पोखरा/पोखरा बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्तालाई जाहेरी दिन प्रहरीले आग्रह गरेको छ । सहकारीको ८८ करोड ७० लाख रुपैयाँ हिनामिना भएको खुलेपछि सहकारी अध्यक्ष प्रवन्धकसहित ७ जना पक्राउ परे पछि प्रहरीले पीडित भएका बचतकर्ताहरुलाई जाहेरी दिन आउन आह्वान गरेको हो । सहकारीको रकम संस्थाका व्यवस्थापकसहित कर्मचारी र पदाधिकारीको मिलेमतोमा हिनामिना भएको पाएपछि प्रहरीले मंसिर २ गतेभित्र जाहेरी दरखास्त पेश गर्न एक सूचनामार्फत आग्रह गरेको हो ।
सहकारीबाट पाउनुपर्ने रकम फिर्ता पाउनका लागि आधार देखिने शेयर धनी प्रमाणपत्र, पासबुक, भौंचर, स्टेटमेन्ट, मुद्दती प्रमाणपत्र लगायतका प्रमाणसहित नागरिकता लिएर आउन अनुरोध गरेको छ ।
यस्तै सहकारीबाट ऋण लिएर चुक्ता नगर्ने ऋणीहरुलाई समेत ऋण तिर्न र सहकारीको खातामा रकम जम्मा गर्न समेत अनरोध गरेको छ । रकम अनुसन्धान अवधिभित्र नतिरेमा कारवाहि गरिने समेत बताएको छ ।
पोखरा नयाँबजारमा मुख्य कार्यालय रहेको सहकारीको रकम अध्यक्ष सुरेन्द्रबहादुर गोदार, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, उपाध्यक्ष शम्भुराज बास्तोला, सचिव दिलबहादुर केसी खत्री, ऋण संयोजकसमेत रहेका कोषाध्यक्ष हिरामणि दाहालसहितको कार्यसमिति, पूर्वपदाधिकारी तथा सञ्चालकले व्यक्तिगत स्वार्थअनुसार रकम हिनामिना गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको हो । सञ्चालक समितिका पूर्वसचिव ईन्द्रप्रसाद द्वा र सञ्चालक समिति सदस्य दोर्जे तामाङ पनि पक्राउ परेका छन् ।





