सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

सम्पत्ति शुद्धीकरण मुद्धा नलगाउन विभागका कर्मचारीलाई घुस

सम्पत्ति शुद्धीकरण मुद्धा नलगाउन विभागका कर्मचारीलाई घुस

गण्डकी प्रदेशको सहकारी रजिष्ट्रार कार्यालयले वित्तीय विश्लेषक निर्मल गौतमले तयार पारेको प्रतिवेदनमा संघीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय माहतहतको सहकारी विभागबाट अनुगमनमा आएका कर्मचारीलाई नै घुस दिएको खुलेको हो ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक २५ २०८२, मंगलबार

पोखरा/८८ करोड हिनामिना भएको पोखरा बचत तथा ऋण सहकारी ठगी प्रकरणमा सम्पत्ति शुद्धीकरणको मुद्दा नलगाउन भन्दै पदाधिकारीले नै सहकारी विभागका अधिकारीलाई घुस दिएको खुलेको छ ।

यो सहकारी ठगी प्रकरणमा प्रहरीले अध्यक्ष सुरेन्द्रबहादुर गोदारसहितउपाध्यक्ष शम्भुराज बास्तोला, कोषाध्यक्ष हिरामणि दाहाल, सचिव दिलबहादुर केसी,सञ्चालक समितिका सदस्य दोर्जे तामाङ, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, सहकारीका बजार प्रमुख बेदीप्रसाद सुवेदी र पूर्वसचिव÷सदस्य ईन्द्रप्रसाद द्वालाई पक्राउ गरेको छ ।

सहकारीमा बचतकर्ताले बचत फिर्ता नपाएको गुनासो गरेपछि गण्डकी प्रदेशको सहकारी रजिष्ट्रार कार्यालयले वित्तीय विश्लेषक निर्मल गौतमलाई अध्ययन गर्न भनेको थियो । उनै गौतमले तयार पारेको प्रतिवेदनमा संघीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय माहतहतको सहकारी विभागबाट अनुगमनमा आएका कर्मचारीलाई नै घुस दिएको खुलेको हो ।

प्रतिवेदनमा अध्यक्ष गोदारलाई विभागको अनुगमन शाखाबाट सहकारीको अनुगमनमा आएका चिरञ्जीवी पौडेल, सुन्दर पन्थी र प्रेमराज लुइटेलले सहकारी अनुगमन गरी फर्केको र अनुगमनका क्रममा रहँदाका बखत सहकारीले सम्पत्ति शुद्धिकरणको पालना नगरेकोले सञ्चालकसहित सहकारीलाई नै सम्पत्ति शुद्धिकरणको तत्कालै कारवाही सिफारिस गर्नुपर्ने बताएका थिए ।

अध्यक्ष गोदारले आफूले पछि लुइटेललाई सम्पर्क गरी काम गर्ने वातावरण दिनुप¥यो भनि आग्रह गरेका थिए । कारवाही भएको खण्डमा बचतकर्ताको सुरक्षा नहुने भयो भनी उनले विभागका कर्मचारीसँग अनुनय गरेका थिए ।उनका अनुसार लुइटेलले मैले मात्र गरेर हुँदैन म टिमसँग सल्लाह गर्छु भनेका थिए ।

‘मलाई तपाई काठमाडौं नै आउनुहोस, काठमाडौंमा नै बसेर सल्लाह गरौँला भनेपछि म प्लेनमा काठमाण्डौ गएँ । काठमाण्डौ गएपछि उहाँलाई बानेश्वरमा गई भेटेँ अनि सर बचाइदिनुप¥यो, काम गर्ने वातावरण दिनुप¥यो, बरुले मैले के गर्नपर्ने हुन्छ, संस्थाबाट गर्दछु,’ गोदारले भनेका छन,‘उहाँले करिब १० लाख माग गरेकोमा मैले यत्रो खर्च मिलाउन गाह्रो पर्छ, म पाँच लाख म्यानेज गर्दछु भनी कुरो मिलेपछि म फर्किएर आएपछि सो कुरा मैलो कोषाध्यक्षलगायत सबै सञ्चालक समितिको मिटिङ नै राखेर छलफल गरेँ ।’

गोदारले सञ्चालक समितिको बैठकबाट मन्जुर गराएर कोषाध्यक्षलाई चेकबाट रकम झिकी नगद तयार पार्न भनेको उल्लेख गरेका छन । त्यसरी सहकारीबाट झिकिएको रकम गोदार आफैले बानेश्वरमा नै गइ लुइटेलले पठाएका अपरिचित व्यक्तिलाई दिएको खुलासा गरेका छन् ।

सहकारीका कोषाध्यक्ष तथा ऋण समिततिको संयोजक हिरामणि दाहालले समेत अध्यक्षको आग्रहमा कर्मचारी डिलमाया पुर्जा पुन र आफूले हस्ताक्षर गरी मन्त्रालयबाट आएको मानिसलाई रकम दिनको लागि भन्दै चेकमार्फत् नगद झिकेको बयानमा खुलाएका छन ।

यही सहकारीको ठगी प्रकरणमा कार्यक्षेत्र विस्तारमासमेत घुस खुवाएको खुलेको छ । सहकारीका व्यवस्थापक भिष्मप्रताप गुरुङले सहकारीको कार्यक्षेत्र विस्तारका लागि अध्यक्षको आग्रहमा दुई लाख ५० हजार रुपैयाँ बुझाएको खुलाएका छन ।

उनका अनुसार गोदारले भनेका छन,‘पोखराका अन्य सहकारीहरुले समेत केही रकम रजिष्ट्रार कार्यालयका हाकिमलाई बुझायो भने सजिलै कार्यक्षेत्र थप हुने रहेछ । व्यवसाय विस्तार गर्न सजिलो हुन्छ । धेरै सहकारीले शाखा थप गरेका रहेछन् । मैले च्यानल खोजेको छु ।’

यो प्रकरणमा सरकारी कर्मचारी चण्डीप्रसाद अर्याल पनि मुछिएका छन । प्रदेश प्रमुखको कार्यालयको वेवसाइट अनुसार अर्याल त्यहाँका कम्प्युटर अधिकृत हुन् ।

प्रतिवेदन अनुसार अध्यक्ष गोदारले व्यवस्थापक गुरुङलाई अर्यालको पसलमा लगेर रकम छोड्न भनेका थिए । ‘प्रदेश प्रमुखको कार्यालयमा कार्य गर्ने कालिका कम्प्युटरको सञ्चालक चन्डीप्रसाद अर्याललको च्यानल तहाँको रजिष्ट्रार उदयबहादुर पराजुलीसँग रहेको मैले कुरा गरेको छ । मेरो नाउँमा चेक काटेर संयुक्त खाताको रकमबाट निकाल अनि त्यो पैसा चन्डीप्रसाद अर्यालको पसलमा लगेर छोड्नू,अहिलेलाई सृजनाचोकको सेवाकेन्द्र अमरसिंह सारौँ, पछि अर्को सेवाकेन्द्र खोलौँला,’ गुरुङले भनेका छन् ।

यहाँ नाम उल्लेख भएका तत्कालीन रजिष्ट्रार उदयबहादुर पराजुली यसअघि पनि मित्रमिलन सहकारीको सेवाक्षेत्र विस्तारको क्रममा घुस लिएको भनि पक्राउ परेका व्यक्ति हुन् ।
अध्यक्षको निर्देशन पालना गरी सो पैसा लगी चन्डीप्रसाद अर्यालको पत्नीलाई बुझाएको र त्यसरी रकम बुझाइसकेपछि २०७८ असार २७ गते पराजुलीले सेवाकेन्द्र सार्न सहमति दिएको गुरुङले खुलाएका छन् ।

सहकारी रजिष्ट्ररको कार्यालयले गत कार्तिक १८ गते कारवाहीको लागि प्रहरीमा पत्राचार गरेको थियो । प्रहरीले थप अनुसन्धान गर्दै सहकारी ठगीमा आज बुधबारदेखि मुद्दा अघि बढाएको हो ।

आरोपित समूहले बिनाधितो ऋण प्रवाह, नक्कली खाता खोल्ने र सहकारीको नीति–नियमविपरीत कमिसनको लोभमा जोखिमपूर्ण लगानी गरेको पाइएको छ ।

बचतकर्ताहरुले रकम नपाएपछि सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशमा छानबिनका लागि उजुरी दिएपछि सहकारी भित्रका धेरै वेथिति र समस्याहरुका बारेमा अन्य सदस्यहरुले पनि जानकारी पाएका थिए । उजुरी पश्चात् छानबिन हुँदा सहकारीका सञ्चालक, व्यवस्थापक र ऋणीहरुसमेत मिलेर रकम हिनामिना गरेको तथ्य खुलेको हो ।

पोखरा सहकारीले पोखरा–८, सिर्जनाचोकबाट २०५८ सालबाट आफ्नो सेवा सुरु गरेको थियो । सहकारीले पछिल्लो समय पोखरा–९, नयाँबजारबाट प्रधान कार्यालय सञ्चालन गर्दै आइरहेको छ । सहकारीले पोखरा–१०, अमरसिंह र पोखरा–८, सिर्जनाचोकमा सेवा केन्द्रहरु पनि सञ्चालन गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->