पर्वत/जिल्लाको पैयुँ गाउँपालिकाले गत हप्ताको वर्षा र हावाहुरीले धानमा क्षति बेहोरेका कृषकहरूलाई ३० लाख रुपैयाँ राहत स्वरूप वितरण गर्ने भएको छ ।
पैयुँ–५ का वडाध्यक्ष निर्भीकनारायण भुर्तेलका अनुसार यही कात्तिकको ११ देखि १३ गतेसम्म भएको वर्षा र हावाहुरीले धान बालीमा क्षति भएपछि कृषकहरूले राहत उपलब्ध गराइदिन भन्दै गाउँपालिका र वडा कार्यालयमा अनुरोध गरेका थिए। सोही अनुसार क्षतिको मूल्याङ्कन गरी राहत उपलब्ध गराउने गरी कार्यपालिकाको बैठकबाट निर्णय भएको छ ।
गाउँपालिकाको कार्यालयबाट कात्तिक १४ गतेदेखि नै धान बालीमा भएको क्षतिको विवरण सङ्कलन गर्न कर्मचारी खटाइएको थियो। कर्मचारी तथा जनप्रतिनिधिहरू समेत सहभागी टोलीले गाउँपालिकाभरमा ७ सय परिवारको एक हजार पाँच सय रोपनी खेतमा लगाइएको धानमा क्षति भएको विवरण ल्याएका छन् । उक्त क्षेत्रफलमा लगाएको करिब चार सय ५० टन धान नष्ट भएको अनुगमनकर्ताहरूको विवरणमा उल्लेख छ ।
कार्यपालिकाको बैठकले राहत वितरण गर्दा न्यूनतम एक रोपनी क्षेत्रफलको धान क्षति भएका किसानलाई दुई हजार रुपैयाँ तथा एक रोपनीभन्दा बढी क्षति भएका किसानलाई त्यसपछिको प्रत्येक रोपनीका लागि एक हजार पाँच सय रुपैयाँका दरले राहत दिने निर्णय गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले राहत रकममा यति नै खर्च हुन्छ भन्ने यकिन भने नभएको बताए। प्रत्येक परिवारको कुल क्षेत्रफलको प्रमाणित तथ्य निकालेपछि मात्रै यति रकम खर्च हुने भन्ने टुङ्गो लाग्ने उनको भनाइ छ। १५ सय रोपनीलाई १५ सय रुपैयाँकै दरमा राहत वितरण गर्दा अनुमानित करिब २२ लाख रुपैयाँ गाउँपालिकाले कृषकहरूलाई वितरण गर्ने छ ।
भित्राउने बेलाको धानलाई वर्षाले प्रभावित पारेपछि पर्वतका कृषकहरू चिन्तामा छन्। काटेर सुकाइएको धान भिजाउने, निहिनमा नै धान झार्ने, पराल भिज्ने भएको छ। नकाटेर गरामा नै ठाडो अवस्थामा रहेको धानमा वर्षाले खासै क्षति नगरेको भए पनि सोमबारको हावाले भने धान ढलाएर क्षति भएको छ ।





