बागलुङ/बागलुङलाई पर्यटनको गन्तव्य बनाउने अभियानमा सरोकारवालाहरु एकजुट भएका छन् । गन्तव्य बागलुङ बनाउन चाहिने सूचक पूरा गर्ने, महत्वपूर्ण गन्तव्यको सूची र प्रचार सामाग्री बनाउने काम शुरु गर्न सरोकारवाला सहमत भएका छन् ।
जिल्लाका गन्तव्यको प्रचार गर्ने काममा साझा अभियान चलाइने, पर्यटन सूचना केन्द्र स्थापनामा बोर्डले स्थानीय तह र व्यवसायीको साझेदारीमा काम गर्ने, प्रवद्र्धनकालागि आधा दर्जन क्रियाकलाप बोर्डले पर्यटन कार्यालय र व्यवसायीमार्फत् संचालन गर्ने योजनाको प्रारम्भिक खाकासमेत बनाइएको छ ।
सारोकारवालाको बैठक तथा अन्तरक्रियाले उक्त तयारी गरेको बागलुङ पर्यटन विकास समितिका सचिव तथा होटल व्यवसायी महासंघ गण्डकीका अध्यक्ष अर्जुन चोखालले बताए । बैठकले ‘गन्तव्य बागलुङ’ अभियान संचालनलाई विशेष नारा नै बनाउने लक्ष्य राखेको छ । आगामी चैत महिनालाई बागलुङ भ्रमण महिना बनाउने बागलुङ नगर पर्यटन समितिको निर्णयलाई बोर्ड र सरोकारवालाले अपनत्व लिने सहमति गरेका छन् ।
त्यसकालागि आवस्यक क्रियाकलापहरु संचालन गर्ने, अत्यावस्यक काममा बोर्डले पनि लगानी गर्ने, सिकाइ आदानप्रदानका लागि अन्य गन्तव्यमा पनि जाने, जिल्लामा आउने पर्यटकहरुको समूह, उनीहरुको रोजाइका क्षेत्र तथा आकांक्षा वर्गिकरण गर्ने निष्कर्ष निकालेको छ ।
बागलुङलाई पर्यटकीय गन्तव्य बनाउने क्रममा धार्मिक र साहसिक क्षेत्रमा विभाजन गर्ने, कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको पहुँचलाई पनि मध्यनजर गरेर होटल व्यवसायमा लगानी बढाउन व्यवसायीलाई प्रोत्साहित गर्ने समेत छलफल भएको अर्का व्यवसायी महादेव शर्माले बताए । उनले ट्रेकिङ रुटहरु बनाउन र ती रुटको प्रवद्र्धनमा बोर्डले भूमिका खेल्नुपर्ने समेत धारणा राखे ।
कार्यक्रममा ढोरपाटनलाई साहसिक क्षेत्रको गन्तव्य बनाउन सकिने छलफल भएको थियो । तर, अझै पनि ढोरपाटनमा बसोबास गर्ने स्थानीयले अपन्तत्व लिएर पर्यटनको विकास गर्न नसकेको, सिकार आरक्षले विकास निर्माणमा सहज वातावरण बनाउन पहल नभएको विषय पनि उठेका थिए । संरक्षणसँगै पर्यटनलाई पनि लक्ष्य बनाउन सके ढोरपाटनको विकासले बागलुङका सबै क्षेत्रहरु गन्तव्य बन्ने सरोकारवालाको भनाइ थियो ।
कार्यक्रममा पर्यटन कार्यालय बागलुङका प्रमुख पारसिंह थापाले साना साना बजेटका योजना आएपनि ढोरपाटन क्षेत्रमा काम गर्न कठिन भएको बताए । त्यस्तै हरेक क्षेत्रमा पदमार्ग लगायतको बजेट आए पनि आधुनिकताले परंपरागत बाटोहरु बन्द भएको भन्दै त्यसकालागि मौलिक संस्कृतिप्रति पनि चासो बढाउनुपर्ने साझा बुझाइ भएको सहभागिले बताए । उक्त अबसरमा बागलुङ नगर उपप्रमुख राजु खड्काले दीगो योजना बनाएर अगाडि जान सकेमा भावी पुस्तालाई पर्यटनमा लगाउन सकिने बताए । बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले अझै स्थानीय तहलाई बलियो बनाएर पर्यटनमा लगानी बढाउन सक्ने वातावरण चाहिएको बताइन् । ईला कम्फर्टका सिइओ प्रसन्न अधिकारी र होटल व्यवसायी महासंघ गण्डकीका अध्यक्ष अर्जुन चोखालले कार्यक्रम संयोजन गरेका थिए ।
कार्यक्रममा उठेका सबै विषयलाई एकीकृत गरेर तत्काल बजेट तथा कार्यक्रम व्यवस्थापन गराउन नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख बरिष्ठ निर्देशक मणिराज लामिछाने सहमत भएका छन् । उनले गन्तव्य बागलुङकालागि सबै खाले अभियानमा बोर्डले साथ दिने र अधिकांश कार्यक्रम पब्लिक प्राइभेट पार्टनरसिपमा जानुपर्ने सुझाए । पर्यटन सूचना केन्द्रकालागि भने तत्काल काम अगाडि बढाउन उनी सहमत भएका छन् । त्यसका लागि बागलुङ नगरपालिकाले स्थान उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।





