तस्बीर : पत्रकार रोहितराज पराजुलीको फेसबुकबाट ।
पर्वत/मुग्लिन–पोखरा राजमार्ग भएर पोखरा आउने र पोखराबाट सोही मार्ग हुँदै बाहिरिने सडक खण्ड दैनिक चार घण्टा बन्द गरिने भएको छ ।
मुग्लिन–पोखरा राजमार्ग अन्तर्गत सुधार योजना अन्तर्गतको पश्चिम खण्डमा १० दिनसम्म दैनिक चार घण्टा पूर्ण तथा आंशिक रूपमा बन्द गर्न लागिएको हो । सासेक मुग्लिन पोखरा राजमार्ग सुधार चरण एक योजना अन्तर्गत मङ्सिर दुई गतेदेखि ११ गतेसम्म दैनिक बिहान छ बजेदेखि आठ बजेसम्म र मध्यान्ह १२ बजेदेखि दुई बजेसम्म पूर्ण तथा आवश्यकताका आधारमा आंशिक रूपमा सडक बन्द हुने छ ।
योजना प्रमुख कृष्ण बहादुर कुँवरका अनुसार मुग्लिन–पोखरा सडक खण्ड अन्तर्गत तनहुँको जामुने बजारदेखि पोखराको सेती नदी पुलसम्मको सडक खण्डमा स्तरोन्नतिको काम भइरहेको छ । पोखराको विजयपुर पुलको ‘अपस्ट्रिम साइड’ मा दुई लेनको ‘प्रिकास्ट’ र ‘प्रिस्ट्रेस’ प्रविधिको पुल निर्माणको लागि काम भइरहेको छ । विजयपुरमा रहेको नेपाली सेनाको ब्यारेक अगाडि निर्माणाधीन पुलमा ‘लन्चिङ’ गर्ने प्रयोजनको लागि निर्माण व्यवसायी तथा परामर्शदाताबाट ‘ट्राफिक’ व्यवस्थापनको अनुरोध भएपछि सडक बन्द गर्नुपरेको योजना प्रमुख कुँवरले बताए ।
पुल निर्माणको लागि १५ ओटा ‘गर्डर कास्टिङ’ भइसकेको र उक्त ‘गर्डर’हरूलाई निर्माणाधीन पुलमा राख्ने क्रममा अति संवेदनशील अवस्था आउने उनको भनाइ छ । संवेदनशील काम भएकोले रातको समयमा सुरक्षा संवेदनशीलता झनै बढ्ने भएकोले दिनको समयमा नै काम गर्नुपर्ने बाध्यताले सडक बन्द गर्नुपरेको हो । पोखरादेखि विजयपुर हुँदै ताल चोक जाने र सोही ‘रुट’ हुँदै आउने सवारीहरूलाई रोक्न लागिएको छ । तर अवस्था हेरेर प्रत्येक आधा घण्टामा ‘लाइन’ लागेको ‘ट्राफिक’लाई खुलाउँदै लैजान सकिने सडक योजनाले बताएको छ ।
बाटो बन्द रहने समयमा वैकल्पिक बाटाको रूपमा दुई पाङ्ग्रे तथा साना सवारीसाधनले अर्घौचोक वा बुढी बजार चोकबाट बेल चौतारा हुँदै चाउथे निस्कने र सोही रुट हुँदै जाने बाटो प्रयोग गर्न सक्नेछन् । ठुला सवारीसाधनको लागि पावर हाउस चोकदेखि बौमारा हुँदै बिरौटा निस्किएर पोखरा छिर्न सजिलो हुने छ ।





