बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पोखरा अन्तराष्ट्रिय विमानस्थल र कोरला नाकामा पहिलाेपटक पशु क्वारेन्टाइन कार्यालय सञ्चालनमा

पोखरा अन्तराष्ट्रिय विमानस्थल र कोरला नाकामा पहिलाेपटक पशु क्वारेन्टाइन कार्यालय सञ्चालनमा


  • ढोरपाटन संवाददाता
  • मंसिर १ २०८२, सोमबार

पोखरा/ संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत पशु सेवा विभागले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र मुस्ताङस्थित चिनियाँ सिमा नाका कोरलामा पशु क्वारेन्टाइन कार्यालय स्थापना गरेको छ ।

विमानस्थलको क्वारेन्टाइनलाई अन्तर्राष्ट्रिय चेकपोष्ट र कोरलालाई सीमा चेकपोष्ट नाम दिइएको छ । कोरला नाकाबाट आयात निर्यात निरन्तर रुपमा बढिरहेको तथा अन्तराष्ट्रिय विमानस्थल छिट्टै पूर्णरुपमा सञ्चालन हुन गइरहेको परिवेशमा गण्डकी प्रदेशमा पशुपन्छी, पशुपन्छीजन्य उत्पादन, पशुपन्छी उत्पादन सामाग्री मार्फत रोग भित्रिन नदिन, रोगको सम्भावित संक्रमणलाई कम गर्न तथा रोगको प्रभावकारी नियमन मार्फत पशुपन्छीजन्य उत्पादनको राष्ट्रिय अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनमा पशु क्वारेन्टाइन कार्यालयको महत्वपूर्ण भूमिका रहनेछ ।

गत साउन ८ गते नेपाल राजपत्रमा प्रकाशित भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सूचनामा उल्लेख भए अनुसार नेपाल सरकारले पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी दुवै स्थानमा पशु क्वारेन्टाइन कार्यालय स्थापना गरेको हो । पशु क्वारेन्टाइन कार्यालय पोखरा नाम दिइएको र उक्त कार्यालय अन्तर्गत २ स्थायी चेकपोष्ट निर्धारण गरिएको हो । नेपाल सरकारको निर्णय अनुसार कात्तिक २७ गते पशु क्वारेन्टाइन कार्यलय पोखराको स्थापना एवं उद्घाटन भएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. पशुपति ढुंगाना तथा पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले संयुक्तरुपमा कार्यालयको उद्घाटन गरेका थिए । कार्यक्रममा पशु सेवा विभागका उप– महानिर्देशकद्वय डा. सुलोचना श्रेष्ठ र डा. प्रेरणा सेढाँइ भट्टराई, राष्ट्रिय पशु प्रजनन कार्यालयका प्रमुख डा. जगदिश पाण्डेय, पशुपन्छी अनुसन्धान, विकास तथा प्रशिक्षण केन्द्रका वरिष्ठ पशु विकास अधिकृत डा. गृष्म नेउपाने, भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख शम्भुराज पाण्डे, पोखरा महानगरपालिका पशु सेवा शाखा प्रमुख डा. पवन पाण्डे लगायत विभिन्न कार्यलयहरुबाट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यालय लामपाटनमा स्थापना गरिएको कार्यालय प्रमुख डा. किरण पाण्डेले आज एक विज्ञप्तिमार्फत जनाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->