पर्वत/सदरमुकाम कुश्मा बजारलाई जिल्लाको मध्य भाग र छिमेकी स्याङजा जिल्ला जोड्ने दोबिल्ला–सिल्मी–ठुलीपोखरी–खौला–कार्कीनेटा सडक स्तरोन्नतिको काम समयमै सम्पन्न नहुने भएको छ । नाली, ढलान, वालसहित ५ किलोमिटर सडक पीच गर्नेगरी पूर्वाधार विकास कार्यालय पर्वत र निर्माण व्यवसायीबीच सम्झौता भएको थियो ।
२०८१ असार ४ मा भएको सम्झौता अनुसार सडक स्तरोन्नतिको कामको समय सिमा २०८२ पुस ३ गतेसम्म तोकिएको थियो । तर कात्तिक महिनासमेत सकिनै लाग्दा ५० प्रतिशत हाराहारीमा मात्रै काम भएको कार्यालयले जनाएको छ । ५ करोड ८० लाख ३४ हजारमा काम सक्ने गरी देवचुली कालीगंगा जेभी पोखरा–२६ ले जिम्मा लिएको थियो ।
कार्यालयका सूचना अधिकारी इन्जिनियर अर्जुन शर्माले हालसम्म ५५ प्रतिशत् भौतिक र ५५.२९ प्रतिशत भएको बताए । वाल र नालीको काम लगभग सकिएको र अव ढलान र पीचको काममात्रै बाँकी रहेको उनले दावी गरे ।
यो सडकलाई पोखरा बागलुङ राजमार्गको वैकल्पिक मार्गका रूपमा समेत लिइन्छ । सिल्मी, ठूलीपोखरी, खौलालाँकुरी, कार्कीनेटा हुँदै स्याङजाको नौडाँडास्थित सिद्धार्थ राजमार्गमा यो सडक जोडिन्छ । समयमा काम सम्पन्न नहुँदा स्थानीय र यात्रुलाई सास्ती भने भएको छ । सडकको पोखरी घुम्ती, लौकेको उकालोलगायत स्थानमा सोलिङ गरिएका ढुंगा उप्काउँदा सामान्य झरीमा पनि सडक हिलाम्मे भएर सवारी साधनलाई आवतजावतमा कठिनाई हुने गरेको छ । साना गाडी, मोटरसाइकल र पैदल यात्रुहरू आवतजावत गर्दा दुर्घटनाको जोखिम बढेको छ ।
सडक समयमै स्तरोन्नति नहुँदा स्थानीयले समस्या झेल्नु परेको कुश्मा नगरपालिका–१२ का वडाध्यक्ष झलकप्रसाद रिमालले बताए । ‘काममा ढिलाई भएको छ, यसले सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ’, उनले भने, ‘समयमै काम होस् भन्ने हाम्रो माग छ । तर मागको सुनुवाई भएको छैन ।’
देवचुली कालीगंगा जेभीका सञ्चालक (निर्माण व्यवसायी) आनन्द बरालले आफुले गरेको कामको भुक्तानी नपाउँदा कामलाई तिब्रता दिन नसकेको बताए । ‘सडकमा भएको कामको भुक्तानीका लागि गत दशै अगाडि नै कार्यालयमा बिल पेश गरेका थियौ’, बरालले भने, ‘तर अहिलेसम्म भुक्तानी पाएका छैनौ । अनि कामले कसरी गति लिन्छ ।’ उनले सुरुमा कार्यालयले कहाँ ह्युम पाइप राख्ने, कहा पीच गर्ने, कहाँ ढलान गर्ने भन्ने लगायत ‘साइड क्लियर’ नगरिदिदाँ काममा ढिलाई हुन पुगेको र अहिले भने त्यसको समाधान भएको बताए ।
यसैगरी स्थानीय तहबाट पनि आवस्यक सहयोग पाउन नसकेको गुनासो उनको थियो । साथै दशै, तिहारजस्ता चाडबाडका बेला सडक अवरुद्ध गर्नुपर्ने भएकाले काम हुन नसकेको उनले बताए । ‘भुक्तानी त एकदिन पाइएला भनेर काम रोकेका छैनौ’, बरालले भने, ‘सोलिङ गरेका ढुंगा उप्काएर ग्रेडिङ मिलाएका थियौ । तर झरी लागिदियो । आजमात्रै (बुधवार) इन्जिनियरको टीम साइड गएको छ । अव कामले गति लिन्छ ।’ पर्वतकै महाशिला गाउँपालिका भवन निर्माणलगायत विभिन्न योजनाको भुक्तानीसमेत रोकिएकाले कामलाई तिब्रता दिन नसकिएको उनको दावी छ ।
पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सन्तोष अर्यालले भने चिसो मौसममा पिच नहुने भएकाले पिचको काम बाहेक अरु काम पुस र माघमा सकाएर आगामी चैतभित्र पिच पनि सक्ने बताए । ‘अहिले सडकमा देखिएको समस्या अस्थायी (झरीका कारण) हो’, उनले भने, ‘जेन जी आन्दोलनका कारण निर्माण व्यवसायीलाई भुक्तानी दिन पाएका छैनौ । अव भुक्तानी रोकिदैन । काम हुन्छ ।’
निर्माण व्यवसायी बरालले समयमै भुक्तानी नपाएर कामले तिब्रता नपाएको दावी गरे पनि राजनीतिक पहुँच देखाएर सरकारी निकाय र स्थानीयलाई नटेर्ने गरेको स्रोतहरुले बताएका छन् । ‘कतिपय अवस्थामा पुर्वाधार विकास कार्यालयकै कर्मचारीलाई समेत उनले दवावमा राख्न खोज्छन्’, एक कर्मचारीले भने, ‘काममा ढिलासुस्ती भएकै हो ।’





