्पत्ती ल्याई गरेको ऋण हिनामिना गरेको पाइएको हो । शेयर सदस्य र ऋणी तथा सहकारीलाई ठगी गरी जोरजम्मा गरेको रकमबाट अबैधानिक लाभ उठाउने कामसमेत वर्तमान र पूर्वपदाधिकारी तथा व्यवस्थापकले गरेका छन् ।

सहकारीमा समस्या भएपछि त्यसलाई बाहिर आउन नदिन मिलान गर्ने नाममा फेरि पनि बदमासी भएको समेत देखिएको छ । सहकारी संस्थामा हिनामिनामा संलग्न समेतले सहकारी ऐन अन्तर्गतको कसुर गरी आर्जन गरेको सम्पत्तिको गैरकानुनी स्रोत लुकाउनको काल्पनिक खाता खोलिएको पाइएको छ । विभिन्न नाममा काल्पलिक ऋण तथा पेश्की खाताहरू खोली कारोबारसमेत गरिएको थियो । ऋणका नाउँमा रकम निकासी गराई अपचलन तथा हिनामिना गराउने, सुरक्षण हिनामिना गर्ने, विभिन्न ब्यक्तिलाई ठगी गरेको रकमबाट निजी सम्पत्ती आर्जनमा रकम प्रयोग गर्नेजस्ता कार्यहरु गरेको पाइएको रजिस्ट्रारको कार्यालयले जनाएको छ ।

सहकारीको रकम हिनामिना गर्ने पूर्व तथा वर्तमान पदाधिकारी, सञ्चालक सदस्य र व्यवस्थापकलाई सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमासमेत अनुसन्धान गर्न वित्तीय विश्लेषक निर्मल गौतमले गरेको प्रतिवेदनले सिफारिस गरेको छ ।२०७८ भदौ ६ गते सुरेन्द्रबहादुरको नेतृत्वमा पछिल्लो सञ्चालक समिति निर्वाचित भएको थियो । त्यसअघि आशबहादुर गुरुङ, फणिन्द्रराज शर्मा, विजय महर्जन अध्यक्ष थिए । सहकारी २०५९ वैशाख १२ गते स्थापना भएको थियो । कास्की जिल्लाभरी कार्यक्षेत्र रहेको सहकारीमा ३ हजार ५६ शेयर सदस्यहरुले कारोबार गरिरहेको सहकारीको सिस्टमको अभिलेख बमोजिम देखिन आएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->