आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पर्यटकीय स्थल चिनाउन देशविदेश दौडाहा

पर्यटकीय स्थल चिनाउन देशविदेश दौडाहा

ठकुरीको चाहना धेरै छन् । अब यो पुस्तक बोकेर ७७ जिल्ला घुम्दैछन् । छुटेका पर्यटकीय स्थलको भ्रमण गर्ने, ती स्थल घुमेर तस्बिर संकलन गर्ने र पुस्तकलाई थप परिमार्जन गराउने । त्यसपछि संसारका सबै भाषामा अनुवाद गरेर चित्र पुस्तक संचारभर फैलाउने लक्ष्य पनि छ ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक २८ २०८२, शुक्रबार

बागलुङ/उमेरले उनी ४६ वर्षका भए । यो उमेरमा उनले नेपालका ७७ जिल्ला घुमीसके । घुम्ने मात्र होइन उनले सबै जिल्लाका कम्तिमा एकदेखि ३ वटा पर्यटकीय क्षेत्रको पहिचान पनि गरिसकेका छन् । उनी ललितकलाका विद्यार्थी हुन् । त्यसैले ती सबै पर्यटकीय क्षेत्रको क्यानभासमा चित्र समेत उतारिसकेका छन् । ती चित्रलाई एकीकृत गरेर पुस्तक आकारमा ‘नेपाल कला यात्रा’ नामक पुस्तक पनि निकालेका छन् । उनी हुन् पोखरा महानगरपालिका वडा नं. ३० का नगेनसिंह ठकुरी ।

२०६७ सालको कात्तिकमा उनले ७७ जिल्लाको स्थलगत भ्रमण गरेर चित्र उतार्ने घोषणा गरेका थिए । सोही घोषणा अनुसार उनले पुस्तक प्रकाशित गरिसकेका छन् भने सबै चित्रको क्यानभासलाई संग्रह पनि गरेका छन् । पोखरा न्युरोडमा रहेको नगेन आर्ट एकेडेमीमा ती पेन्टीङहरु राखिएका छन् । उक्त एकेडेमीमार्फत कला सिकाउने र तस्बिरहरु बिक्री कक्ष पनि राखिएको छ । नगेन देश दौडाहमा हिंडेको बेला पत्नि ज्योती हमालले सघाउने गर्छिन् ।

ठकुरीको चाहना धेरै छन् । अब यो पुस्तक बोकेर ७७ जिल्ला घुम्दैछन् । छुटेका पर्यटकीय स्थलको भ्रमण गर्ने, ती स्थल घुमेर तस्बिर संकलन गर्ने र पुस्तकलाई थप परिमार्जन गराउने । त्यसपछि संसारका सबै भाषामा अनुवाद गरेर चित्र पुस्तक संचारभर फैलाउने लक्ष्य पनि छ । यो नेपालको पर्यटन प्रवद्र्दनका लागि धेरै उपयोगी काम हुने प्रमुख जिल्ला अधिकारी तथा गण्डकी प्रदेश पर्यटन मन्त्रालयका पुर्व सचिव रहेका कुमानसिंह गुरुङले बताए । ‘नेपालका पर्यटकीय सयौं क्षेत्रको बारेमा यो पुस्तकले जानकारी दिनेछ’ उनले भने, ‘विदेशमा पनि प्रचार गर्दा भोलीका दिनमा आउने पर्यटकले मुख्य गन्तव्य मात्र नभइ सहायक गन्तव्यको भ्रमण गर्दा पर्यटन प्रवद्र्दनमा ठूलो योगदान पुग्नेछ ।’

बुधबार बागलुङ आइपुगेका ठकुरीलाई प्रजिअ गुरुङसहित सहायक प्रजिअ पुष्पराज पौडेल, उद्योग तथा पर्यटन कार्यालय बागलुङका प्रमुख पारसिंह थापा, सुरक्षा निकायका प्रमुखहरु र अन्य पर्यटन व्यवसायी समेतले स्वागत गरेका थिए ।

ठकुरीले आँटेको अभियान सहज छैन । किनकी यो अभियन पुरा गर्न धेरै खर्च लाग्न सक्छ । छपाई, भाषा सम्पादन र क्यानभासका चित्रहरु धेरै महंगो हुन्छन् । त्यसका लागि उनले एक सय रुपैयाँ सहयोग अभियान पनि चलाएका छन् । उक्त सहयोगलाई पारदर्शी बनाउन उनले रजिष्टर र अनलाइनमार्फत प्रविष्टी पनि गराउने गर्छन् । हरेक जिल्लाको पर्यटकीय स्थल पुगेको थाहा पाउनका लागि सोही स्थल घुमेको भिडियो र अन्य सामाग्री रहेको क्युआर पनि बनाएका छन् । पुस्तकमै उक्त क्युआर राखिएको छ । जसका कारण आम पाठक र दर्शकले उक्त स्थानबारे जानकारी लिन पनि सक्छन् ।

यो अभियान पुरा गर्न उनले ५ करोड खर्च लाग्ने अनुमान गरेका छन् । त्यसका लागि संस्थागत दाता नखोजेकोले उनले भेटेका व्यक्तिलाई १ सय सहयोग माग्ने गरेको बताए । उनको चित्रशैली पनि फरक छ । अर्थात् उनले जति पनि पर्यटकीय स्थलको तस्बिर कोरेका छन् ती चित्रलाई त्रिकोणात्मक ढंगले छापेका छन् ।

नेपालको राष्ट्रिय झण्डाको आकारमा रहेकोले उनले संसारभर नेपाली राष्ट्रियता पनि बोकेर हिंड्ने अवसर बनाएको बताए । ‘मैले गर्ने काम सबै पारदर्शी होस् त्यो चाहन्छु, भेटेर सहयोग गरेका साथीहरुले आफ्नो नाम र ठेगाना प्रष्ट राखिदिनुहोला’ उनले भने, ‘विदेशमा पुग्दा नेपाली झण्डाको आकार सहितको चित्र देखाएर दोहोरो फाइदा लिन सकौं ।’

उनले आफ्नो अभियान सफल पार्नेदेखि हरेक विदेशी नागरिकलाई पनि नेपालको पहिचान र राष्ट्रिय झण्डा तथा पर्यटकीय क्षेत्रबारे जानकारी गराउने लक्ष्य सुनाए । २०६९ सालमा नेपाल ललितकला क्याम्पसबाट ललितकलामा स्नातकोत्तर उत्तिर्ण गरेका ठकुरीको परिवारले पनि यो अभियानमा सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->