बागलुङ / धौलागिरी एफएम ९८.६ मेगाहर्जको २१औं बार्षिकोत्सव कार्यक्रम सुरु भएको छ । साविक धौलागिरिको पहिलो बिधुतीय सञ्चार माध्यम धौलागिरि एफएम बागलुङले तीन दिने कार्यक्रमसहित आफ्नो २१ औ बार्षिकोत्सव मनाउन सुरु गरेको हो ।
बार्षिकोत्सवको पहिलो दिन एफएमले मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेर कार्यक्रमको सुरुवात गरिएको धौलागिरी एफएमका स्टेशन प्रमुख उमाकान्त शर्माले बताए । मानव सेवा आश्रममा विगतका बर्षहरुमा खाधान्न र न्यानो कपडा प्रदान गर्दै आइरहेको एफएमले २१औं बार्षिकोत्सवमा अवसरमा भने नगद नै सहयोग गरेको हो ।
एफएम प्रा.लि.का अध्यक्ष हरिनारायण गौतमले आश्रमका केन्द्रिय अभियान्ता रामजी अधिकारीलाई नगद २१ हजार २ सय ६१ रुपैयाँ प्रदान गरेको स्टेशन प्रमुख शर्माले बताए । सो अवसरमा अभियान्त अधिकारीले सञ्चार माध्यमबाट आश्रमलाई नगद प्राप्त हुनुले आफुलाई राम्रो प्रेरणा प्राप्त भएको बताए । उनले एफएमलाई सम्मान पत्र दिएका थिए ।
एफएमका अध्यक्ष हरिनारायण गौतमले मानव सेवा आश्रमले बागलुङमा भवन निर्माणका लागि महायज्ञ नै लगाएकोले आफुहरुले पनि यस पटक नगद रुपैयाँ सहयोग गरेको बताए । उनले मानव सेवा आश्रमले सडक मानव मुक्त नेपाल बनाउने अभियान सकारात्मक रहेकोले आफुले हातेमालो गरिरहेको बताए ।
धौलागिरीको आकाशमा पहिलो विधुतिय तरंगको रुपमा २०६१ साल कार्तिक २७ गतेबाट प्रसारण सुरु गरेको धौलागिरी एफएफले २१ बर्ष पुरा गरि २२ बर्ष प्रवेशको अवसरमा त्रिदिवसीय कार्यक्रम गरिरहेको छ ।
पहिलो दिन आज मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेको, दोस्रो दिन भोली कात्तिक २६ गते ‘रेडियोः बिगत, बर्तमान र भविश्य’ बिषयक अन्तरसंवाद कार्यक्रम आयोजना गरेको र तेस्रो दिन कात्तिक २७ गते सम्मान सहित मुल समारोह आयोजना गरिएको सम्पादक तारा प्रसाद शर्माले बताए ।
एफएमले विहान ५ बजेदेखि राती ११ बजेसम्म दैनिक १८ घण्टा समाचार, मनोरञ्जन, ज्ञान विज्ञान, वहस, छलफल, कृषी, शिक्षा, साहित्य सिर्जना, लोक संगित, रेडियो नाटक लगायतका कार्यक्रमहरु प्रसारण गर्दै आइरहेको छ । एफएमको नाटक ‘बिम्ब दर्पण’ यसक्षेत्रकै चर्चित नाट्य श्रंखलाको रुपमा स्थापित छ ।





