बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कोरला नाकाबाट अध्यागमन सेवा सञ्चालनमा

कोरला नाकाबाट अध्यागमन सेवा सञ्चालनमा

चीनको अध्यागमनले पनि चीन प्रवेशका लागि कोरलाबाट साधारण राहदानीमा भिसा जारी गरेको छ। यसअघि विभिन्न प्रयास गरिए तापनि सेवा सञ्चालन हुन सकेको थिएन ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक २३ २०८२, आइतबार

पोखरा/पोखरा मुस्ताङस्थित कोरला अध्यागमन कार्यालयबाट शुक्रबारदेखि औपचारिक रुपमा सेवा सुरु भएको छ। सेवा सुरु भएलगत्तै कार्यालय उद्घाटन भएको एक वर्षपछि पहिलोपटक १३ जना नेपाली शुक्रबारै चीन प्रस्थान गरेका छन् ।

अध्यागमन अधिकृत प्रवेश बडुवालले औपचारिक रुपमा नाकाबाट अध्यागमनको सेवा सुरु भएको बताए । ‘नेपालबाट चीन जान चाहने र चीनबाट नेपाल आउन चाहनेका लागि सेवा सुरु भयो’, बडुवालले भने, ‘नाकाबाट पहिलोपटक औपचारिक रुपमा शुक्रबार नै १३ जना नेपाली चीन जानु भएको छ ।’ उपल्लो मुस्ताङ निषेधित क्षेत्र भएकाले चीनबाट नेपाल आउने विदेशी नागरिकले भने ५ सय अमेरिकी डलर तिनुपर्ने व्यवस्था रहेको बडुवालले बताए । अध्यागमन कार्यालयका अनुसार लोमान्थाङ गाउँपालिकाका अध्यक्षसहित १३ जनाको टोली शुक्रबार कोरला हुँदै ल्हासा प्रस्थान गरेको छ । चीनको अध्यागमनले पनि चीन प्रवेशका लागि कोरलाबाट साधारण राहदानीमा भिसा जारी गरेको छ। यसअघि विभिन्न प्रयास गरिए तापनि सेवा सञ्चालन हुन सकेको थिएन ।

पूर्व गृहमन्त्री रमेश लेखकले २०८१ कात्तिक १४ मा अध्यागमन कार्यालयको उद्घाटन गरेका थिए । कोरलास्थित नाकामा रहेको अध्यागमन कार्यालय परिसरमा बाक्लो हिउँ परेका कारण लोमन्थाङस्थित ईलाका प्रशासन कार्यालयबाट अध्यागमन सेवा थालिएको हो । इलाका प्रशासन कार्यालयका प्रमुख बमबहादुर नेपालीले भौतिक संरचना अध्यागमनलाई प्रयोग गर्न दिइएको बताए ।

नेपाल सरकारले माथिल्लो मुस्ताङ क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको कारण त्यस क्षेत्रमा प्रवेश गर्दा वा पदयात्रा गर्दा पहिलो १० दिनका लागि ५०० अमेरिकी डलर तिर्नुपर्छ। कोरला नाका हुँदै नेपाल प्रवेश गर्दा चिनियाँ नागरिकले समेत ५०० अमेरिकी डलर तिर्नुपर्ने हुन्छ। नेपाल सरकारले चिनियाँलाई पर्यटक भिसा वर्षको १५० दिन निःशुल्क उपलब्ध गराउँदै आएको छ । निषेधित क्षेत्रमा प्रवेश गर्दा चिनियाँ लगायत अन्य विदेशी नागरिकले ५ सय डलर तिर्नु परेको भन्दै त्यसलाई खारेजी गर्नुपर्ने माग हुदै आएको छ ।

कोरला नाकामा चीनतर्फ आधुनिक पूर्वाधारसहितको अध्यागमन, भन्सार, क्वारेन्टाइन, सुरक्षा लगायतका कार्यालय छन्। नेपालतर्फ भने कोरलामा अध्यागमन कार्यालय मात्र छ । क्वारेन्टाइन, भन्सार र सुरक्षा कार्यालयहरु भने करिब १५ किलोमिटर तल नेचुङमा रहेका छन् । पहिलोपटक १३ नेपाली कोरलाबाट औपचारिक रुपमा चीन प्रस्थान गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->